८ वैशाख २०८१ शनिबार
अन्य

'मोटो'लाई छैन सिट!

काठमाडौं टोखाका ३२ वर्षीय  सबुज अधिकारीको तौल ११४ किलो छ। तौल घटाउन उनले निक्कै कोशिस गरे। तर उनी सफल हुन सकेका छैनन्। तौलका कारण उनले विभिन्न शारीरिक समस्या बेहोर्नु परेको छ। त्योभन्दा ठूलो समस्या सार्वजनिक सवारी चढ्दाको समयमा हुने गरेको छ।

'अरु मोटा यात्रुहरुलाई टेम्पो, माइक्रोका सहचालकले गरेको दुर्व्यवहार देखेपछि मैले यी सवारी चढ्नै छाडिदिएँ,' उनले भने, 'सार्वजनिक स्थलहरुमा आफ्नो मोटाइको बारेमा हुने नकारात्मक टिप्पणी निक्कै दुःखलाग्दो हुने गर्छ।'

प्रायः मोटरसाइकल चढ्ने उनी आवश्यक परेको बेलामा ट्याक्सी भाडामा लिएर यात्रा गर्ने तर माइक्रो तथा टेम्पो नचढ्ने गरेको  सुनाए। सबुजकी आमा सरस्वती अधिकारीको  तौल पनि ९५ केजीको छ। उनकी आमाले पनि सवारी साधनमा ओहोरदोहोर गर्दा मोटाइको बारेमा गरिएको टिप्पणी झेलेको उनले सुनाए।

'त्यसपछि मैले आमालाई पनि सहरबजार जाँदा ट्याक्सीमा लैजाने र ल्याउने गरेँ,' उनले थपे, 'आमाको मोटाइका बारेमा गरिएको कुनै पनि टिप्पणी म सहन सक्दिनँ।'

यो समस्या अधिकारी परिवारको मात्र होइन। काठमाडौंमा सार्वजनिक सवारीमा ओहोरदोहोर गर्ने शारीरिक रुपमा केही मोटा रहेका सर्वसाधरणको पनि साझा समस्या हो।

सिट बढी ओगट्ने भन्दै टेम्पो तथा माइक्रोका चालक–सहचालकले उनीहरुलाई चढाउन सकभर मन नपराउने गरेको देखिएको छ। जसबाट उनीहरु मानसिक रुपमा पीडित हुने गरेका छन्।

यस्तै पीडित हुन् थानकोटकी छलीकुमारी तामाङ। ५३ वर्षीय छलीकुमारीको तौल भने ८५ केजी छ। बढी तौलका कारण उनलाई हिँड्डुलमा केही समस्या पर्छ। तर त्योभन्दा बढ्ता समस्या सार्वजनिक सवारीसाधन चढ्दा हुने गरेको उनी सुनाउँछिन्। सवारी चढ्ने क्रममा सहचालकले गरेको टिप्पणीले उनी निकै आक्रोशित भएकी छन्।

'दिदी तपाई त दुई जनाको सिट एक्लैले ओगट्नुहुन्छ समेत भन्न भ्याएका छन्,' उनले भनिन्, 'त्यसो भए तौलेर पैसा लिन त भनेर मैले जवाफ फर्काएँ।' मानिसहरु कोही मोटा हुन्छन्, कोही पातला। कोही अग्ला हुन्छन्। कोही होचा। यसरी उनीहरुको बनावटका आधारमा गरिने टिप्पणीले मर्माहत गराउने उनले सुनाइन्।

राजधानीमा चल्ने अधिकांश माइक्रो तथा टेम्पोले सवारी क्षमताभन्दा बढी यात्रु राखेर चलाउने गरेका छन्। १० जनाको सिट क्षमता भएको टेम्पोमा १५ जना राख्छन् भने १५ सिट भएको माइक्रोमा २० भन्दा बढी यात्रु खाँद्छन्। त्यसैले बस, टेम्पो होस् या माइक्रो, सजिलै चढ्न असम्भवझैं हुन्छ। हानथाप, ठेलमठेल, कोचाकोच गरेर चढिहाले पनि सिट त पहिल्यै भरिसकेको हुन्छ। 

साँझको समयमा हुने भिडभाडमा त मोटा ज्यान भएका मानिसलाई निक्कै टिकाटिप्पणी गरिने उनीहरुको बुझाइ छ। 'मोटो पनि त मान्छे नै हो नि,' ७५ केजीकी गीता श्रेष्ठले भनिन्, 'हामीलाई अनावश्यक टिप्पणी गरेको मन पर्दैन।' मोटा मानिसलाई देखेपछि सकभर माइक्रो तथा टेम्पो नरोकिने उनको बुझाइ छ। 'उनीहरुका लागि यात्रु एक सिटको पैसाभन्दा अरु केही रहेन,' उनले थपिन्, 'यस्तो सोच राम्रो हैन।'

काठमाडौ जोरपाटीकी सुशीला दाहालको तौल ७५ केजी छ। सार्वजनिक सवारी चढ्दा उनले सधंै सहचालकको प्रतिक्रिया सुन्नु पर्दैन। तर जब क्षमताभन्दा बढी यात्रु राख्न थाल्छन्, तब उनी पनि निशानामा पर्ने गर्छिन्। 'अन्टी मोटो भएर एकजना मान्छे राख्नै पाइएन पनि भन्छन्,' उनले भनिन्, 'यस्तो सुन्दा नरमाइलो लाग्छ।'

११४ केजीका सबुजलाई अमेरिका जाने डिभी परेको छ। दशैंपछि उनी अमेरिकाको क्यालिफोर्नियामा रहनेछन्। उनी निक्कै खुसी छन्। यो खुसी अमेरिकामा पैसा कमाइन्छ भनेर हैन, त्यहाँ आफ्नो मोटाइको बारेमा कुनै टिप्पणी सुन्नु पर्दैन भन्ने उनको विश्वास छ। 'मलाई लाग्छ, म अमेरिकामा हल्का कमेन्टबाट निर्धक्क रहने छु,' उनले आशा गरे, 'मेरो देशमा पनि मजस्ता मानिसले यस्तै निर्धक्क भएर रहने वातावरण सिर्जना हुने आशा गर्छु।' 

प्रकाशित: २५ असार २०७३ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App