८ वैशाख २०८१ शनिबार
राजनीति

संशोधनबिना चुनावमा नजाने मोर्चाको अडान

काठमाडौं-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने जबाफ दिने भएको छ।

सत्तारूढ माओवादी केन्द्र र नेपाली कांग्रेससँग बुधबार पुनः बस्ने  बैठकमा मोर्चाले संविधान संशोधन नटुंगाईकन कुनै पनि चुनावमा भाग नलिने मात्रै होइन, हुन पनि नदिने जबाफ प्रधानमन्त्रीलाई दिने भएको हो।

प्रधानमन्त्री दाहालले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्नु केही बेरअघि सम्पन्न मोर्चाको बैठकले त्यस्तो जबाफ दिने अनौपचारिक निर्णय लिएको हो । मंगलबार बिहान प्रधानमन्त्री दाहालले स्थानीय तह चुनावबारे मोर्चाको आधिकारिक धारणा मागेपछि मोर्चाले बैठक राखेर संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचनमा भाग नलिने र हुन पनि नदिने जबाफ दिने निर्णय लिएको तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनालले बताए ।

‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म कुनै पनि चुनावमा भाग पनि लिन्नौं र हुन पनि दिन्नौं भन्ने जबाफ मोर्चाले तयार पारेको छ, जसको जानकारी भोलि (बुधबार) को बैठकमा गराउने छौं,’ सोनालले नागरिकसँग भने, ‘तीनबुँदे सहमतिको पालना गर्न आनाकानी गर्नुभयो भने वा एक्लै बढने कोशिस मात्रै गर्नुभयो भने समर्थन फिर्ता लिन पनि सक्छौं भनेर जानकारी पनि सँगसँगै गराउँदैछौं ।’

उनका अनुसार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा बसेको बैठकले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग थप छलफल गरेर थप निर्णय गरिने छ । बैठकमा केही नेताले तीनबुँदे सहमति पालना नगर्ने प्रधानमन्त्री दाहाल सरकारलाई दिएको समर्थन मोर्चाले तत्काल फिर्ता लिनुपर्ने बताएका थिए ।

सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महत्तोले प्रधानमन्त्रीको धारणा सुनेपछि मात्रै मोर्चाले बैठक बसेर मात्रै जबाफ दिने जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले मोर्चाका मागलाई कसरी हेर्नुहुन्छ, त्यही अनुसार मोर्चाले निर्णय लिनेछ तर निर्णय लिन हतार भने गर्ने छैन’, महत्तोले नागरिकसँग भने । बुधबार बिहान पुनः बस्ने बैठकले संविधान संशोधन र चुनावबारेमा निर्णय लिने उनको भनाइ छ ।

मंगलबार बिहान संविधान संशोधन तत्काल पारित हुनसक्ने अवस्था नभएको भन्दै त्यसलाई स्थगन गरेर स्थानीय तह निर्वाचनमा जाने प्रस्ताव प्रधानमन्त्री दाहालले मोर्चासमक्ष  गरेका थिए । तर, मोर्चाले उक्त प्रस्ताव अस्वीकार गरेपछि प्रधानमन्त्रीले दुईटा प्रश्नको जबाफ दिन आग्रह गरेका थिए ।

‘पहिलो, संविधान संशोधन पास हुन अहिलेको गणितले पुग्दैन, यस्तो भएको खण्डमा संशोधन प्रक्रिया स्थगन गरेर चुनावमा जान सकिन्छ कि सकिँदैन ? दोस्रो, संविधान संशोधन पारित नभए चुनावमा भाग लिने कि नलिने ? भन्ने प्रश्नको उत्तर खोज्नु भएको छ,’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘यी दुई प्रश्नको उत्तर संस्थागत रुपमा दिन मोर्चालाई प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ, हामी सल्लाह गरेर त्यसको जबाफ तयार पार्छौं।’ प्रधानमन्त्री दाहालले उक्त बैठकमा नै स्थानीय तह निर्वाचन गर्ने विषयमा सरकार पछि नहट्ने प्रस्ट पारेपछि मोर्चाका नेता आक्रोशित हुन पुगेको उनको भनाइ छ।

बालुवाटारबाट फर्केलगत्तै बसेको मोर्चाको बैठकले ‘संविधान संशोधन नगरे चुनावमा भाग पनि नलिने र हुन पनि नदिने’ निर्णय गर्न पुगेको हो । 

यसैबीच प्रधानमन्त्री दाहालले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन अनुसार सिफारिस भएका ७ सय १९ एकाइमा बढाउने उद्देश्यसहित गठन भएको तीन सदस्यीय सरकारी समितिको अवधि बढाउने निर्णय गर्ने भएका छन् । ‘स्थानीय तह एकाइ बढाउनेबारे गठन भएको तीन सदस्यीय मन्त्री कार्यदलको म्याद थपिने छ,’ बैठकमा उपस्थित माओवादी केन्द्रकी प्रवक्त पम्फा भुसालले भनिन्।

प्रकाशित: १८ फाल्गुन २०७३ ०२:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App