७ वैशाख २०८१ शुक्रबार
अर्थ

मार्जिन कलको हैरानी खेप्दै लगानीकर्ता

काठमाडौं- सेयरको मूल्य घट्ने क्रमसँगै सेयर धितोले नपुग्ने भएपछि बैंक तथा वित्तीय संस्थाले अपुग रकम वा नपुग रकम बराबरको सेयर थप्न लगानीकर्तालाई बारम्बार ताकेता गर्न थालेका छन्। लगानीकर्ताको धितोले नपुग्ने भएपछि उनीहरुले अपुग रकमको लागि मार्जिन कल गर्ने गर्छन्। यस्तो मार्जिन कलले लगानीकर्ता हैरानी खेप्दै आएका छन्।

सेयर बजार ओरालो लागेसँगै मार्जिन कल बढेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापतिले बताए। 'सेयर बजार ओरालो लागेपछि बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्दै आएका छन्,' उनले भने, 'सेयर बजार निरन्तर घटेपछि मार्जिन कल बढ्ने गर्छ।' लगानीयोग्य पुँजीको अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले सेयर धितोमा ऋण लिन नसकिरहेको उनको भनाइ छ।

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक २४.४५ बिन्दुले झरेर १३१३.०१ मा आइपुगेको छ। पुँजीबजार ओरालो लागेसँगै मार्जिन कल बढेको लगानीकर्ताको भनाइ छ।

बैंक तथा वित्तीय संस्थाले सेयर धितो लिएर प्रदान गर्ने कर्जा (मार्जिन लेन्डिङ)मा सेयर मूल्य घटेका कारण जोखिम बढेपछि मार्जिन कलको संख्या बढेको हो। बजारमा सेयरको मूल्य घट्ने क्रमसँगै धितोले नपुग्ने भएपछि बैंक तथा वित्तीय संस्थाले अपुग रकमको लागि मार्जिन कल गर्न थालेका हुन्। सेयर मूल्यमा गिरावट आउने क्रम बढेसँगै ऋणीहरु मार्जिन कलको चपेटामा परेको गुनासो गर्ने क्रम बढेको छ। 'बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याजदर बढाएका छन्,' ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सिजापतिले भने, 'अहिले मार्जिन कल र उच्च ब्याजदर दुवैको मारमा लगानीकर्ता परेका छन्।'

सेयर बजार बढ्ने समय भए पनि घट्दै गएकोले तत्काल सेयर बिक्री गर्ने अवस्था नरहेको र यस्तो समयमा झन् मार्जिन कल आउने क्रम बढेपछि आफूहरु मारमा परेको ऋणी बताउँछन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विगतमा सेयर मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा दिने गरेकोमा पछिल्लो समय यसलाई घटाए बजार मूल्यको ५० प्रतिशतसम्म मात्र दिने व्यवस्था गरेको छ।

बैंकहरुले एकातिर मार्जिन कल गर्दै आएका छन् भने अर्कोतिर कर्जामा कडाइ गरेपछि सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्न थालेको लगानीकर्ताको भनाइ छ।  लगानीयोग्य रकम अभाव भएपछि बैंक तथा वित्तीय संस्थाले यतिबेला सेयर कर्जा बन्द गरेका छन्। 'थप कर्जा पाउने अवस्था छैन,' सिजापतिले भने, 'कर्जा नपाएपछि धेरैको लगानी गर्ने क्षमतामा ह्रास आएको छ।'

मार्जिन तिर्नका लागि लगानीकर्ताले सेयर पनि बिक्री गर्नुपर्ने बाध्यता छ। यसले सेयर बजारलाई थप ओरालो लाग्न मद्दत गरेको छ। 'आफूसँग नगद भएका केही लगानीकर्ताले मात्र सेयर खरिद गरिरहेका छन्,' उनले भने, 'पुराना र अनुभवी लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन्।'

चालु आर्थिक वर्षको दोस्रो सातादेखि नेप्से निरन्तर ओर्लिरहेको छ। साउन १२ गते कीर्तिमानी १८८१.४५ अंकमा पुगेको नेप्से ओरालो लाग्दै करिब १३ सय नजिक आइपुगेको छ। करिब सात महिनाको अवधिमा सढे ६ सय बिन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ।

सेयर बजार निरन्तर घट्नुको कारण उनीहरुले बैंकको ब्याजदर बढ्नु र मार्जिन कललाई मानेका छन्। ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन्। बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन्। सेयरमा लगानी गर्नुभन्दा बैंकको ब्याजबाट बढी फाइदा हुने देखेर उनीहरु त्यता आकर्षित भएका हुन्।

बैंकबाट सस्तो र सजिलैसँग सेयर धितो राखेर कर्जा पाउन छाडेपछि बजार घट्न थालेको हो। 'पहिला ७–८ प्रतिशतमै बैंकले सेयर धितो राखेर कर्जा दिन्थे,' एक विश्लेषकले भने, 'अहिले मुद्दती खातामै १२ प्रतिशत ब्याज दिन थालेका छन्, त्यति महँगो दरमा लिएको रकम कति ब्याजदरमा ऋण दिने र लगानीकर्ताले पनि उच्च ब्याजदरमा लिएको ऋण सेयर बजारमा लगानी गर्दा प्रतिफल नआउने भएकाले पनि सेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो।' अहिले बैंकहरुले सेयर बजारमा ऋण लगानी गर्नै छाडेको पनि उनको भनाइ छ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी बढी गर्न थालेको भन्दै बैंकलाई कस्न थालेपछि सेयर बजारमा ऋण प्रवाह गर्न छाडेको हुन्। यसले गर्दा पनि सेयर बजारमा उच्च गिरावट आएको हो।

अहिलेको समयलाई लगानीकर्ता 'अफ सिजन' भन्ने गर्छन्। गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश वितरण गरिसकेको र चालु आवको लाभांश पाउन अर्को वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले सेयर बेच्न थालेका हुन्। फागुनसम्म सेयर घट्ने परम्परा यो वर्ष पनि कायम भएकाले लगानी सेयर बजारबाट बाहिरिएको ब्रोकरहरू बताउँछन्।

बजार घट्ने क्रममै रहिरहँदा उनीहरूले थप लगानी गरेका छैनन्। नेप्से सूचक निरन्तर 'बियरिस ट्रेन्ड'मा रहँदा धेरै लगानीकर्ताले सेयर बेच्ने मनस्थिति बनाएको सेयर विश्लेषक बताउँछन्। यही टे्रन्ड कायम रहे सेयर बजार अझै ओरालो लाग्ने उनीहरुको भनाइ छ।

आइतबार कुल १३२ कम्पनीको २५ करोड ६९ लाख रूपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ। सूचीकृत सबै उपसमूहका परिसूचक घटेका छन्। सबैभन्दा धेरै बिमा समूहको सूचक १६८.८६ बिन्दुले तल झरेको छ। वाणिज्य बैंक समूहको सूचक १८.१८ बिन्दुले ओर्लिएको छ। कारोबार रकममा भने कुमारी बैंकले अग्रता लिएको छ। कुमारीको तीन करोड २४ लाख रूपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ।

प्रकाशित: १६ फाल्गुन २०७३ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App