८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

महिलाको क्यान्सर उपचार निःशुल्क गरिँदै

काठमाडौं- महिलामा हुने प्रमुख तीन क्यान्सरको उपचार सरकारले निःशुल्क गर्ने भएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले विकसित देशमा घट्दो क्रममै रहेका प्रमुख क्यान्सर पाठेघर, पाठेघरको मुख र स्तन क्यान्सरको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन लागेको हो।

महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले महिलाको प्रमुख समस्या क्यान्सर उपचारमा सघाउँदा सानो सहयोगले ज्यानै बच्ने अवस्था देखेर यस्तो योजना ल्याएको बताए।

नेपालमा महिलामा हुने क्यान्सरमध्ये २१ प्रतिशत पाठेघरको मुख, १६ प्रतिशत स्तन र ६ प्रतिशत डिम्बाशयको क्यान्सर हुन्छ।

सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खड्काले प्रत्येक वर्ष करिब ४२ करोड हाराहारी भार बेहोर्दा ५ हजारभन्दा बढी महिलाको ज्यान जोगिने बताए। 'क्यान्सर उपचार सेवा दिइरहेका डाक्टर, अस्पतालसँगको परामर्शपछि मलाई यो कार्यक्रम राज्यले धान्न सक्छ भन्ने लाग्यो', उनले भने, 'केही दिनमै अस्पतालसँग सम्झौता गरेर कार्यक्रम लागू हुन्छ।'

मन्त्रालयका अनुसार कार्यक्रमका लागि भरतपुर क्यान्सर अस्पताल, वीर अस्पताल, भक्तपुर क्यान्सर र नेपाल क्यान्सर अस्पतालसँग सम्झौता हँुदै छ। तोकिएका अस्पतालले सेवा दिएपछि भुक्तानी दाबी गर्ने र सरकारले भुक्तानी गर्ने खड्काले जानकारी दिए। मन्त्रालयले कार्यक्रम स्वास्थ्य मन्त्रालयसँगको समन्वयमै अगाडि बढाउने जनाएको छ।

हाल स्वास्थ्य मन्त्रालयले प्रत्येक क्यान्सर पीडितलाई उपचारमा १ लाख बराबरको सहयोग गर्दै आएको छ। सो सुविधाबाहेक उपचारमा लाग्ने अतिरिक्त खर्च भने महिला मन्त्रालयले दिने खड्काले जानकारी दिए।

मन्त्रालयका अनुसार हाल नेपालमा पाठेघर र पाठेघरको मुखको क्यान्सरपीडित महिला ४ हजार र १ हजार स्तन क्यान्सरका रोगी भएको अनुमान मन्त्रालयको छ।

सो आधारमा अहिले स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँने १ लाखबाहेक पाठेघरको मुखको क्यान्सरको उपचारमा १ लाख ५५ हजार, स्तल क्यान्सरमा २ लाख २६ हजार र पाठेघरको क्यान्सरमा २ लाख ९० हजार थप अनुदान दिनुपर्छ। 'यो वर्ष १० करोड भए पुग्छ, अर्को वर्ष क्यान्सर हुने सबै बिरामी आउँदा पनि ४२ करोड खर्च गरे ५ हजारको ज्यान बचाउन सकिन्छ', खड्काले भने ।

क्यान्सर उपचार तथा रोकथामका लागि रोकथाम, परीक्षण र उपचारमध्ये अहिले उपचार मात्र निःशुल्क हुने र अर्को वर्षदेखि रोकथामका र परीक्षणका कार्यक्रमसमेत लगेर बिस्तारै क्यान्सर दर नै घटाउने योजना सुनाए।

भरतपुर क्यान्सर अस्पतालको तथ्यांकअनुसार नेपालमा महिलामा हुने क्यान्सरमध्ये २१ प्रतिशत पाठेघरको मुख, १६ प्रतिशत स्तन र ६ प्रतिशत डिम्बाशयको क्यान्सर हुन्छ।

दस वर्षमा झन्डै ३० हजार महिला क्यान्सर रोगी उपचार दायरामा आएका मध्ये ४२ प्रतिशतमा यी तीन प्रकारका क्यान्सर छ।

आर्थिक र सामाजिक कारण पुरुषमा रोग पहिचान र उपचारमा बढी पहुँच छ। विकसित देशका महिलामा घट्दो क्रममा रहेको पाठेघरको मुख र स्तन क्यान्सर नेपालमा घट्न नसक्दा महिलामा बढी समस्या देखिएको चिकित्सकको भनाइ छ।

महिलामा बढी मात्रामा हुने पाठेघर र स्तन क्यान्सर नियमित रुपमा जाँचबाट समयमै पहिचान र उपचारसमेत गर्न सकिने भए पनि नेपालमा जनचेतना अभावमा यस्तो भएको वीर अस्पतालकी क्यान्सर रोगविशेषज्ञ डा. सन्ध्या चापागाईंको भनाइ छ।

पाठेघरको पानी (प्यापस्मेयर) जाँचबाट पाठेघरको र मेमोग्राम गरेर स्तनको क्यान्सर समयमै पहिचान गर्न सकिन्छ। चिकित्सकका अनुसार विवाहिताले प्रत्येक वर्ष प्यापस्मेयर जाँच गर्नु राम्रो हुन्छ। तर सेवासम्म पहुँच र चेतना अभावमा महिला क्यान्सरको अवस्थामै पुग्ने गरेका छन्। डा. चापागार्इंका अनुसार अधिकांश क्यान्सरका बिरामी 'थर्ड' वा 'फोर्थ' स्टेजमा मात्रै अस्पताल पुग्छन्। सेवा निःशुल्क गर्दा चेतना पनि बढ्ने र त्यसले बिस्तारै क्यान्सर दर घटाउँदै लैजाने विश्वास मन्त्री खड्काले व्यक्त गरे।

विज्ञका अनुसार पाठेघरको मुख र स्तन क्यान्सरमा मात्रै कम गरे पनि महिलामा हुने क्यान्सरको झन्डै ३५ प्रतिशत कारक रोकथाम गर्न सकिन्छ।

चिकित्सकका अनुसार साधारणतया क्यान्सर ४० वर्Èपछि देखा पर्ने भए पनि नेपालजस्तो अविकसित देशमा यो रोग ३० वर्È अथवा सो भन्दा कम उमेरका महिलामा समेत देखापर्ने गरेको छ।

चिकित्सकका अनुसार पाठेघर क्यान्सरको प्रमुख कारण एचपिभी (ह्युमेन पापिलोमा भाइरस) क्यान्सरको प्रमुख कारण हो।  कुपोषण, खानेपानी, सरसफाइ र यौनसम्पर्कबाट भाइरस सर्छ। यौनसम्पर्कले यसको वृद्धिमा महŒवपूर्ण भूमिका खेल्छ।

प्रकाशित: १७ फाल्गुन २०७३ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App