८ वैशाख २०८१ शनिबार
समाज

बम बम भोले, मर्ने भयौं धुलोले!

काठमाडौं- महाशिवरात्रिका अवसरमा शुक्रबार ठूलो मेला लाग्यो पशुपति क्षेत्रमा। पशुपतिनाथको दर्शन गर्न पुगेका झन्डै १३ लाख भक्तजनको भीड पशुपति क्षेत्र परिसरमात्र होइन आसपासका सडकमा समेत बाक्लै थियो। चाबहिल–मित्रपार्क–गौशला–एयरपोर्ट–गुह्येश्वरीका मूल सडक भीडले छिचोलिसक्नु थिएन। सडकमा भीड लाग्नुको उद्देश्य एउटै थियो– पाशुपत क्षेत्र भ्रमण र आराध्यदेव पशुपतिनाथको दर्शन।

यही भीडमा एउटा समूह भने झ्याम्टासहित नाराबाजी गर्दै सडक घुमिरहेको देखियो। हातमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित देखिएको समूहले जनकीर्तन गर्दै हिँडेको भने थिएन। त्यो समूह उपत्यकाको धुलोले धेरैलाई सताउला भन्ने चिन्तामा थियो।

त्यसैले उनीहरू धुलोमान्डुको विरोधमा सरकारलाई दबाब दिन नाराबाजी गर्दै सडकमा दबाबमूलक शान्ति पदयात्रामा उत्रिएका थिए। शिवरात्रिका अवसरमा  निस्केको उक्त समूहको नारा थियो– 'बमबम भोले, मर्ने भयौं धुलोले।'

मेलम्चीको पाइप बिछ्याउने क्रममा उपत्यकामा भएको अचाक्ली धुलोले सर्वसाधारणको ज्यान लिइदेला भनेर उनीहरू चिन्तित थिए। विवेकशील नेपाली समूहले सरकारलाई दबाब दिन यसरी सडकमा उत्रिएको हो।

‘विकास निर्माणका काम अन्य देशमा पनि हुन्छन् तर विकास निर्माणको बहानामा यसरी जनतामाथि घात कतै पनि गरेको पाइन्न,’ नाराबाजी गर्दै हिँडेका समूहका एक सदस्य डा. नवीन बास्तोलाले भने, ‘हामी सर्वसाधारण सडकमा नउत्रिँदा सरकार हामीले दैनिक खाइरहेको धुलो न्यूनीकरणमा नलागेको हो। त्यसैले हामी सडकमा उत्रिएका हौं।’ यो समूह धुलोमान्डुको विरोधमा अघिल्लो शनिबारदेखि सडकमा दबाबमूलक शान्ति पदयात्रामा उत्रिन थालेको जानकारी डा. बास्तोलाले दिए।

‘नेताहरू कारमा हिँड्ने हुँदा उनीहरूलाई धुलोको मार नै थाहा छैन’, समूहकी सदस्य सारा प्याकुरेलले भनिन्, ‘हामी सडकमा नउत्रिने हो भने यो धुलो वर्षाैंसम्म रहिरन्छ।’ सरकारको लाहपरबाहीको कारण धुलो खान बाध्य भएको प्याकुरेलको निष्कर्ष छ।

उनीहरू सडकमा उत्रिएर आफूमात्रै नारा लगाइरहेका थिएनन्, भनिरहेका थिए, ‘तपाईंहरू पनि फोन, एसएमएस गरेर सरकारलाई दबाब दिनुहोस्।’

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल, भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक, संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, खानेपानी तथा  सरसफाइमन्त्री प्रेमबहादुर सिंह, स्वास्थ्यमन्त्री गगन थापा र जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीको फोन नम्बर लेखेको चिट  बाँडेका थिए। उनीहरूको अनुरोध थियो, ‘यी नम्बरमा फोन र एसएमएस गरेर धुलोको कारण पुगेको असर बारे जानकारी दिनुहोस्।’

विकास गर्ने भन्दै सामान्य सावधानीसमेत नअपनाएर नागरिकलार्ई धुलो खुवाई स्वास्थ्यमा गम्भीर असर पर्दा सरकारले चासो नदिएपछि सडकमा उत्रिन बाध्य भएको विवेकशील नेपालीले जनायो। समूहले दैनिकजसो फोन, एसएमएस गरेर धुलोको मारबारे जानकारी गराउँदै आएको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App