७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

फोनले गर्छ तपाईंको जासुसी

क्रिसमसको बेला, मैले आफन्तलाई उनलाई मन पर्ने एउटा ज्याकेट उपहार दिनेबारे सोचेँ। पसलमा गएर हेर्दा एउटा रातो रङको ज्याकेट र त्यसमा जडेको फूल मन पर्‍यो। मैले त्यो ज्याकेट मन पर्ला कि नपर्ला भनेर फोन गरेर सोधेँ। अर्को दिन मैले मेरो फेसबुक अकाउन्टमा ठ्याक्कै त्यही ज्याकेट विज्ञापनका रुपमा देखेँ। यो देखेर म चकित परेँ। मैले यो कुरा केही साथीलाई सुनाएँ र तिनले पनि यस्तै मिल्दोजुल्दो घटना सुनाए।

गएको वर्ष अमेरिकी टेलिभिजन एनबिसीफोरआईले फेसबुकले तपाईंका कुरा सुनिरहेको त छैन भनी एउटा परीक्षण गर्‍यो। परीक्षणका लागि युनिभर्सिटी अफ साउथ फ्लोरिडाका मास कम्युनिकेसन्सका प्राध्यापक केली बर्न्सलाई नियुक्त गर्‍यो। केलीले फोनमा फेसबुक एप चलाउँदा उनले आफू अफ्रिकी सफारी गर्न रुचाउने र त्यहाँ जानु उत्साहजनक भएको लेखिन्। एक मिनेटभित्रै उनको फेसबुक फिडमा सवारीसम्बन्धी समाचार, टिप्पणी आदि देखिन थाल्यो। यो कुरा अखबारले निकै महŒवका साथ लेखे, प्रसारण गरे।

म आफैँले पनि नयाँ प्रयोग गर्नेबारे सोचेँ। एउटा साइबर सेक्युरिटी कम्पनीका परीक्षकसँग सल्लाह गरेर नयाँ मोबाल फोन लिएँ र नयाँ सिम कार्ड हालेँ। त्यसमा मैले नयाँ प्रोफाइल बनाएँ किनभने पुरानो प्रोफाइल अथवा सर्च हिस्ट्री यसमा नजोडियोस्। मैले बेग्लै नाउँको जिमेल, फेसबुक आइडि बनाएँ। यसपछि मैले फोनको माइक्रोफोन अन गरेर यत्तिकै कुरा गर्न थालेँ।

अनि मैले ज्याकेटको कुरा गरेँ। भरे त त्यही रातो ज्याकेट देखिन थाल्यो। आइफोन र म्याक कम्प्युटरमा पनि त्यही रातो ज्याकेट सुरुमा देखियो।

यसपछि मैले ड्रोन खोजेँ, सफ्टड्रिंक खोजेँ। ड्रोन त सजिलै देखियो तर निकै कमले सुनेको सफ्ट ड्रिक ‘ड्राकोला’का बारेमा कैयौँ पटक कुराकानी गर्दा र खोज्दा पनि त्यसबारे फिटिक्कै केही सूचना देखाएन।

गएको वर्ष फेसबुकले यस्ता कुराको आशंका मेट्न कम्पनीले विज्ञप्ति नै जारी गर्‍यो, ‘फेसबुकले तपाईंका कुरा सुन्दैन।’

गुगल प्रवक्ता एमिली क्लार्कले पनि माइक्रोफोनले कुनै डाटा संकलन नगर्ने बताइन् तर ‘ओके गुगल’ भनिसकेपछिका डाटा चाहिँ रेकर्ड गर्ने गरेको जनाइन्। उनले आफूसँग हरेक व्यक्तिको जम्मा भएको जानकारी अन्य कसैलाई नबेच्ने पनि बताइन्। ‘ती कुरा त तपाईंका रुचिका विषय पत्ता लगाउन आफूले मात्र प्रयोग गर्ने’ उनको भनाइ थियो।

पेन टेस्ट पार्टनर नामक संस्थाका डेभिड लज र केन मुनरोले गरेको एउटा परीक्षणमा चाहिँ फोनमा माइक्रोफोन अन गरिएको अवस्थामा हरेक कुराकानी बेग्लै सर्भरमा पुग्ने गरेको छ। साइनेक साइबर सेक्युरिटी कम्पनीका शोधकर्ता प्याटि्रक वार्डलले हालै एउटा ‘ओभरसाइट’ नामक एप बनाए। यसको काम नै कसैले तपाईंको आवाज रेकर्ड गर्न थाल्यो वा त्यसको दुरुपयोग हुन आँट्यो भने तपाईंलाई जानकारी दिन्छ। उनलाई मैले सोधेँ, ‘फेसबुक, गुगल र इन्स्टाग्रामले फोनको माइकमार्फत् तपाईंका हरेक कुरा सुन्छन्?’ उनको जवाफ थियो, ‘केही एपले यस्तो गर्न सक्छन् र त्यो तपाईंका लागि खतरनाक छन्।’

सन् २०१५ मा एउटा अखबारले सामसङको स्मार्ट टीभीले तपाईंको कुरा सुन्न सक्ने खबर छापेको थियो। सामसङको निजत्वबारेको नीतिमा लेखिएको छ, ‘तपाईंका कुराकानीमा सम्वेदनशील जानकारी हुन सक्छ र ती संकलन गरिएका डाटा एकमुष्ठ रुपमा तेस्रो पक्षसम्म पुग्न सक्छ।’ उसले उपभोक्ताको सहमतिमा मात्र तेस्रो पक्षसम्म डाटा पुग्ने बताएको थियो।

एन्ड्रोइड र आइओएस एपमा केही फरक छ। आइओएसले माइक्रोफोन प्रयोग गर्नुपर्ने अवस्थामा प्रयोगकर्तासँग स्वीकृति माग्छ तर एन्ड्रोइडले त्यस्तो गर्दैन। एन्ड्रोइडले कुनै एप इन्स्टल गर्नेबेला नै त्यो स्वीकृति लिइसकेको हुन्छ। धेरैले ओके गर्नुअघि ती सबै कुरा पढ्दैनन्।

यसको उपचार के छ त? आइफोनको सेटिङमा जानुस् र प्राइभेसीमा गई माइक्रोफोन अफ गर्नुस्। एन्ड्रोइडमा अलि बढी मिहिनेत गर्नुपर्छ। सेटिङमा जानुस्, प्राइभेसीमा छिर्नुस् र त्यहाँका हरेक एपमा दिइएका बेग्लाबेग्लै अनुमतिअनुसार परिवर्तन गर्नुस्।

अन्ततः के भन्न सकिन्छ भने अधिकांश एप्सले मोबाइलमार्फत् हाम्रा कुरा सुनिरहेका छन्। त्यसैले धेरैजसो एप चलाउनुअघि नै माइक्रोफोन प्रयोग गर्न स्वीकृति दिनुअघि सोच्नुस्।

बिबिसीमा किरोन वार्लीको आलेख

प्रकाशित: १६ फाल्गुन २०७३ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App