coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पुलिसले जित्यो बूढासुब्बा गोल्डकप

धरान- सिएमजी संकटालाई सडन डेथमा हराउँदै  विभागीय टोली नेपाल पुलिस क्लबले १९औं बूढासुब्बा रेडबुल गोल्डकपको उपाधि जितेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार सम्पन्न फाइनलमा निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि सोझै टाइब्रेकरमा पुगेको खेलले त्यहाँबाट पनि स्पष्ट नतिजा पाउन सकेन। टाइब्रेकरमा ३–३ को बराबरी भएको थियो। निर्णयका लागि दुवै तर्फबाट ११/११ पेनाल्टीसम्म कुर्नुपरेको थियो। पुलिसका सुरज घिमिरेले ११ औं प्रहारमा निर्णायक गोल गरे। संकटाका लागि गोलकिपर विनय श्रेष्ठले गरेको अन्तिम प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोकेपछि जारी सिजनमा उपाधिको ह्याटि्रक गर्ने संकटाको लक्ष्य पूरा हुन सकेन। यस सिजनमा ५ नकआउट प्रतियोगितामा भाग लिएको पुलिसको यो पहिलो उपाधि हो। जितसँगै पुलिसले आहा–रारा गोल्डकप पोखरामा संकटासँग बेहोरेको हारको बदला लियो भने बूढासुब्बाको सर्वाधिक उपाधि जित्ने टोली पनि बन्यो। यसअघि पुलिस बूढासुब्बाको दोस्रो, पाँचौं, छैटौं र एघारौं संस्करणमा च्याम्पियन भएको थियो।

 पुलिसका डिफेन्स अजित भण्डारीबाट बल खोसेर लगेका राज पौडेलले २७औं मिनेटमा गोल गर्दै संकटालाई १–०को अग्रता दिलाएका थिए। ७९औं मिनेटमा जुमानु राईले पेनाल्टीमा गोल गर्दै पुलिसलाई खेलमा फर्काएका थिए। संकटाका अनिल गुरुङले बुद्ध लामालाई डिबक्सभित्र लडाएपछि पुलिसले पेनाल्टी अवसर पाएको थियो। कप्तान जुमानु पेनाल्टीमा चुकेनन्। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि सीधै टाइब्रेकर भएको थियो। टाइब्रेकरमा पनि दुवै टिमबाट ३–३ गोल भयो। पुलिसका तेज तामाङ, जुमानु राई र अभिषेक रिजाल गोल गर्न सफल भए भने अजित भण्डारीको प्रहार अकासियो अनि बुद्ध लामाको प्रहार संकटाका गोलकिपर विनय श्रेष्ठले रोके।  संकटाका अनिल गुरुङ, सुशील केसी र अमित तामाङले गोल गरे पनि मार्टिन अजय र राज पौडेलको प्रहारलाई पुलिसका गोलकिपर रोशन खड्काले रोकेका थिए।

च्याम्पियन पुलिसले नगद ५ लाखसँगै ट्रफी हात पार्‍यो भने उपविजेता संकटाले नगद २ लाख ५० हजारसँगै उपविजेतामै चित्त बुझायो। संकटाले जारी सिजनमा नारायणगढको विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जितेको थियो भने खप्तड गोल्डकप (धनगढी) र राइनो गोल्डकप (नवलपरासी) मा उपविजेता भएको थियो।

प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित हुँदै संकटाका गोलकिपर विनय श्रेष्ठले यामाहा मोटरसाइकल हात पारे भने उदीयमान खेलाडीको पुरस्कारसहित धरान नीलोका रेजिन सुब्बाले नगद १० हजार हात पारे। नगद ५ हजार रहेको फाइनल खेलको म्यान अफ दी म्याच र नगद १५ हजार राशि रहेको उत्कृष्ट गोलकिपरको पुरस्कार पुलिसका रोशन खड्काले थापे भने बेस्ट स्ट्राइकर घोषित हँुदै पुलिसका जुमानु राईले नगद १५ हजार पाए। उनलाई खेलप्रेमी राजु राईले थप नगद ६ हजार पुरस्कार दिएका थिए। यस्तै, उत्कृष्ट मिडफिल्डर धरान नीलोका हेमन्त गुरुङ, उत्कृष्ट डिफेन्स पुलिसका विक्रम धिमाल, उत्कृष्ट कोच पुलिसका कुमार कटवाल घोषित हुँदै जनही नगद १५ हजार हात पारे। प्रतियोगिताअवधिभर समान ३ गोल गरेका पुलिसका जुमानु राई र संकटाका अनिल गुरुङले नगद २५ हजारको पुरस्कार बाँडे।

पुलिसका प्रशिक्षक कुमार कटवालले जितका लागि आएको र सफल भएकोमा खुसी व्यक्त गरे। 'पहिलो हाफमा केही कमी भयो, तर दोस्रो हाफमा हामीले दबाबमा राख्यौं। जितको लागि आएका थियौं, सफल पनि भयौं'–उनले भने। संकटाका प्रशिक्षक सल्यान खड्गीले भाग्यले साथ नदिँदा हार भएको प्रतिक्रिया दिए।

प्रकाशित: १५ फाल्गुन २०७३ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App