८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकाका सडकमा सीमापारिका बालबालिका

काठमाडौं- सरकारले काठमाडौं उपत्यकालाई सडक बालबालिकामुक्त बनाउन सुरु गरेको अभियानमा भारतबाट आएका बालबालिका चुनौती बनेका छन्। सीमापारि रुपैडिया तथा बिहारबाट अभिभावकसहित काठमाडौं आएका बालबालिकाले दिनभर सडकमा माग्ने, कवाडी सामान संकलन गर्ने र रातमा अभिभावकसँगै बस्ने गरेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ।

अभिभावकसँगै बसेकालाई छुट्याएर उद्धार गर्न नमिल्ने भएकाले सडक बालबालिकामुक्त उपत्यका बनाउने सरकारी अभियानमा चुनौती थपिएको समितिको भनाइ छ।

तराई क्षेत्र तथा सीमापारिबाट बालबालिकासहित आएका परिवारलाई आर्थिक सहयोग गरी व्यवसायमा लगाए पनि उनीहरूले व्यवसाय छाडेर हिँड्ने गरेको समिति बालसंरक्षण अधिकृत सुनिता शाह बताउँछिन्।

'हामीले बालबालिकासहितका परिवारलाई नै उद्धार गरी आर्थिक सहयोग तथा व्यवसाय पनि सुरु गरिदिने गरेका छाँै तर उनीहरूले त्यसलाई निरन्तरता दिँदैनन्,' उनले भनिन्। भारतबाट आएका बालबालिकाका अभिभावकले समेत सडकमा माग्ने तथा कवाडी संकलन गर्ने काम गरेको पाइएको छ।

सीमापारिबाट आएका बालबालिका सडकपेटी तथा पर्यटक बढी हुने क्षेत्रमा बस्ने गर्छन्। बालबालिका खोजतलास समन्वय केन्द्र '१०४' तथा समितिको संयुक्त पहलमा सीमापारिबाट आएका बालबालिकाको उद्धार तथा परिवारलाई सचेत गराउने काम पटकपटक भए पनि उनीहरू पुनः सडकमै आएर माग्ने र कवाडी संकलन गर्ने गर्छन्।

'हामीले त्यस्ता बालबालिकाका अभिभावकलाई सचेत गराउँछौं। बालबालिकालाई पनि उद्धार गरेर दिनभर खोजतलास केन्द्रमा राखी अभिभावकको जिम्मा लगाउँछौं तर अर्काे दिन उनीहरू पुनः सडकमै भेटिन्छन्,' समितिका तर्फबाट उद्धारमा खटिने एक अधिकारीले भने।

हाल उपत्यकाका चक्रपथ तथा जडीबुटीलगायत स्थानमा बस्दै आएका झन्डै ५० परिवारका एक सयभन्दा बढी बालबालिका सडकमा माग्न आउने गरेको समितिले जनाएको छ। सडकमा आश्रित हुने बालबालिकाका परिवार सडकको आसपासमै पाल टाँगेर बसेको पाइएको छ।

सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन– ०७२ जारी गरेपछि गत वैशाख २७ देखि सुरु भएको सडक बालबालिका उद्धार कार्यअन्तर्गत पुससम्म पाँच सय ३३ बालबालिकाको उद्धार गरिएको छ। त्यसमध्ये चार सय ८३ बालक तथा ५० बालिका रहेका छन्। उद्धार गरिएका बालबालिकामध्ये एक सय ११ सम्पर्क गृहमा रहेका छन् भने ७८ बालबालिका सामाजिकीकरण केन्द्रमा रहेको समितिले जनाएको छ। त्यस्तै, एक सय ५१ बालबालिकाको पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गराइएको छ। लागुऔषधको दुर्व्यसनीमा फसेका ३० बालबालिकालाई पुनर्स्थापना केन्द्रमा राखिएको छ भने ३० जनाले सीपमूलक तालिम लिइरहेका छन्।

प्रकाशित: १५ फाल्गुन २०७३ ०३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App