coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सडक कब्जा गरेर राजनीतिक भेला

काठमाडौं- राजधानीको प्रदर्शनीमार्ग भृकुटीमण्डप अगाडिको सडक अति व्यस्त मध्येको एक हो। पटकपटक हुने राजनीतिक दलको महाधिवेशन, जनप्रदर्शन, सभा/सम्मेलन र विरोध कार्यक्रमको नाउँमा यो सडक प्रायः राजनीतिक कार्यकर्ताले ढपक्कै ढाकिएको हुन्छ।

राष्ट्रिय सभागृहदेखि पद्मोदय उमावि मोडसम्मको झन्डै एक किलोमिटर यो सडक राजनीतिक दलले कार्यक्रम गर्ने थलो बनेको छ। यो क्षेत्र विद्यार्थी क्षेत्र पनि हो। यहाँ देशकै चर्चित आरआर क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस तथा वाल्मीकि क्याम्पस रहेका छन्। राजनीतिक दलका नेता तथा कार्यकर्तालाई सभा–सम्मेलन, प्रदर्शन सम्पन्न भए पुग्ला तर त्यो सडक भएर यात्रा गर्ने सवारीसाधन तथा सर्वसाधारणले भने सास्ती खेप्दै आएका छन्।

विविध सभा–सम्मेलनका चलिरहेका बेला यो सडक भएर निजी तथा सार्वजनिक सवारीसाधन चल्न समेत पाउँदैनन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यो सडक हुँदै पुरानो बसपार्क–गौशाला, चावहिल, जोरपाटी हुँदै साँखु रुटका बस चल्छन्। बत्तीसपुतली, पुरानोबानेश्वर, अनामनगर हुँदै सुन्धारा फर्कने टेम्पोले पनि यही सडक प्रयोग गर्छन्। गौशाला–रातोपुल–ज्ञानेश्वर हुँदै सुन्धारा फर्कने टेम्पो र अन्य निजी सवारी साधन पनि यही सडक भएर जान्छन्।

नेपाली कांग्रेसको १३औं महाधिवेशन उद्घाटन खुलामञ्चमा भयो। महाधिवेशनमा स्टेज नै सडकबीच नबनाइए पनि महाधिवेशनका विभिन्न कार्यक्रमले भृकुटीमण्ड सडक नै ठप्प भयो। कांग्रेसको महाधिवेशन फागुन २०–२४ गते चल्यो। त्यस्तै, नेकपा एमालेको नेतृत्वमा नौ दलले संविधान संशोधनविरुद्ध जनप्रदर्शन गर्‍यो, पुस २२ गते। यतिबेला  भृकुटीमण्डप सडकबीच स्टेज बनाएर ठप्प पारियो।

पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भयो, फागुन ६–९ सम्म। यतिबेला पनि भृकुटीमण्डप बीच सडक नै अवरुद्ध पारियो। यी हुन्, पछिल्लो समय राजनीतिक दलले भृकुटीमण्डप सडक अवरुद्ध पारेका प्रतिनिधि उदाहरण। यीबाहेक पनि यो बीचमा विभिन्न दलका विभिन्न सभा–सम्मेलन तथा प्रदर्शनी चलिरहे।

पुरानो बसपार्क–साँखु रुटका बसचालक नरेन्द्र श्रेष्ठले राजनीतिकले सडकबीच स्टेज बनाएर कार्यक्रम गर्दा धेरै सास्ती खेप्नुपरेको गुनासो गरे। 'राजनीतिक दलले बीच सडकममै स्टेज बनाएर सडक कब्जा गर्दा ट्राफिक प्रहरीले केही गर्न सक्दैन। हामीले अन्जानमा सानो गल्ती गर्दा समेत तत्कालै कारबाही हुन्छ,' उनले भने, 'सानालाई ऐन ठूलालाई चैन भनेको यही हो।'

यस्ता विभिन्न कार्यक्रमले यहाँका विश्वविद्यालयको अध्ययन–अध्यापनमा पनि असर पुर्‍याएको छ। राजनीतिक दलका महाधिवेशनमा प्रयोग गरिने उच्चस्तरका साउन्ड सिस्टमले अध्ययनमा समस्या पारेको नेपाल ल क्याम्पसमा अध्ययरत अञ्जु शर्माले बताइन्। 'सडकको मध्य भागमा स्टेज बनाउँछन्। त्यसको साउन्ड सिस्टम भने क्याम्पसतर्फ तेर्साउँछन्,' उनले भनिन्, 'चर्काे आवाजले कक्षा कोठा नै थर्कन्छ। यस्तो वातावरणमा कसरी पढ्ने?'

