१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मीको कमजोर प्रदर्शन

नेपालगन्ज- साबिक उपविजेता एपिएफ र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप चौथो इन्डो–नेपाल महिला भलिबल प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्। जितपछि एपिएफले प्रतियोगिताको सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ। साबिक विजेता रेलवेले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल पुलिसले सोमबार नेपालगन्ज रंगशालाको कभर्डहलमा आयोजक मध्यपश्चिम क्षेत्रीय भलिबल टोलीलाई २५–११,२५–८, २५–१८ ले हरायो। एपिएफले आर्मीलाई अन्डर १० मा हराउने क्रममा २५–५ २५–८, २५–९ ले निराश बनायो।

प्रतियोगितामा आइतबार आर्मी भारतीय टोली बर्सात् एसोसिएसनलाई सोझो सेटमा हराउँदै उत्साही बनेको थियो। तर आर्मी एपिएफविरुद्धको खेलमा भने कमजोर देखियो।

लोकबहादुर बुढाको नेतृत्वमा आर्मी महिला टोलीले अहिले नेपालगन्जमा खेलिरहेको छ। बुढा आर्मी पुरुष भलिबल टोलीका पूर्वखेलाडी हुन्। करिब एक दशक उनले आर्मीबाट सेटरको भूमिकामा खेलेका थिए। १ वर्षदेखि प्रशिक्षणमा डेब्यु घरेका बुढाले सोमबार एपिएफले हरेक पोजिसनमा उत्कृष्ट खेलेको बताए। उनले भने, 'हामीले जुनियर खेलाडीलाई प्राथमिकतामा राखेर भविष्यमा राम्रो गर्ने कोसिस गरिरहेका छौं। एपिएफ बलियो टोली हो। सिनियर खेलाडी छन्। एउटा सेट जित्ने लक्ष्य थियो। तर खेलाडी नर्भस भए। डिफेन्स कमजोर भएपछि हामीले एपिएफलाई कडा चुनौती दिन सकेनौं।'

प्रधानमन्त्री कपमा सकारात्मक नतिजा निकालेर फर्कने बुढाले दाबी गरे। उनले थपे, 'हामी पुनः एपिएफविरुद्ध कमजोर देखियौं। तर यो क्रम बिस्तारै घट्छ। उनीहरूले आज साँच्चिकै राम्रो खेल देखाए। हामी रेलवेसँग अब राम्रो स्कोर गर्ने कोसिस गर्छाैं।'

चार वर्ष अघिदेखि सुरु भएको प्रतियोगिताको पहिलो संस्करणको विजेता हो नेपाल पुलिस क्लब। पुलिसले स्थानीय टोलीलाई सहजै हराउँदै अन्तिम चारमा स्थान बनायो। पुलिसमा पनि अधिकांश नयाँ खेलाडी छन्। राष्ट्रिय टोलीकी स्पाइकर कोपिला उप्रेती र लिबेरो कमला पुनबाहेक अन्य नयाँ खेलाडी छन्। पुलिस टोलीको हरेक पोजिसनबाट खेल्ने भरपर्दो खेलाडीको कमी छ। पुलिसले भोगिरहेको मुख्य समस्या भनेको सेटर हो। राष्ट्रिय टोलीबाट खेलिसकेकी सुशीला थापा व्यक्तिगत कारणले नेपालगन्ज जान नसकेपछि पुलिसले लिबेरो कमलालाई सेटरको रूपमा प्रयोग गरिरहेको छ। कमला राष्ट्रिय टोलीको पहिलो रोजाइकी लिबेरो हुन्। तर उनी सेटरको रूपमा खेलिरहेकी छिन् नेपालगन्जमा। पुलिसका प्रशिक्षक भरत शाहले बाध्यताका कारण कमलालाई सेटर खेलाउनुपरेको बताए। उनले भने, 'हामीलाई समस्या भनेको सेटरको हो। नियमित सेटर नभएपछि अप्ठ्यारो हुन्छ। त्यसले दुईवटा पोजिसनमा असर गर्छ।'

पहिलो संस्करणको विजेता भए पनि उपाधि जित्न कठिन भएको शाहले बताए। उनले भने, 'हामी पूर्वच्याम्पियन हौं। तर अहिले प्रतियोगिता जित्न कठिन छ। हाम्रो टिम विगतको जस्तो बलियो छैन। नयाँ खेलाडीको प्रदर्शनमा एकरूपता छैन। भारतीय टोली र एपिएफसँग अनुभवी खेलाडी छन्।'

नेपाल र भारतका ६ टोलीले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरिरहेको प्रतियोगितामा रेलवे टिम इन्डिया समूह 'क' को विजेता र पुलिस उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन्। एपिएफ समूह 'ख' को विजेता, आर्मी उपविजेताका रूपमा अन्तिम चारमा पुगेका हुन्।

प्रकाशित: १७ फाल्गुन २०७३ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App