७ वैशाख २०८१ शुक्रबार
समाज

सार्वजनिक जग्गा व्यक्तिका नाममा

काठमाडौं- बूढानीलकण्ठ नगरपालिका १२ कपनस्थित व्यक्तिका नाममा दर्ता भएको ४१ रोपनी सार्वजनिक जग्गा फिर्ता गराउन स्थानीय निकायले असहयोग गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन्। हाल ध्रुवतेन शेर्पाका नाममा रहेको कपन महायान गुम्बाको पश्चिममा रहेको उक्त जग्गा २०२१ सालको नापीअनुसार २७ नम्बर कित्ताको ७ नम्बर पर्ती (सार्वजनिक) थियो।

सार्वजनिक जग्गा व्यक्तिले हडपेको विषयमा स्थानीय बासिन्दाले निरन्तर स्थानीय निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको कपन गाविसका पूर्वअध्यक्ष मिठाराम अधिकारी बताउँछन्। 'हामीले निरन्तर रूपमा स्थानीय निकायको ध्यानाकर्षण गराइरहेका छौं तर हाम्रो माग सुनुवाइ हुँदैन,' अधिकारीले भने।

सार्वजनिक जग्गा व्यक्तिले हडपेको विषयमा स्थानीय बासिन्दाले निरन्तर स्थानीय निकायको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको कपन गाविसका पूर्वअध्यक्ष मिठाराम अधिकारी बताउँछन्।

महायान गुम्बा तथा महाकाल मन्दिर रहेको उक्त जग्गामा महायान गुम्बाले २०५० सालमा वन संरक्षण भन्दै पर्खाल उठाएपछि मन्दिरमा पूजापाठका समेत रोक लगाइएको अधिकारीको भनाइ छ।  'सार्वजनिक जग्गालाई निजी भन्दै मन्दिरमा स्थानीयलाई मन्दिरमा पूजापाठ गर्न रोक लगाइयो, यसपछि जग्गासम्बन्धी विवाद सुरु भएको हो,' अधिकारीले भने। स्थानीय निकायबाट गुनासो सुनुवाइ नभएपछि संघर्ष समिति बनाएर विरोध सुरु गरेको अधिकारी बताउँछन्। 

बूढानीलकण्ठ नगरपालिकाका कार्यकारी प्रमुख विश्वराज मरासिनी भने स्थानीयको तर्कसँग सहमत छैनन्। उनी भन्छन्, 'नगरपालिकाले उक्त जग्गाका बारेमा सुनुवाइ गरेन भन्नु गलत हो। हामीले जग्गाका विषयमा कानुनी उपचार खोजिरहेका छौं।' उनले जग्गा विवाद अदालतमा लैजान खोजे पनि कानुनी झन्झटका कारण नसकिएको बताए।

अदालतमा जान नियमावली नभएको सुझाव कानुनी सल्लाहकारले दिएपछि जग्गा विवाद अदालत जान नसकेको मरासिनीले जानकारी दिए। हालसाबिक नक्सामा अहिले पनि पर्तीका रूपमा रहेको सो जग्गा लालपुर्जामा व्यक्तिका नाममा हुनुमा मालपोत कार्यालयको लापरबाही रहेको दाबी मरासिनीको छ। उनले मालपोत कार्यालय चाबहिलमा उक्त जग्गाको विवरण माग गर्दा दिन अस्वीकार गरेको बताए। हाल उक्त जग्गामा नयाँ भवन निर्माण गर्न र रूख कटानमा रोक लगाइएको मरासिनीले जानकारी दिए।

तत्कालका लागि मन्दिरमा पूजा गर्ने वातावरण मिलाउन पहल गरिरहेको मरासिनीले बताए। विवादित उक्त जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पनि अनुसन्धान भइरहेको छ।

महायान गुम्बाका सञ्चालक पासाङ नुलु शेर्पाले भने आफूहरूले उक्त जग्गा व्यक्तिबाट खरिद गरेको बताएका छन्। ४१ रोपनी पाँच आना दुई पैसा क्षेत्रफलको उक्त जग्गा २०२५  भदौ ४ मा खड्गकुमारी पण्डितका नाममा दर्ता भएको थियो। सो जग्गा  १५७ तथा १५८ गरी दुई कित्तामा बाँडेर २०३८ मा ध्रुवतेन शेर्पाका नाममा नामसारी गरिएको थियो।

प्रकाशित: १५ फाल्गुन २०७३ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App