६ वैशाख २०८१ बिहीबार
राजनीति

स्ववियु चुनाव, ६० मध्ये २३ कलेजमा आज

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावका लागि प्रक्रिया अघि बढाइसकेका त्रिभुवन विश्वविद्यालयका कलेजहरूमा बुधबार (फागुन १८) निर्वाचन हुने निश्चित भएको छ।

विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापामगरका अनुसार विश्वविद्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रक्रिया सुरु गरेका कलेजहरूमा फागुन १८ मा स्ववियु चुनाव  हुन्छ । उनले त्रिविका कुल ६० आंगिक कलेजमध्ये चुनावी प्रक्रिया अगाडि बढाएका  २३ वटामा बुधबार चुनाव हुने निश्चित भएको जनाए । जसमा उपत्यका ९ र उपत्यका बाहिरका १४ आंगिक कलेज छन् ।

थापाका अनुसार उपत्यकाका  ललितकला क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, जनप्रशासन क्याम्पस, मेडिसिन क्याम्पस महाराजन्ज, नर्सिङ क्याम्पस महाराजगन्ज, आयुर्वेद क्याम्पस कीर्तिपुर र भक्तपुर बहुमुखी क्याम्पसमा बुधबार चुनाव  हुनेछ । यसैगरी उपत्यका बाहिरका पश्मिाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरान, फुड एन्ड टेक्नोलोजी क्याम्पस धरान, भोजपुर बहुमुखी क्याम्पस भोजपुर, शिक्षा क्याम्पस सुर्खेत, वन विज्ञान क्याम्पस पोखरा, कृषि क्याम्पस सुन्दरबजार लमजुङ, कृषि क्याम्पस भैरवहालगायत १४ आंगिक कलेजमा बुधबारको चुनावका लागि प्रक्रिया पूरा भएको जानकारी थापामगरले दिए ।                          

‘विश्वविद्यालयले  स्ववियु चुनावका लागि भनेरै २ महिना समय खर्च गरिरसक्यो,’ निर्देशक थापामगरले नागरिकसँग भने, ‘अब विश्वविद्यालयले चुनावबारे केही नयाँ निर्णय गर्दैन । ’ विश्वविद्यालय चुनावबाहेक अन्य महŒवपूर्ण काममा लाग्नुपर्ने बताउँदै उनले थपे, ‘चुनाव हुन नसकेका कलेजहरूमा कलेज प्रमुख र विद्यार्थी संगठनहरू मिलेर आफैं समयअनुकूल गराउन विश्वविद्यालयले निर्देशन दिएको छ ।’

कलेजहरूमा स्ववियु चुनाव बिथोल्नेमा नेपाली कांग्रेस निकटकै नेपाल विद्यार्थी संघ (नेविसंघ) को मुख्य भूमिका रहेको आरोप सोही विद्यार्थी संगठनका नेताले लगाएका छन् ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य मोतीलाल भण्डारीले नेविसंघकै कारण धेरै ठूला कलेजहरूमा चुनाव हुन नसकेको स्वीकारे । उनले माउ दल कांग्रेसको नेतृत्वको कमजोरी र नेविसंघका अध्यक्ष नैनसिंह महरले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेका कारण नेविसंघले उम्मेदवारसमेत चयन गर्न नसकेको यर्थाथ सुनाए ।

पार्टीभित्रका शीर्ष नेताहरूबीचको किचलोका कारण नेविसंघले स्ववियु चुनावमा उम्मेदवार नै चयन गर्न नसकेको उनको ठहर छ । साथै उनले अध्यक्ष महरले माउ पार्टी कांग्रेससँग चुनावी खर्च  १  करोड रुपैयाँ कुन आधारमा मागेको हो भन्ने प्रश्न गरे ।

‘पहिले पो वार्षिक प्रणालीमा चुनाव जित्न विद्यार्थी भर्ना गर्न रकम चाहिन्थ्यो र खर्च हुन्थ्यो,’ भण्डारीले आंैल्याए, ‘यो वर्षदेखि सेमेस्टर प्रणाली लागू भएपछि भर्ना गर्न पाइँदैन । यस्तो अवस्थामा केका लागि एक करोड रुपैयाँ चाहियो ?’ उनले थपे, ‘पार्टी सभापति शेरबहादुर देउवा  र नेविसंघका अध्यक्ष महरको गलत निर्णयका कारण नेविसंघ जित्ने कलेजमा समेत चुनाव हुन सकेन ।’ नेविसंघका अध्यक्ष महरले चुनावी खर्च भन्दै सभापति देउवासँग एक करोड रुपैयाँ मागेका थिए ।

