coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

छिमेकी जाँगरले सस्तियो तरकारी

काठमाडौं- राजधानीमा तरकारीको भाउ पाँच वर्षयताकै सस्तो भएको छ। भारतमा तरकारी उत्पादन बढेर सस्तोमा धेरै आयात हुँदा भाउ स्वात्तै घटेको हो। गोलभेंडा, काउली, आलु, बन्दा, प्याजलगायतको मूल्य निकै तल झरेको छ। महँगीको चपेटामा परेका उपत्यकाका उपभोक्तालाई तरकारीको मूल्यले राहत मिलेको छ। नेपाली किसान भने तरकारी सस्तिएपछि लागत उठाउनै मुस्किल परेको बताउँछन्।

तरकारीको भाउ करिब पाँच वर्षयताकै सस्तो भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ। 'यो सिजनमा तरकारी विगत ४–५ वर्षयताकै सस्तो भएको छ', महासंघका अध्यक्ष खोमप्रसाद घिमिरले भने, 'यहाँ उत्पादन वृद्धि र भारतबाट धेरै तरकारी आएकाले सस्तिएको हो।' 

भारतमा उत्पादन बढेर धेरै आयात हुँदा बजारमा तरकारीको भाउ पाँच वर्षयताकै सस्तो।

हावापानी र मौसम राम्रो भएकाले यहाँ पनि तरकारी उत्पादन धेरै भएको किसान बताउँछन्।

विगतमा पाउकै १५–२० रुपैयाँ पर्ने तरकारी अहिले किलोकै १८–२० रुपैयाँमा पाइन्छ। कालीमाटी तरकारी बजारमा सोमबार आलु किलोको १३ रुपैयाँ, बन्दा ११ रुपैयाँ किलो, गोलभेंडा १८ रुपैयाँ, काउली तराईको १२ रुपैयाँ, प्याज १८, मुला ११ रुपैयाँ किलोमा बिक्री भएको छ। गत महिना ३३ रुपैयाँमा बिक्री भएको गोलभेंडाको मूल्य घटेर १८ रुपैयाँमा झरेको छ। काउलीको मूल्य करिब आधा घटेको छ। ३४ रुपैयाँ किलोको काउली अहिले १२ रुपैयाँमा बिक्री भएको छ।

गत असोज–कात्तिकको तुलनामा ८० प्रतिशतसम्म सस्तोमा तरकारी बिक्री भइरहेको छ। अघिल्लो महिनासँग तुलना गर्दा पनि निकै सस्तिएको छ। काउलीको मूल्य करिब आधा घटेको छ। भारतबाट आयात बढेपछि यहाँ तरकारीको भाउ घटेको कालीमाटी तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए। 'भारतमा उत्पादन बढेर सप्लाई धेरै भएपछि तरकारी सस्तिएको हो', पौडेलले भने, 'विगतको तुलनामा आयात बढेर ४० प्रतिशत पुगेको छ।'

उपत्यकाका उपभोक्ताले प्रयोग गर्ने सय किलो तरकारीमध्ये ४० किलो भारतबाट आयात हुन्छ। चालु आर्थिक वर्ष ०७३/७४ को पहिलो सात महिनामा करिब पौने १३ अर्ब रुपैयाँको तरकारी र गेडागुडी आयात भएको भन्सार विभागले जनाएको छ। भारतमा उत्पादन धेरै भएपछि आलु, काउली, प्याज, बन्दालगायत हरियो तरकारी आयात भइरहेको छ।

उपत्यकामा खपत हुने तरकारीको करिब ४० प्रतिशत भारतबाट आउने कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। विगतको तुलनामा आयात करिब ६ प्रतिशतले बढेको छ। 'विगतमा यहाँको उत्पादनले ६६ प्रतिशत माग धानिरहेको थियो', पौडेलले भने, 'अहिलेे ४० प्रतिशत विदेशबाट आउँछ।'

उपत्यकामा दैनिक ८ सय टन तरकारी खपत हुने गरेको छ। त्यसमा करिब सवा तीन सय टन भारतबाट आइरहेको छ भने पौने पाँच सय टन यहाँका किसानको उत्पादन छ। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुरको दामन लगायत क्षेत्रमा उत्पादित तरकारी उपत्यकाको कालीमाटी तरकारी बजार, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेल लगायत तरकारी बजार खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्ने गरेको छ।

कालीमाटीमा मात्रै दैनिक करिब साढे दुई करोडको व्यापार हुने गरेको निर्देशक पौडेलले बताए। 'करिब ६ सय व्यापारीले कालीमाटीमा व्यापार गर्छन्,' पौडेलले भने, 'उपत्यकामा खपत हुने अधिकांश तरकारी कालीमाटीबाटै जान्छ।'

गत असोजमा तरकारीको भाउ २ सय प्रतिशतसम्म बढेको थियो। त्यतिबेला काउली खुल्ला बजारमा एक सय ५० रुपैयाँ किलो, आलु धार्नीको एक सय १५ रुपैयाँ, घिउसिमी किलोको एक सय २५, खुर्सानी हरियो ८५ रुपैयाँ किलो पुगेको थियो।

तरकारी सस्तिएपछि किसानले भने उत्पादन लागत नउठेको गुनासो गर्न थालेका छन्। भारतमा व्यावसायिक रुपमा ठूलो परिणाममा उत्पादन हुने भएकाले कम नाफा राखेर बिक्री गर्ने गरेका छन्। नेपाली किसानलाई एकैपटक धेरै नाफा लिनुपर्ने प्रवृत्तिले मूल्य घट्दा किसान निराश हुने गरेको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले बताए। 'व्यावसायिक किसानको संख्या थोरै हुँदा मूल्य घट्नासाथ किसान आत्तिन्छन्,' सापकोटाले भने, 'बजार सस्तिए पनि उत्पादन लागतका आधारमा किसानलाई घाटा छैन।'

मूल्य निकै सस्तो हुँदा किसान मर्कामा परेको गुनासो छ। भारतीय तरकारीले यहाँको बजार मूल्य प्रभावित भएको राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष उद्धव अधिकारीले बताए।

'आयात बढी भएर बजार सस्तो हुँदा किसानको लागत उठ्दैन', अधिकारीले भने, 'यसले सानाका किसान मारमा पर्छन्।' यस्तो समस्या अन्त्य गर्न सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने बताए। 'यस्तै समस्याले केही समयअघि चितवनमा किसानले फर्सी पुरेका थिए,' अधिकारीले भने, 'उत्पादनको बजार सुनिश्चित गर्न उत्पादन लागतमा अनुदान दिनुपर्छ।'

प्रकाशित: १७ फाल्गुन २०७३ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App