७ वैशाख २०८१ शुक्रबार
समाज

धुवाँले ह्वात्तै बढाउँछ प्रदूषण

काठमाडौं- आँगन, सडक वा घरवरपर फोहर डढाउने गर्नुहुन्छ? होसियार रहनुस्, त्यसो गर्दा तपार्इंवरपरको प्रदूषणको मात्रा ह्वात्तै बढ्छ। धुवाँले वातावरणमा कुन हदले प्रदूषण बढाउँदो रहेछ भन्ने हालै गरिएको एक अध्ययनले डरलाग्दो तथ्यांक दिएको हो।

राजधानी उपत्यकाको वातावरण स्वतन्त्र अनुगमन गर्दै आएका व्यक्तिहरूको स्वतन्त्र सञ्जाल दृष्टि, काठमाडौंले उपत्यकाका बल्खु, एकान्तकुना, कंलकी, पुतलीसडक, बौद्ध, कोटेश्वरलगायत १२ ठाउँमा प्रदूषणमापक मेसिन राखेर गरेको अनुसन्धनले धुवाँका कारण प्रदूषण ह्वात्तै बढ्ने देखाएको हो।

तथ्यांकअनुसार शिवरात्रिको अघिल्लो दिन बिहीबार बेलुका ८ बजेको समयमा प्रदूषण मापन सूचक ५८ (माइक्रोग्राम प्रतिघनमिटर) थियो तर शिवरात्रिको साँझ शुक्रबार त्यही समय प्रदूषण सूचक बढेर १ सय २६ पुग्यो। यसको कारण शिवरात्रिका दिन उपत्यकाका धेरै ठाउँमा शिवधुनीका नाउँमा दाउरा बालिँदा धुवाँ उत्सर्जन हुनु हो।

यसबाट प्रस्ट हुन्छ उपत्यकामा प्रदूषणको प्रमुख कारणमध्ये एक देखिन्छ– धुवाँ। अघिपछि सवारीसाधनबाट निस्कने धुवाँले बढाउने प्रदूषणको मात्रा शिवरात्रिका दिन दाउरा बाल्दा निस्कने धुवाँबाट थप बढेको भेटियो।

‘शुक्रबार साँझ प्रदूषणसूचक अघिल्ला दिनको भन्दा ह्वात्तै बढेको पाइयो’, दृष्टि समूहका एक सदस्य अजय श्रेष्ठले भने, ‘यसरी प्रदूषण बढ्नुको कारण भने धुवाँ रहेको अनुमान गर्न सकिन्छ।’ श्रेष्ठका अनुसार शिवरात्रिको साँझ उपत्यकाका अधिकांश टोल र घरमा आगो बालिन्छ।

‘बिहीबार दिउँसो १ देखि बेलुका ९ बजेसम्मको सूचक हेर्दा २६–६३ सम्म छ। त्यसैगरी शनिबार १ देखि ९ बजेसम्मको ५७–७६ सम्म छ तर शुक्रबारको १ देखि ९ बजेसम्मको सूचक ३२–१२६ सम्म छ’, श्रेष्ठले भने, ‘यो तथ्यांक र मौसमको अवस्था नियाल्दा शिवरात्रिको बेलुका बालेको आगोका कारण प्रदूषण बढेको अनुमान गर्न सकिन्छ।’  तथ्यांकले शिवरात्रिमा आगो बाल्नु नहुने रहेछ भन्ने भन्दा पनि घरवरपर निस्कने फोहोर बाल्नु नहुने रहेछ भन्ने देखाएको उनले बताए। घरवरपर आगो बाल्दा स्वास्थ्यमा गम्भीर असर पुग्नेसमेत उनको भनाइ छ।

वातावरण मन्त्रालय वातावरण विभागको अनुसार धुवाँमा २.५ पिए र यसभन्दा पनि सानो आकारका कण हुन्छन्। यस्ता कणले स्वास्थ्यलाई सबैभन्दा बढी असर गर्छ। ‘धुवाँमा सानासाना आकारका कण हुने गर्छन्’, वातावरण विभाग प्रदूषण शाखाका शंकरप्रसाद पौडेलले भने, ‘२.५ पिएमभन्दा साना कण भने सिधै फोक्सोमा पुग्ने गर्छन्।’

उपत्यकामा भएको धुलो भन्दा धुवाँको असरले स्वास्थ्यलाई गम्भीर असर पार्ने पौडेलले बताए। उपत्यकामा भएको प्रदूषणका कारण धुवाँ नै बढी रहेको देखिएको वातावरण विभागका पौडेलले जानकारी दिए। विभागका अनुसार गाडीको धुवाँको कारण सबैभन्दा बढी प्रदूषण हुने गरेको छ। गाडीको धुवाँले ३८ प्रतिशत, सडकको धुलोले २५ प्रतिशत हुने गरेको छ।

त्यसैगरी फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुने गरेको छ।

सरकारले उपत्यकाको प्रदूषण सूचक ४० (माइक्रोग्राम प्रतिघनमिटर) सम्म हुनुलाई ठिकै मानेको छ। त्यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड सूचक २५ रहेको छ। तर, उपत्यकाको सूचक भने निकै माथि रहेको तथ्यांकले देखाउँछ।

‘अधिकांश समय उपत्यकाको प्रदूषण मापदण्ड बाहिर रहेको देखिन्छ’, दृष्टि काठमाडौंका अर्का सदस्य शिशिर शर्माले नागरिकसँग भने, 'धुवाँ, धुलोका कारण प्रदूषण घट्न सकेको छैन।’

बिहान बढी प्रदूषण

बिहानको समय अत्यधिक प्रदूषण हुने गरेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार सबैभन्दा बढी प्रदूषण बिहान ५ देखि १२ बजे मध्याह्नसम्म हुन्छ। सूचक ७६ देखि एक सय ५० सम्म हुनुलाई अति प्रदूषित भएको मानिन्छ। यस्तो अति प्रदूषित १२ बजेअघि र बेलुका ६ बजेपछि हुने तथ्यांकमा देखिन्छ। यो समय कुनै प्रकारको खेलकुद, व्यायाम नगर्न विज्ञले सुझाव दिँदै आएका छन्। प्रदूषणको सूचक एक सय ५० भन्दा माथि हुनुलाई खतराजनक मानिन्छ। बिहानको समयमा सूचक भने एक सय ५० भन्दा माथि नै देखिने गरेको छ।

बिहानको समयमा फोहोर जलाउन आगो बाल्ने हुँदा पनि प्रदूषण बढेको अनुमान गरिन्छ। दृष्टि, काठमाडौंका अनुसार उपत्यकाको प्रदूषण सूचक ४ सयसम्म पुगेको तथ्यांक छ।

प्रकाशित: १७ फाल्गुन २०७३ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App