७ वैशाख २०८१ शुक्रबार
अर्थ

पोखरा विमानस्थलमा पार्किङ अभाव

पोखरा- पोखरा विमानस्थलमा सोमबार बिहान ११ बजे सातवटा हवाईजहाज र दुईवटा हेलिकोप्टर पार्किङ गर्नुपर्‍यो। एटिआर (बुद्ध), जेटस्ट्रिम (यती) र टि्वनअटर सहितका जहाज र हेलिकोप्टर विमानस्थलको पार्किङमा एकैपटक अड्याउँदा पार्किङ क्षेत्र खचाखच देखिन्थ्यो।

पोखराको यो विमानस्थलमा 'स्ट्यान्डर्ड' तरिकाले पार्किङ गर्ने हो भने दुईवटा एटिआर र तीनवटा 'टि्वनअटर' गरी पाँचवटा जहाज मात्र अट्छन्। तर, अन्यत्र पार्किङ क्षेत्र नभएपछि बाध्य भएर साँघुरो गरी सातवटा जहाज र दुईवटा हेलिकोप्टर गरी नौवटा पार्किङ गर्नुपर्‍यो। काठमाडौं विमानस्थलमा एयर ट्राफिक बढ्दा आपतकालीन अवस्थाका लागि समेत ठाउँ नहुने गरी पार्किङ गर्न यहाँको विमानस्थल बाध्य छ।

पोखराको यो विमानस्थलले सधैं यस्तै पार्किङ समस्या खेप्नुपर्छ। सोमबार त्यही समस्या दोहोरिएको थियो। खचाखच पार्किङ गर्नुपर्ने समस्या सोमबार पहिलो पटक होइन, पछिल्लो समय हरेक दिन यस्तै समस्या दोहोरिने गरेको विमानस्थलका एकजना वरिष्ठ अधिकृत बताउँछन्। 'सोमबार झन्डै डेढ घण्टासम्म उडान रोकिँदा पोखरा विमानस्थलको पार्किङ क्षेत्र खचाखच भयो,' ती अधिकृतले भने, 'काठमाडौंको आकासमा भीड भयो। लामो समय आकासमा होल्ड गर्नुपर्ने भएकोले पोखरा आएका जहाज यतै (पोखरा) रोकिए। आपतकालीन अवस्थाका लागि समेत पुग्ने पर्याप्त ठाउँ नपुग्ने गरी पार्किङ गर्न बाध्य भयौं।'

काठमाडौंबाट पोखरा आउन पाउने तर, एयर ट्राफिक जाम भएपछि फर्किने तयारीमा रहेका जहाज पोखरामै अड्किएको ती कर्मचारीले बताए। 'स्टार्ट गरेका जहाज डेढ घण्टासम्म रोकिए। यसले एकैछिनमा पार्किङ क्षेत्र खचाखच भयो। जहाज थपिएको भए अड्याउने ठाउँ थिएन,' उनले भने। ती कर्मचारीका अनुसार बिहानको समय काठमाडौंको आकास खुल्छ। अनि माउन्टेन फ्लाइटका जहाज धमाधम उड्छन्। तर, फर्किने बेला काठमाडौंको आकासमा जाम बढिसक्छ। कहिँलेकाहीं त काठमाडौंको विमानस्थल नै बन्द भइदिन्छ। त्यसपछि माउन्टेन फ्लाइटमा रहेका जहाज धमाधम पोखरा डाइभर्ट हुन्छन्। त्यसले पनि नियमित उडानमा प्रभाव पार्ने उनले बताए।

त्यसबाहेक काठमाडौंको आकासमा लामो समय होल्ड गर्नुपर्ने समस्या झनै बढी छ। पोखराबाट उडे पनि काठमाडौंको आकासमा डेढ घण्टासम्म होल्ड गर्नुपर्ने भएपछि जहाज पोखराबाटै उड्न चाहँदैनन्। त्यसको चाँप पनि पोखरालाई पर्ने ती कर्मचारी बताउँछन्। 'पोखरा विमानस्थलको पार्किङ वे निकै नै साँघुरो भएको छ। अब पनि विस्तार नगर्ने हो भने समस्या थपिन्छ। अहिले नै अप्ठेरो अवस्था आइसकेको छ। यो काठमाडौंले उब्जाएको समस्या पनि हो,' उनले भने, 'मौसममा आएको खराबीले पनि अप्ठेरो पारेको छ। काठमाडौंको प्रदुषणले पनि उडानमा बाधा ल्याएको छ।' त्यसबाहेक हवाई कम्पनीले धमाधम जहाज थप्ने, तर, विमानस्थलको पार्किङ क्षेत्र पुरानै आकारमा रहँदा भीड बढ्ने गरेको छ। 'सहज अवस्थामा त केही फरक नपर्ला, तर आपतकालीन अवस्था आइदियो भने त्यसले क्षति निम्त्याउन सक्छ,' ती कर्मचारीले भने।

