४ वैशाख २०८१ मंगलबार
समाज

मुख्य सचिवको प्रश्न – डाक्टर सचिव भएपछि के उत्पात् भयो?

काठमाडौं- स्वास्थ्य सेवाको प्रशासनिक बागडोर कसको हातमा हुनुपर्छ? डाक्टर वा प्रशासक? स्वास्थ्यलाई छुट्टै सेवाका रूपमा मान्यता दिने गरी ऐन लागू भएको २० वर्ष पुगिसक्दा यो प्रश्न औचित्यहीन हुनुपर्ने हो।

विभिन्न आन्दोलनबाट डाक्टरले प्रशासनिक नेतृत्व पाएपछि पनि मन्त्रालयको अवस्थामा परिवर्तन नआएको भन्दै मुख्य सचिव सोमलाल सुवेदीले पाँचांै स्वास्थ्य सेवा दिवस समारोहमा असन्तुष्टि जनाएपछि यससम्बन्धी बहस सतहमा आएको छ।

'ह्युमानिटिज पढेका (प्रशासनतर्फ) का त मान्छे होइनन्, डाक्टर सचिव भएपछि उत्पातै हुन्छ भन्नुहुन्थ्यो', आइतबार स्वास्थ्य स्वास्थ्य सेवा दिवस कार्यक्रममा सुवेदीले भने, 'उत्पात् भइरहेकै होला'। गत वर्षको स्वास्थ्य सेवाको दिन फागुन १५ को कार्यक्रममा सहभागी हुँदा डाक्टर सचिवको माग उठेको प्रसंगबाटै उनले मन्तव्य सुरु गरेका थिए। गत वर्ष स्वास्थ्यमा प्रशासनका सचिव थिए।

स्वास्थ्यलाई छुट्टै ऐन जारी गरेर २०५३ देखि मान्यता दिए पनि चिकित्सकको पटकपटकको आन्दोलनपछि सरकारले स्वास्थ्य सेवा ऐनमा परिमार्जन गरेर २०६४ देखि स्वास्थ्यकर्मी/चिकित्सक पनि सचिव हुने बाटो खोलेको थियो। यस अवधिमा पाँच जना डाक्टरले सचिवका रूपमा प्रशासनिक नेतृत्व सम्हालिसकेका छन्।

डाक्टर सचिव भएपछि सरुवा पनि नहुने र आफ्नो समुदायप्रति बढी 'सकारात्मक' हुने भएकाले झन् अराजकता बढेको विज्ञहरू बताउँछन्। डाक्टर सचिव नहुने अवस्थामा पनि डाक्टरले नै आन्दोलन गरिदिने भएकाले पनि चिकित्सक सचिव राजनीति नेतृत्वभन्दा डाक्टरप्रति 'बफादार' हुने गरेका छन्। चिकित्सकले खटाएको ठाउँमा नजाँदा पनि चिकित्सकमाथि कारबाही गर्ने विषयमा समेत डाक्टर सचिव बाधक बन्ने गरेका छन्। जसका कारण मन्त्री र डा. सचिवबीच सधैं खटपट हुने गरेको छ।

तत्कालीन मुख्य सचिव लीलामणि पौड्यालसमेत डाक्टरले प्रशासन चलाउन नसक्ने भन्दै स्वास्थ्यमा प्रशासक र डाक्टर गरी दुई सचिवको व्यवस्था हुनुपर्ने पक्षमा थिए।

पछिल्लोपटक स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उप्रेतीले स्वास्थ्यमन्त्री गगन थापाको काममा असहयोग गरेको सार्वजनिक भइरहँदा सुवेदीले यस्तो प्रसंग झिकेका थिए। सुवेदी त्यतिमा मात्रै रोकिएनन् उनले स्वास्थ्यकर्मीमाझ रहेको अनुशासनहीनता र अटेरीतर्फ संकेत गर्दै भने, 'हामी कर्मचारीका आफ्नै मापदण्ड र आचारसंहिता छन्।'

उनले स्वास्थ्यमा आफू स्वास्थ्यसम्बन्धी कार्यक्रममा जहाँ जाँदा पनि सेवाग्राहीभन्दा सेवाप्रदायकका माग बढी सुन्ने गरेको बताए। 'जहाँ गए पनि आफूलाई केन्द्रमा राखेर सोच्नुहुन्छ', उनले स्वास्थ्यकर्मी र चिकित्सकतर्फ संकेत गर्दै भने। उनले राजनीतिक नेतृत्वले उदार बनिदिँदा छुट्टै ऐन आएसँगै स्वास्थ्यकर्मीले भटाभट बढुवा लिएको बताए।

लोकतान्त्रिक बढुवामा परेका तर शैक्षिक योग्यता नभएका स्वास्थ्यकर्मी पदअनुसारको पदस्थापनको माग गर्दै जारी राखेको अन्दोलनतर्फ संकेत गर्दै उनले भने, 'बढुवापछि जनताले के पाए, बढुवा पाएपछि इफिसेन्सी कति बढ्यो?' उनले कर्मचारीको सुरक्षाको ग्यारेन्टी भएपछि काम गर्ने सोच आउला भनेर कानुनले सोच राख्दा कर्मचारीलाई कारबाही नहुने अवस्था बनेको बताए।

स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमा अहिले देखिएका उपलब्धि एकदुई वर्षको कामले नभई १५/२० वर्षअघिदेखिकोे उपलब्धि भएको बताए।

स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले आफू प्राविधिकमात्रै कुरा गर्ने बताए। पछिल्लो समयमा मन्त्रीलाई असहयोग भइरहेको सन्दर्भमा उनले भने, 'बाटो छेकेका कुरा पनि आइरहेका छन्, मैले कहाँ कसरी बाटो छेकें आउनुपर्‍यो,' उनले भने।

सचिव उप्रेतीले स्वास्थ्य सेवामा सुधार भइरहेको र सबै निर्णय गर्ने ठाउँमा स्वास्थ्यकर्मी नहुँदा सोचेजति उपलब्धि हासिल नभएको स्वीकारे। 'राति छेकें कि दिउँसो छेकें, देखाइदिनुस्, म खुरुक्क बाटो छोडिदिन्छु,' उनले भने, 'पानी धमिल्याइदिनेहरू सक्रिय भएका छन्।'

उप्रेतीले नीति निर्माण तहमा स्वास्थ्यको मर्म बुझेको मान्छे हुनुपर्ने बताए।  स्वास्थ्य मन्त्रालयको लेखा, प्रशासनलगायतका शाखामा समेत स्वास्थ्यकर्मी हुनुपर्ने डा. उप्रेतीको भनाइ थियो। 

डा. उप्रेतीले स्वास्थ्यकर्मीले नै आन्दोलन गरेर स्वास्थ्य संस्थामा तालाबन्दी गरिरहेको सुन्नमा आएको भन्दै त्यसप्रति कठोर नीति लिने बताए। 'संविधान प्रदत्त अधिकारी रोक्न खुलेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले ताला लगाउने! मैले सुनेको यो कुरा सत्य नहोस्,' उनले भने।

प्रकाशित: १६ फाल्गुन २०७३ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App