४ वैशाख २०८१ मंगलबार
राजनीति

संविधान संशोधन नभएसम्म निर्वाचन असम्भव: डा भट्टराई

रुकुम-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन्।

संविधान संशोधन गरेर मधेसी दलले उठाएका मागलाई सम्बोधन गरेमात्र तीनवटै तहको चुनाव गर्न सकिने उनले बताए।

पार्टी प्रशिक्षणका लागि रुकुम पुगेका भट्टराईले आज काठमाडौँ जानुअघि सल्ले विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनलाई निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए। अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने कुरामा उनले जोड दिए।

विमानस्थलमा बोल्दै डा भट्टराईले अहिलेको शासकीय स्वरुपसमेत ठीक नभएको र संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताए।

शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उहाँको भनाइ थियो । उनले नयाँ शक्ति नेपालले अघि सारेको आर्थिक क्रान्तिको एजेन्डामार्फत अब देशको आर्थिक समृद्धिलाई पूरा गर्न राज्यका सबै शक्ति मिलेर देशमा औद्योगिक क्रान्ति सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए।

नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुङ्गोमा पुग्ने उनले बताए। रासस

 

प्रकाशित: १६ फाल्गुन २०७३ ०९:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App