८ वैशाख २०८१ शनिबार
राजनीति

सहमति खोज्दै नेतात्रय

काठमाडौं- सहमतीय सरकार गठनको प्रारुप तयार गर्न नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै छलफल भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार नेताहरूबीच छलफल भएको हो।

संविधान कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि भन्दै माओवादीले केही दिनयता थाले सहमतीय सरकार गठनको प्रयासमा एमाले र कांग्रेसले पनि चासो दिएको माओवादी नेताहरूले जनाएका छन्।  माओवादी कार्यालय सदस्य जनार्दन शर्माका अनुसार यतिखेर को प्रधानमन्त्री हुने भन्दा पनि विद्यमान समस्या समाधानका लागि माओवादीले राष्ट्रिय सरकार गठनमा जोड दिइरहेको छ। 'वैशाख २३ गते एमालेसँग गरिएको नौबुँदे सहमतिको स्पिरिट पनि सहमतीय सरकार गठन नै हो,' शर्माले भने, 'माओवादीको चाहना सहमतिको सरकार बन्नुपर्छ भन्ने हो।'

माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव जोगबहादुर महराका अनुसार शुक्रबार देउवा र ओलीसँग संक्षिप्त भेटघाट हुँदा राष्ट्रिय सहमति र बजेट पास गर्नेबारे कुराकानी भएको थियो। तीन नेताले मुलुकको हितका लागि सहमति सरकार आवश्यक रहेको स्वीकारे पनि नेतृत्व कसले लिने भन्नेमा विवाद रहेको स्रोतको दाबी छ।

स्रोतका अनुसार माओवादी र कांग्रेसले अहिलेको नेतृत्व फेर्नुपर्ने अडान लिँदै आएका छन् भने प्रधानमन्त्री ओली कांग्रेस अहिलेकै सरकारमा सामेल भएर राष्ट्रिय सरकार बनाउनुपर्ने अडानमा छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार बजेट पास भएपछि वर्तमान सरकारलाई राष्ट्रिय सरकार बनाउन एमालेका लागि आपत्ति छैन। 'एमालेको निर्णय पनि मुलुकमा सहमतिको सरकार आवश्यक छ भन्ने नै हो,' दाहालले भने, 'प्रधानमन्त्रीको चाहना कांग्रेस अहिलेकै सरकारमा सामेल हुनुपर्छ भन्ने छ।'

कांग्रेस स्रोतका अनुसार अधिकांश नेता वर्तमान सरकारमा सामेल हुने पक्षमा छैनन्। कांग्रेसका एक नेताले भने, 'पहिलो कुरा एमाले र कांग्रेससँगै सरकारमा सामेल हुने सम्भावना कम छ। सहमति गर्नैपरे प्रधानमन्त्री र मन्त्रिपरिषद् फेरबदल हुनुपर्छ।' यतिखेर कांग्रेसभित्र सहमतीय या बहुमतीय सरकारबारे प्रस्ट निर्णय हुन नसकेको बताइन्छ। स्रोतका अनुसार तत्काल कांग्रेसले सहमतीयभन्दा पनि बहुमतीय सरकारकै पक्षमा जोडबल गरिरहेको देखिन्छ।

कांग्रेस नेता प्रकाशशरण महत सरकार परिवर्तन गर्न कांग्रेसभन्दा पनि माओवादीलाई बढी चासो भएकाले पहिला माओवादीले सरकार छाड्नुपर्ने बताउँछन्। तर, माओवादीका अधिकांश नेता भने सरकार छाड्ने मनस्थितिमा छैनन्। माओवादीकी प्रवक्ता पम्फा भुसाल ढिलो, चाँडो जे भए पनि मुलुकमा सहमतीय सरकारको विकल्प नभएको बताउँछिन्। 'सहमतीय सरकार माओवादीका लागि होइन,' उनले भनिन्, 'मुलुकका समस्या समाधान र संविधान कार्यान्वयन गर्न सहमतीय सरकार गठन भयो भने सबैका लागि राम्रो हो।'

असार १९ गते हेडक्वार्टर बैठकले सहमतीय सरकारको आवश्यकता ठानेको माओवादीको पोलिटब्युरो बैठकले असार २३ गते पनि सोही निर्णयलाई सदर गरेको थियो। त्यसपछि माओवादी अध्यक्ष दाहालले कांग्रेसका सभापति देउवा र प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई दैनिक भेटघाट गरिरहेका छन्।  बिहीबार पोलिटब्युरो बैठक हतारहतार सकेर दाहालले देउवा र ओलीसँग भेटघाट गरेका थिए। तीन दलका शीर्षस्थ नेताबीच सहमतीय सरकारबारे छलफल हुँदै गर्दा दोस्रो तहका नेताहरूबीच पनि छलफल जारी रहेको माओवादीका एक हेडक्वार्टर सदस्यले जानकारी दिए।

प्रकाशित: २५ असार २०७३ ०१:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App