६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अनौठो शरीर

हरेक मानिसमा दुई हात, दुई गोडा, दुई आँखा, दुई कान र एउटा नाक हुन्छ। एउटै महादेशमा बस्नेहरुको प्रायः रङ उस्तै हुन्छ, खासै धेरै फरक हुँदैन। जस्तो युरोपका मानिस सेता हुन्छन्, अफ्रिकाका काला। एसियाका मिश्रित रङका हुन्छन्। यसका बाबजुद पनि हामी मान्छेलाई चिन्छौँ। अरु त अरु हामीले जुम्ल्याहालाई त चिन्छौँ भने अरुलाई नचिन्ने कुरै भएन। उसो भए हामीले धेरै कुरा मिल्दाजुल्दा भएका मानिसलाई विरलै झुक्किने भए पनि चिनिहाल्छौँ। आखिर हामीले कसरी मान्छेलाई चिन्छौँ त?

यो प्रश्नले तपाईंलाई मात्र होइन, वैज्ञानिकलाई पनि दुःख दिएको छ। जुम्ल्याहाको अनुहारको बनोट पनि केही अन्तर हुन्छ, जसका कारण तिनलाई छुट्याउन सकिन्छ। यस्तो अन्तर भने उनीहरु एकै ठाउँ भए भने मात्र छुट्याउन सकिन्छ। यस अप्ठेरोलाई सहज बनाउन अमेरिकाको इन्डियाना विश्वविद्यालयले ‘बायोमेटि्रक आइडेन्टिफिकेसन’ प्रविधि बनाएको छ।

खोजको क्रममा केही शोधकर्ताले अमेरिकाको ओहायोमा आयोजन हुने वार्षिक ‘ट्वीन डे’ महोत्सवमा गए। उनीहरुले हरेक वर्ष बिस्तारै जुम्ल्याहाको संख्या बढेको छ। हुन त जुम्ल्याहाका हातका औँला हेरेर पनि तिनलाई चिन्ने एउटा पारम्परिक र सहज तरिका छ।

सर्वसाधारणले तिनको हात नहेरी जुम्ल्याहा चिन्न कठीन छ। सुविधाका लागि धेरैले केही निशान पनि राख्छन्। तर यी बाहेक पनि जुम्ल्याहा चिन्न के गर्न सकिन्छ?

शोधकर्ताका अनुसार हरेक मानिसको कान बेग्लाबेग्लै आकारप्रकारको हुन्छ। भन्नलाई सबैको कान हुन्छ भनिन्छ तर सबैको कान उस्तै हुँदैनन्। एउटैजस्तो लागे पनि यी एउटै हुँदैनन्। हरेक मानिसका लागि बेग्लै प्रकारका कान जडिएको हुन्छ। रोचक त के छ भने सन् १९५० यता फोरेन्सिक वैज्ञानिकहरुले सन्दिग्धको कानको बनावटका आधारमा अपराधीसम्म पुग्ने गरिरहेका छन्। सन् १९९८ मा यस्तो सफ्टवेयर पनि बनाइएको थियो, जसले हरेक वर्ष आफ्नो कानमा आएको परिवर्तनलाई हेर्न, पढ्न सकिन्छ।

यसपछि ‘थि्रडी’ स्क्यानिङ भन्ने प्रविधि भित्रियो। यसले कानको ज्यामितीय बनावटलाई पढ्न सक्थ्यो। यो प्रविधि यति विकसित छ कि यसले ०.०२ मिलिसेकेन्डमा ९९.९ प्रतिशतसम्म सटीक आँकलनका साथ कानको बनावटमा आएको फरक पत्ता लगाउन सक्थ्यो। खोजकर्ताका अनुसार उमेरसँगै हाम्रा सबै कुरामा परिवर्तन हुन थाल्छन्। हाम्रो अनुहार, शरीरको बनावट आदि परिवर्तन हुन्छन्। कान मात्र यस्तो चिज हो, जसमा त्यति धेरै परिवर्तन देखिँदैन।

यस्तै अर्को अचम्मको कुरा, हाम्रो शरीरको सुवास हो। हरेक व्यक्तिको शरीरबाट निस्कने सुवास बेग्लाबेग्लै हुन्छ। यो सुवास कसैको सुगन्ध हुन्छ भने कसैको दुर्गन्ध। अमेरिकाको आर्मी रिसर्च अफिसका अनुसार, मानिसले आफ्नो शरीरको चारैतिर वायुको एक पत्र ओढेको हुन्छ र त्यसमो उसको सुगन्ध/दुर्गन्ध टाँसिएको हुन्छ। मानिस जहाँजहाँ जान्छ, ऊसँगै त्यो सुवास पनि हिँड्छ। यही सुवासका कारण अपराधी पक्राउ गर्न कुकुरले सफलता पाएको हो। शरीरको सुवासलाई बायोमेटि्रक पासपोर्ट बनाउन पनि उपयोग गर्न सकिन्छ।

यस्तै हाम्रो हिँड्ने शैलीले पनि चिन्न सघाउ पुर्‍याउँछ। भन्नलाई त हामी सबैको गोडा हुन्छन् र हिँड्दा एउटा गोडा अगाडि र अर्को पछाडि पारेर हिँड्छौँ तर कदम अघि बढाउने शैलीले पनि मानिसलाई बेग्लै बनाउँछ। नाङ्गो आँखाले हामी सबैको हिँडाइ उस्तै देखे पनि कम्प्युटरले पनि फरकलाई पक्रन्छ। ‘थ्रीडी काइनेटिक मोडल’मार्फत् हिजोआज मानिसको हिँडाइ मापन गर्न थालिएको छ।

यसैगरी हाम्रो नाकमा सैयौँ साना प्वाल हुन्छन्। यी प्वाल उमेरअनुसार बढ्ने घट्ने हुँदैन। बनावटमा पनि कुनै परिवर्तन हुँदैन। नाक हेरेर वा तिनको प्वाल विचार गरेर पनि मानिसलाई चिन्न सकिने केही शोधकर्ताको भनाइ छ। हाम्रो शरीर बडो अनौठो छ। हाम्रो शरीर चिन्न हिजोआज बायोमेटि्रकको प्रयोग निकै हुन थालेको छ।

बिबिसी फ्युचरमा रिचर्ड ग्रेको आलेख

प्रकाशित: १७ फाल्गुन २०७३ ०५:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App