माउन्टेन फ्लाइट हुँदा, अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण रोकिँदा, मौसम खराब हुँदा पोखरामा पार्किङ अभाव हुने गरेको छ। खराब मौसमले लामो समयसम्म रोकिएका उडान एकैपटक खुल्दा पनि पोखरामा पार्किङ अभाव हुन्छ। 'काठमाडौंबाट नजिकै भएकाले पनि अन्तर्राष्ट्रिय विमानस्थलमा केही समस्या आउनासाथ सबै जहाज पोखरातिर डाइभर्ट हुन्छन्,' उनले भने, 'यसले पनि पार्किङको अभाव हुन्छ।'

पोखरा विमानस्थलमा दुई सय ४७ मिटर लम्बाइ र ५७ मिटर चौडाइको पार्किङ क्षेत्र छ। त्यसबाहेकको क्षेत्र घासे मैदान रहेको छ। पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी भइरहेको भन्दै चालु विमानस्थलमा पार्किङ क्षेत्र विस्तार गरिएको छैन। पार्किङ क्षेत्र विस्तार नहुँदा विमानस्थलमा बेला बेलामा जहाजको भीडभाड हुने उनले बताए। पार्किङ क्षेत्रबाहेक ट्याक्सी–वे मा पनि दुईवटा जहाज पार्किङ गर्न सकिन्छ। तर ट्याक्सी–वे मा जहाज पार्किङ गर्नु उपयुक्त मानिँदैन।

पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाँई माउन्टेन फ्लाइटका जहाज पोखरालाई विकल्पमा राख्ने भएकाले पनि भीड बढेको बताउँछन्। 'भीडभाडको समस्या सधैं पर्ने होइन, तर, अहिले अलि बढेको छ। पार्किङ क्षेत्र साँघुरो भएकै हो, आपतकालीन अवस्थाका लागि केही ठाउँ खुला राख्न जरुरी छ,' गुरागाँइले भने, 'सहज अवस्थामा खासै अप्ठेरो नपर्ला। तर, इमर्जेन्सीका लागि सचेत हुनुपर्ने अवस्था छ।' पोखरामा भन्दा पनि काठमाडौंको आकासको व्यस्तताले बढी समस्या पारेको उनले बताए।

पोखरामा पछिल्लो समय हवाई उडान निकै नै बढिरहेका छन्। पोखराबाट उडान हुने रुट जोमसोम र काठमाडौंमा उडान थपिँदा त्यसको भार विमानस्थललाई पर्छ। त्यसबाहेक हेलिकोप्टर कम्पनीले पछिल्लो समय पोखरालाई नै लक्षित गरेर स्टेसन बनाउन थालेका छन्। त्यसले गर्दा पनि पोखरा विमानस्थलको पार्किङ क्षेत्र साँघुरो हुँदै गएको उनले बताए। 'थप पार्किङ क्षेत्र विस्तारका लागि ठाँउ पनि छैन। नयाँ विमानस्थल बन्ने तयारीले ठूलो पुँजीगत खर्च गर्ने क्षमता अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग छैन,' उनले भने।

हवाई कम्पनी पनि पार्किङ क्षेत्र साँघुरो भएपछि समस्या थपिएको बताउँछन्। काठमाडौं विमानस्थलले त्यहाँको आकासमा भीड बढेको भन्दै पोखरा आइसकेका जहाजलाई यतै (पोखरा) मै रोक्न लगाउँदा थप भीड बढ्न जाने बुद्ध एयरका पोखरास्थित स्टेसन म्यानेजर गौतम बराल बताउँछन्। 'काठमाडौं विमानस्थलले आकासमा भीड बढेपछि डिपार्चर (बाहिरिन) दिन्छ, तर, अराइभल (भित्रिन) दिँदैन। त्यसले पोखरामा भीड बढाउँछ,' बरालले भने, 'जहाज कम्पनी धमाधम थपिने तर पूर्वाधार पुरानै हुँदा समस्या बढ्दो छ।'

प्रकाशित: १७ फाल्गुन २०७३ ०४:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App