६ वैशाख २०८१ बिहीबार
खेल

टुंगियो मनाङको यात्रा

काठमाडौं- माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबलाई सोमबार १–० को नतिजा सुम्पिएपछि शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लबको यात्रा अन्तिम ४ मा टुंगिएको छ। लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लब शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको- २०१७ को सेमिफाइनलबाट बाहिरिएको छ। प्रतियोगिताअर्न्तगत सोमबार भएको पहिलो सेमिफाइनलमा नेपाली राष्ट्रिय टिमका गोलरक्षक सम्मिलित माल्दिभ्सको टिसी स्पोर्ट्स क्लबसँग १–० ले पराजित भएपछि मनाङ सेमिफाइनलबाट बाहिरिएको हो।

चित्तागोङस्थित मोहम्मद अजिज रंगशालामा टिसी स्पोर्ट्स क्लबको जितका लागि कप्तान नैफु अलीले खेल सकिन ७ मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बन्यो। मनाङका गोलरक्षक दिनेश थापामगरले गरेको गल्तीमा फाइदा उठाउँदै अलीले गोल गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।  पहिलो हाफको तुलनामा दोस्रो हाफमा मनाङले राम्रो खेले  पनि गोल गर्न नसक्दा मनाङ पराजित हुन पुग्यो। मनाङका अधिकांश प्रहार टिसी स्पोर्ट्सका गोलरक्षक किरण चेम्जोङले विफल पारेका थिए। खेलको अन्तिम समयमा मनाङले बराबरी गोल गर्ने सुन्दर मौका गुमाएको थियो। कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकलाई ओलावाले फिनिसिङ गर्न चुकाएका थिए। यसअघि मनाङले १८औं मिनेटमा पहिलो आक्रमण गरेको थियो। मनाङका ओलावालेले गोलको यो मौका खेर फालेका थिए। ५५औं मिनेटमा रोहित चन्दको प्रहार किरणले पन्च गर्दै जोगाएपछि मनाङले अग्रता लिने मौका फेरि चुकाएको थियो। त्यसपछि पनि मनाङका ओलावाले अफिज, साम्सोन, अनिल गुरुङ र सुजल श्रेष्ठले गोल गर्ने मौका गुमाएको थियो। एकपछि अर्काे आक्रमण गरिरहे पनि मनाङले गोल गर्न नसकिरहेको अवस्थामा गोलरक्षक दिनेश थापा मगरको सानो गल्तीको फाइदा टिसी स्पोटर््सले लियो। आजम मोहम्मदले क्रस गरेको बललाई नैफुले खाली पोस्टमा गोल गरेपछि मनाङ खेलमा पछि परेको थियो। अन्तिम समयमा मनाङका अधिकांश प्रहार किरणले विफल बनाइदिएका थिए। जितपछि टिसी स्पोर्ट्सका प्रशिक्षक निजम मोहम्मदले फाइनल पुग्दा खुसी लागेको बताए। फाइनलमा जुन टिम आए पनि कुनै गाह्रो नहुने प्रशिक्षक मोहम्मदको भनाइ थियो। यता हारपछि मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले राम्रो खेले पनि गोलरक्षकको सानो गल्तीका कारण पराजित हुनुपरेको बताए। उनले टिमका पूर्वगोलरक्षक किरणका कारण पराजित नभएको र खेलाडीहरूले पाएको मौकालाई फिनिसिङ गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए।

प्रकाशित: १७ फाल्गुन २०७३ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App