८ वैशाख २०८१ शनिबार
समाज

अब थोत्रा गाडी गुड्दैनन्

काठमाडौं-सरकारले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन बुधबारबाट निषेध गर्दैछ। थोत्रा गाडी वातावरण प्रदूषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारक बनेको भन्दै उपत्यकाबाट हटाउन लागिएको हो।

यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारीसाधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनायो । प्रवक्ता टोकराज पाण्डेले २० वर्ष नाघेका कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेप्पो बुधबारदेखि स्वतः अवैधानिक हुने बताए।

उपत्यकामा २० वर्ष नाघेका झन्डै २ हजार ५ सय सार्वजनिक सवारीसाधन रहेको विभागको अनुमान  छ। ‘२० वर्ष पुराना गाडीको रुटपरमिट र दर्ता नवीकरण म्याद सकिएकाले ती गाडी सडकमा निकाल्नु गैरकानुनी हो’, प्रवक्ता पाण्डेले भने, ‘अब थोत्रा गाडी सडकमा निकाल्न पाइँदैन । कसैले मनोमानी गरे जफत गरिन्छ ।’

२०७१ भदौ १९ को मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सार्वजनिक सवारीसाधन विस्थापित  गर्ने निर्णय गरेको थियो । २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो ।

यातायात व्यवस्था विभागले २०७३ मंसिर २२ गते सार्वजनिक सूचना निकालेर २० वर्ष पुराना सवारीसाधन २०७३ फागुन १८ बाट उपत्यकाभित्र सञ्चालनमा पूर्ण रोक लगाउन पत्राचारसमेत गरेको थियो ।

सोही निर्णयअनुसार विभागले निर्णय कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय, ट्राफिक प्रहरी महाशाखा, टाफिक प्रहरी निर्देशनालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई मंगलबार पत्राचार गरेको छ।

यातायात व्यवस्था कार्यालयअन्तर्गत सानाठूला सवारी कार्यालय, एकान्तकुनाका प्रमुख वसन्त अधिकारीले २० वर्ष पुगेका भाडाका सवारीसाधन मुलुकभर कतै चलाउन नपाइने बताए । ‘थोत्रा गाडी कतै पनि चलाउन पाइँदैन’, उनले भने, ‘यातायात कार्यालयले त्यस्ता गाडीको रुटपरमिट, सवारी नवीकरण तथा जाँचपासमा रोक लगाइसक्यो ।’

अधिकारीका अनुसार सन् १९९७ अघि बनेका पुराना सवारीसाधन सडकमा गुड्न पाउने छैनन् । ‘म्याद नाघेका त्यस्ता सवारीसाधन सबै कर तिरेर पत्रुमा लैजान सकिनेछ’, उनले भने, ‘सरकारलाई कर नतिरेसम्म पत्रुमा लैजानसमेत दिदैनौं ।’

सडकमा थोत्रा गाडी गुडे÷नगुडेको विभाग र महानगरीय ट्राफिक महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ । भेटिए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ ले २० वर्ष नाघेका सवारीसाधन चलाए १ हजार देखि ५ हजार रुपैयाँसम्म जरिवाना र सडकबाटै नियन्त्रण लिन सक्ने व्यवस्था छ ।

प्रवक्ता पाण्डेले पुराना सवारीसाधनले वातावरण प्रदूषण, ट्राफिक जाम तथा  दुर्घटना निम्त्याउने उच्च जोखिम भएकाले विस्थापन गर्न लागेको जानकारी दिए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले ३८ प्रतिशत वायुप्रदूषण सवारीसाधनको धुँवाका कारण भएको  देखाएको छ । पुराना गाडीले धेरै धुवाँ फ्याँक्छन्  ।

वातावरणविद् भुषण तुलाधार पुराना सवारीसाधनबाट निस्कने धुवाँले वातावरणमा प्रत्यक्ष असर पार्ने बताउँछन् । ‘पुराना गाडी वायुप्रदूषणको मुख्य कारक हुन् । त्यसैले त्यस्ता गाडी विस्थापित गर्नुपर्ने बेला भइसक्यो’, उनले भने, ‘अब विद्युत्बाट चल्ने सवारीसाधन प्रवद्र्धन गर्नुपर्छ ।’ सरकारले नै वातावरणमैत्री विद्युतीय सवारीसाधन गुडाउन प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने उनले औंल्याए ।‘

२० वर्षअघि र अहिलेका सवारीसाधनमा धेरै परिवर्तन आइसक्यो’, तुलाधरले भने, ‘हामीकहाँ सवारी प्रदूषण जाँच गर्ने संयन्त्र भने पुरानै ढर्राको छ, त्यसैले सुधार्दै जानुपर्छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा हुने दुर्घटनाको प्रमुख कारणमध्ये पुराना सवारी पनि एक हो । यस्ता गाडी हटाएपछि उपत्यकामा दुर्घटनामा कमी आउने महाशाखाका प्रहरी निरीक्षक मधुुसुदन सिलवालले बताए ।

विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराईले पुराना सवारीसाधनले दुर्घटना बढाउने उच्च जोखिम भएकाले विस्थापित  गर्न टड्कारो भएको बताए । ‘प्राविधिक रुपमा थोत्रा गाडी निकै जोखिमयुक्त हुन्छ । जुनसुकै बेला दुर्घटनामा पर्ने उच्च सम्भावना हुन्छ ।’

‘यातायात व्यवसायी पुराना सवारी हटाउने पक्षमा बाधक छैनौं तर, सरकारले यथोचित सहुलियत दिएरमात्रै पुराना गाडी विस्थापित गर्नुपर्छ,’ राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भने, ‘बैंक तथा वितीय संस्थाले सवारी कर्जा रोकेको बेला यस्तो व्यवस्था गर्दा हामी मारमा पर्‍यौं।’

थोत्रा गाडीको साँचो बुझाउन पुगे

२० वर्ष नाघेका पुराना सवारीसाधन विस्थापन गर्दा सहुलियत दिनुपर्ने भन्दै मंगलबार मीनभवनस्थित विभागको कार्यालयमा यातायात व्यवसायी धर्ना दिन पुगेका थिए । व्यवसायीले  विभागको कार्यालयमा नौवटा सवारीसाधन थन्क्याएका छन् । त्यस्तै तीनकुने क्षेत्रमा झन्डै ९० वटा पुराना गाडी राखेर धर्ना दिइएको महासंघका वाग्मती अञ्चल संयोजक निरत्न नेवाले जानकारी दिए  ।

‘बुधबारबाट पुराना गाडी चलाउन नपाउने भएपछि विभागमै चाबी हस्तान्तरण गर्न आएका हौं । तर, विभागका महानिर्देशक नभएकाले बुझाउन पाएनौं’, विभागमा भेटिएका नेवाले भने, ‘२० वर्ष पुग्दैमा विस्थापित गर्नु हुँदैन । सवारीको अवस्था र प्रदूषण जाँच गरेर चलाउन नमिल्ने अवस्थामा भएका सवारी मात्रै विस्थापन गर्नुपर्छ।’

प्रकाशित: १८ फाल्गुन २०७३ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App