१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

युवासंघ रुपन्देही अध्यक्षको हत्यामा १२ जना संलग्न, मनोजको निर्देशनमा राजुले गरेका थिए 'सुट'

दुर्गा तिवारी

काठमाडौं- युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। मनोज पुन भन्ने मनोज बुढामगरको मुख्य योजनामा उनको हत्या गरिएको रुपन्देही प्रहरीले निष्कर्ष निकालेको छ।

२०७३ पुस ४ गते तिवारीको देवदह नगरपालिका-८ मार्गमा गोली हानी हत्या भएको थियो। प्रहरी अनुसन्धानपछि आइतबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा घटनामा संलग्न १२ को नाम किटान छ। विकास भन्ने सोमबहादुर आले र श्याम गुरुङ हत्या योजनाकार रहेको प्रहरीले जनाएको छ।

देबदह ८ स्थित कोलिया मार्गमा पुगेपछि थापाले आफ्नो मोटरसाइकल दुर्गा तिवारी चलाएको मोटरसाइकलको केही अगाडि लगेका थिए। त्यही बेला सुटरले दुर्गाप्रसाद तिवारीलाई गोली प्रहार गरेका थिए।

तिवारीलाई मोटरसाइकल चलाएर देवदह नगरपालिकातर्फ गइरहेको बेला गोली फायर गर्ने व्यक्ति राजु रहेको प्रहरीले जनाएको छ। मुख्य योजनाकार, योजनाकार र सुटर सबै फरार छन्। अन्य ८ पक्राउलाई प्रहरीले अाइतबार सार्वजनिक गरेको छ। 

बाबु भन्ने तुलबहादुर सिंजाली, बसन्तबहादुर चपागाईं, बुद्धिसागर यादव, राजेश यादव, प्रयास भन्ने खेमानन्द भट्टराई, सागर थापा, अंगद थारु तथा ऋषिकुमार कुमाल तिवारीको हत्यामा संलग्न रहेको प्रहरीले उल्लेख गरेको छ।

घटनालगत्तै मनोज बुढामगरले हत्याको जिम्मा लिएका थिए। क्रूर आततायी, पासविक, अपराधिक मनोवृत्तिका विभिन्न मानिसलाई परिचालन गरी भारतीय मोटरसाइकलमा नक्कली नेपाली नम्बर लगाई हातहतियार ओसारपसार गरी हत्या गराएको अनुसन्धानबाट खुलेको छ।

दुर्गाप्रसाद तिवारीको हत्यापश्चात मनोजले रुपन्देहीका विभिन्न ब्यक्तिहरुलाई फोन गरी धम्की दिई पैसा माग्न थालेका थिए। पैसा संकलनमा विभिन्न अपराधमा संलग्न मानिसलाई परीचालन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

तिलोत्तमा नपा-१५ का बुद्धिसागर यादवले दुर्गाको हत्या उद्देश्यले मनोज पुनको निर्देशनमा सागर थापाले ल्याएको बा५१प ८०७३ नम्बरको मोटरसाइकल लुकाई छिपाई केही महिनादेखि आफ्नै घरमा राखेका थिए। घटना हुँदाको दिन आफ्नो भाई राजेश यादवको साथमा उनले सो मोटरसाइकल पठाइदिएका थिए।

तिलोत्तमा-१५ कै राजेश यादवले दाजु बुद्धिसागरको घरबाट मोटरसाइकल घटना हुँदाको दिन रोहणी पुलमा लगी सागर थापाको जिम्मा लगाएका थिए। तिलोत्तमा-८ का खेमानन्द भट्टराईले मनोज पुनको निर्देशनमा पुस ४ गते बिहान सुटरलाई आफ्नो लु२८प २११९ नम्बरको मोटरसाइकलमा राखी रोहणी पुलसम्म पुर्‍याएका थिए। गोली हानिसकेपछि उनैले सुटर राजु र सागर थापालाई सोही मोटरसाइकलमा राखी मणिग्रामसम्म पुर्‍याएका थिए। मणिग्रामबाट सुटरलाई पोखरातर्फ पठाइदिएका थिए भने सागर थापालाई पाल्पा हुँदै गुल्मी रिडीतर्फ पठाइदिएका थिए।

देबदह-८ का सागर थापाले राजेश यादवबाट बा५१प ८०७३ नम्बरको मोटरसाइकल पाएपछि सुटरलाई पछाडि राखी देबदह खैरेनीतर्फ लगेका थिए। साइकल पसलबाट पौडेल मिष्ठान भण्डार अगाडि रहेका दुर्गाप्रसाद तिवारीलाई 'वाच' गरी दुर्गाप्रसाद तिवारी मोटरसाइकलमा जाँदै गरेको अवस्थामा पिछा गरेका थिए।

देबदह ८ स्थित कोलिया मार्गमा पुगेपछि थापाले आफ्नो मोटरसाइकल दुर्गा तिवारी चलाएको मोटरसाइकलको केही अगाडि लगेका थिए। त्यही बेला सुटरले दुर्गाप्रसाद तिवारीलाई गोली प्रहार गरेका थिए। गोली लागेर तिवारी ढलेपछि मोटरसाइकल चढेर रोहणी पुलमा पुगेका थिए। त्यहाँ खेमानन्द भट्टराईको लु२८प २११९ नम्बरको मोटरसाइकलमा बसेर मणिग्रामतर्फ लागेका थिए।

प्रकाशित: १५ फाल्गुन २०७३ ०६:५७ आइतबार

युवासंघ रुपन्देही अध्यक्षको हत्यामा १२ जना संलग्न मनोजको निर्देशनमा राजुले गरेका थिए सुट