८ वैशाख २०८१ शनिबार
राजनीति

जनतालाई भोट हाल्न हतार, नेतालाई उम्मेदवार बन्न

जाजरकोट- भेरी मालिका नगरपालिका ९ भुरका धनवहादुर नेपालीलाइ  २०५४ सालको स्थानीय चुनावमा भोट  हालेको त्यति गतिलो सम्झना छैन।  भर्खरै सरकारले  स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि भने उनी फेरी  गाउँको  नेता चुन्न पाइने भयो भन्दै उत्साहि भएका छन्। 

  'वैशाख ३१ मै चुनाव भए आफ्नो धोको पुरा हुने थियो',  ५४ वर्षीय  नेपालीले भने ।  धनवहादुर जस्तै   नायकवाडा १ की ७६ वर्षीय नानीकला सिंह पनि लामो समय पछि भोट हाल्ने अवसर आउन लागेकोमा  मन खुसी भएको बताउँछिन्।

 'अव त डाँडामाथिको घाम जस्तै भएँ , भनेकै समयमा चुनाव भएको  भए  मनले रोजेको  नेता छान्न  एउटा भोट हाल्ने थिएँ', उनले भनिन् ।  धनवहादुर र नानी कला मात्र होइन  सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि  स्थानीय सर्वसाधारणहरु भोट हाल्न निकै उत्साहि देखिएका छन्।

 जिल्लाका गाउँ देखि सदरमुकाम  सवै क्षेत्रका  स्थानीयहरु तोकिएकै मितिमा चुनाव भए आफुहरुको स्थानीय नेता चुन्ने धोको  छिटटै पुरा हुने बताउँछन्।  युवा प्रौढ वृद्धवृद्धा सवैमा  चुनावको मिति तोकिएपछि निकै उत्साह थपिएको वीरेन्द्र ऐस्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गोरखवहादुर सिंहले बताए।

 उनले दुर्गम गाउँमा पनि स्थानीयहरु चुनावका बारेमा  सक्रिय बहस र छलफल गर्न थालेको  बताए। लामो समय स्थानीय निकायको नेतृत्वमा पुग्ने  अभ्यास गर्न नपाएका  राजनैतिक दलका कार्यकर्ताहरु  निर्वाचनको मिति घोषणा संगै  उत्साहित बनेका छन्।

 १९ वर्ष पछि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि स्थानीयहरु  भोट हाल्न आतुर देखिएका छन् भने जिल्ला स्थित क्रियाशील राजनैतिक दलका नेता कार्यकर्ताहरु  विभिन्न पदहरुमा आफ्नो उम्मेदवारीको रहर पोख्न  हतारिन थालेका छन्। 

औपचारिक रुपमा दलहरुले उम्मेदवारी छनोटको विषयलाई  छलफलमा नल्याएपनि नेता कार्यकर्ताहरु भने   स्थानीय जनता , अनौपचारिक भेला र वैठकहरुमा  स्थानीय निर्वाचनमा उम्मेदवार हुने धोको पोख्न थालेका छन्।  

जिल्लामा सबै भन्दा बढी चर्चामा रहेको भेरी नगरपालिकाको प्रमुखका लागि  एउटै पार्टीका धेरैको आकांक्षा देखिएको छ । उक्त नगरपालिकाको प्रमुखका लागि  काँग्रेसबाट लिलावहादुर शाह, सनतकुमार कार्की, ज्ञानीप्रसाद शर्मा लगाएतले इच्छा देखाएका छन् ।  त्यस्तै एमालेवाट  कमानवहादुर खड्का, मुकुन्द शर्मा, गोपाल वटाला, शिवप्रसाद शर्मा,  र त्यस्तैगरि  माओवादी केन्द्रवाट पार्वती विक, ढकवीर राना, पुर्णदेव शर्मा, अमर सिंह राठौर लगाएतले नगरपालिकाको उम्मेदवार बन्ने इच्छा  देखाउन थालेका छन्।

 त्यस्तै  जिल्लाको  छेडागाड नगरपालिका र नलसिंहगाड त्रिवेणी नगरपालिकामा पनि   उम्मेदवार वन्नका लागि  दलका नेता कार्यकर्ताहरु अहिले देखि नै आफ्ना आफ्ना पक्षका नेताहरुसँग लविङ गर्न  लागि परेको  बताइएको छ।  त्यस्तै कुसे गाउँ पालिका, वारेकोट  विषेश गाउँ पालिका, चुनीचाँदे विशेष गाउँ पालिका,  शिवालय गाउँपालिकामा   दलका नेता कार्यकर्ताहरु उम्मेदवार वन्न  सक्रिय देखिएका छन्।

 स्थानीय र संसदीय निर्वाचनका बेला सँधै जसो  नेपाली कांग्रेस, एमाले  माओवादी र  राप्रपाबीचमा प्रतिष्पर्धा हुने  गरेको जाजरकोटमा  अहिले  प्रमुख तीनदलका कार्यकर्ताहरु चुनावी अभियानका साथ गाउँ पस्न कस्सिएका छन् ।  आफना आफना नगरपालिका र गाउँपालिकाहरुमा  विभिन्न पदका लागि   पार्टी नेतृत्व संग लविङ गर्न उनीहरुको व्यस्तता वढ्न थालेको छ।

 नयाँ संविधान अनुसार  तीन नगरपालिका र चार गाउँपालिका सिफारिस भएको जाजरकोटमा पदहरु धेरै भएपनि गाउँ पालिका र नगरपालिकाका  प्रमुख र उपप्रमुख पदमा  बढी  नेताहरुको आकांक्षा देखिन्छ।  २०५४ सालमा भएको स्थानीय निर्वाचनमा  एमाले पहिलो भएको थियो भने नेपाली कांग्रेस दोस्रो भएको थियो । २०४८ सालमा भने नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो भएको थियो।

प्रकाशित: १६ फाल्गुन २०७३ १०:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App