यसैगरी एमाले निकट अनेरास्ववियुकी अध्यक्ष नवीना  लामाले नेविसंघ र नेत्रविक्रम चन्द निकट क्रान्तिकारी विद्यार्थी संगठनले चुनाव हार्ने त्रासले ठूला कलेजहरूमा तालाबन्दी गरेकाले अन्य कलेजमा पनि चुनाव प्रभावित हुन गएको बताइन् ।

उनका अनुसार सो संगठनले चुनावमा घोषणापत्र तथा स्वयंसेवक व्यवस्थापनका लागि ६० लाख रुपैयाँ खर्च गर्नेछ । यो रकम पार्टी, स्कुल, कलेजहरूले बेहोर्ने छन् ।

‘खर्च रकममध्ये १० लाख पार्टीले र अन्य रकम स्कुल, कलेज तथा शुभचिन्तकहरूले उपलब्ध गराउने तय भएको छ,’ लामाले नागरिकसँग भनिन्, ‘स्ववियु चुनावपछि विश्वविद्यालयबाट उत्पादित उत्कृष्ट विद्यार्थीको रोजगारीको व्यवस्था राज्यले गर्ने सुनिश्चितता अनेरास्ववियुले गराउने छ ।’

माओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी संगठनले भने आफ्नो चुनावी खर्च २० लाख रुपैयाँ लाग्ने अनुमान गरेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताए । उनका अनुसार  विद्यार्थी आन्दोलनको अस्तित्व कायम गर्न  स्ववियु चुनाव  आवश्यक छ । उनले पनि चुनावी खर्च स्कुल, कलेज तथा शुभचिन्तकहरूबाट जुटाउने जनाए ।

दलका भ्रातृ संगठन खारेजी माग राखेर अदालत जाने तयारी

 पुल्चोक इन्जिनियरिङ कलेजका केही विद्यार्थी दलका भ्रातृ संगठनले क्याम्पसमा पठनपाठन ध्वस्त बनाएको भन्दै खारेजीको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् ।

मेकानिकल इन्जिनियरिङका विद्यार्थी  सागर ढकालले स्ववियु खारेजीको रिट सर्वोच्चमा दायर गर्न १२ सय विद्यार्थीको हस्ताक्षरसहित कागजात  तयारी पार्दै गरेको जानकारी दिए  । ‘कलेजमा विभिन्न विषयका १७ सय विद्यार्थी अध्ययन गर्छन्,’ ढकालले नागरिकसँग भने, ‘१२ सय विद्यार्थी शिक्षण संस्थामा विभिन्न दलका भ्रातृ संगठन  र स्ववियु खारेजीको माग गर्दै अदालत जाँदैछौं ।’

उनका अनुसार सो कलेजमा  विद्यार्थी नेतृत्व, दक्षता, हकअधिकारका लागि सोमेस (मेकानिकल इन्जिनिरिङ), सिइएसएस (सिभिल इन्जिनियरिङ), लोकस (इलेक्ट्रिकल,कम्प्युटर र इलेक्ट्रोनिक्स), आसा (आर्किटेक्चर इन्जिनियरिङ) लगाएतका संंगठन छन् । 

‘यी संगठनहरूको चुनाव हामी विद्यार्थी  आफैं गर्छौ र वार्षिक रुपमा राष्ट्रियस्तरको प्रदर्शनी हामी विद्यार्थी आफैं गरिरहेकै छौं,’ ढकालले भने, ‘यी संगठनहरू विशुद्ध गैरराजनीतिक स्वतन्त्र विद्यार्थी संगठनहरू हुन्’ उनले भने, ‘कलेजमा २०–२५ जनाले विभिन्न दलको भ्रातृ संगठन खोलेर हाम्रो पठनपाठन अवरुद्ध गरिरहेका छन् । यस्ता भ्रातृ संगठन खारेज गर्न माग राखेर हामी अदालत जाँदैछौं ।’

१२ सय विद्यार्थीको हस्ताक्षरसहित ढकाललगायतले शिक्षण संस्थामा दलका भ्रातृ संगठन खोल्न रोक लगाउने माग राखेर प्रधानमन्त्री, मुख्यसचिव, विभिन्न राजनीतिक दल, नेपालस्थित विभिन्न देशका दूतावास र नियोग, विभिन्न सञ्चारमाध्यममा ज्ञापनपत्र बुझाएका छन्।

प्रकाशित: १८ फाल्गुन २०७३ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App