सडक नै कब्जा गरेर राजनीतिक सभा–सम्मेलन हुन थालेपछि सामाजिक सञ्जालमा पनि विरोधका स्वर गुन्जिन थालेको छ। मानवशास्त्री सुरेश ढकालले टि्वटमार्फत सडक कब्जा गरी कार्यक्रम गरिनु अनुपयुक्त भएको उल्लेख गरेका छन्। उनले टि्वटमा लेखेका छन्, 'सहरको मध्यभागको प्रमुख सडक कब्जा गरेर राजनीतिक दलका सभा–भेला अनुपयुक्त हो। सरकारको लाचारी पनि। पूर्वसूचनाबिना आवागमन बन्द भृकुटीमण्डप।'

काठमाडौं प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले राजनीतिक दललाई खुला सडकमा मञ्च नै बनाएर कार्यक्रम गर्न लिखित स्वीकृति नदिएको बताउँछन्। 'लिखित रूपमै कार्यक्रम गर्न त स्वीकृत दिँदैनौ तर कार्यक्रमका लागि भने सुरक्षा र ट्राफिक व्यवस्थापन गर्दै आएका छौं।' ठूला राजनीतिक दलले आयोजना गर्ने कार्यक्रम रोक्न नसकिने उनले बताए।

यता, महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी मिलन बस्नेतले राजनीतिक दलको कार्यक्रममा संवेदनशीलता अपनाउनुपर्ने भएकाले सवारीसाधनलाई 'डाइर्भसन' गर्दै आएको बताउँछन्।

उनी भन्छन्, 'राजनीतिक सभा–सम्मेलनमा सानो कुरामा समेत उत्तेजना हुने गर्छ। त्यसैले सवारीसाधनलाई अन्य सडकबाट पठाउँछौं।'

प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार नै महानगरीय ट्राफिक महाशाखाले ट्राफिक व्यवस्थापन गर्ने गर्छ।

आखिर किन सडकमा स्टेज बनाउँछन्?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले बाटो नै छेकेर राजनीतिक कार्यक्रम गर्नु उचित नभएको बताउँछन्। 'जनतालाई नै दुःख दिएर राजनीतिक कार्यक्रम गर्नुहुँदैन,' उनले भने, 'सभा–सम्मेलनलाई सडकभन्दा अन्यत्र गर्दा राम्रो हुन्छ।'

उनले महाधिवेशनको उद्घाटनसत्र खुला मञ्चमा र बन्दसत्र भृकुटीमण्डपमा गरेको स्विर्कार्दै भने, 'महाधिवेशन साउने भेलजस्तै हो। हामीले सडक अवरुद्ध गरेका होइनौं। शुभचिन्तक तथा शुभेच्छुकको भीडले भएको होला।'

नेकपा एमालेसचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले सार्वजनिक कार्यक्रम गर्ने खुलामञ्च नभएकाले सडकमा कार्यक्रम गर्नुपरेको बताए। 'सडकममै कार्यक्रम गर्ने हाम्रो रहर होइन। विकल्प नभएको हो,' उनले भने, 'खुलामञ्चमा बसपार्क बनाइएको छ। त्यसैले सवारीको कम चाप हुने प्रदर्शनी मार्गको सडक रोजेका हौं।'

सरकारले राजनीतिक दलको कार्यक्रम गर्न छुट्टै खुलामञ्चको व्यवस्थापन गर्नुपर्ने उनले बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले पनि खुलामञ्चकै अभावले सडकमा कार्यक्रम गर्नुपरेको बताए। 'पहिला सार्वजनिक कार्यक्रम गर्ने खुलामञ्च थियो। अहिले बसपार्क बनाएर साँगुरो भयो,' उनले भने, 'विकल्प नभएरै भृकुटीमण्डप सडकमा कार्यक्रम गरेका हौं।'

प्रकाशित: १७ फाल्गुन २०७३ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App