७ वैशाख २०८१ शुक्रबार
समाज

विवाहमा गएकी बालिकाको हत्या

इटहरी- गाउँमा भएको विवाह हेर्न गएकी सुनसरी चाँदवेलाकी एक बालिकाको शनिबार बिहान हत्या गरी फालिएको अवस्थामा शव भेटिएको छ।

दुई दिन अघि चाँदवेला वडा नं. ९ का रामपुकार मोडियारीको ११ बर्षीया छोरी अमिता गाउँमै भएको विवाह  हेर्न गएकोमा घरभन्दा तीन सय मिटर दक्षिणतर्फ हत्या गरेको अवस्थामा भेटिएकी हुन्। उनी गाउँकै बुदे मोडियारीको छोरा र रञ्जित मोडियारीको छोरीको बिवाहमा बिहीबार राति गएकी थिइन्।

 उनको घर र बिवाह घर नजिकै पर्छ। विवाह हेर्न गएर नफर्किएपछि खोजतलास गर्ने क्रममा होमपाइपभित्र शंकास्पद अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए। उनका अनुसार, घटनाबारे अनुसन्धान भइरहेको छ।

सुनसरीमा एकपछि अर्को महिला, किशोरी र बालिका हत्याको श्रृखंला बढ्दो छ। अमिता सहित साउन यता छ जनाको हत्या भएको छ। जसमा पुस दोस्रो साता दुहवी–भलुवा वडा नं. ४ का शंकर थापाको घरमा काम गर्ने ३५ बर्षीया एकल महिला पवित्रा विष्टको हत्या भएको थियो । ती महिलाको हत्या प्रकरण शंकास्पद छ।

मंसिर ११ गते लौकही वडा नं. २ की १५ बर्षीया राधाकुमारी यादवको हत्या हुन पुग्यो। उनको शुरुवातमा प्रहरीले बलात्कारपछि हत्या गरेको आशंका गरेपनि अहिले अनुसन्धानलाई साँघुरो बनाउँदा हत्या मात्र भएको खुलेको छ। त्यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले नमताज मियाँ र रामकुमार यादवलाई पक्राउ गरि मुद्दा चलाएकोमा दुवै जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

एकपछि अर्को घटना हुने क्रममा मंसिर १ गते सुनसरी जल्पापुर वडा नं. ९ की २५ बर्षीय तारादेवी ऋषिदेवलाई छिमेकी अर्जुन सर्दाले हत्या गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्।  यस्तै, नरसिंह वडा नं. १ की २२ बर्षीया अप्रोजा खातुनलाई छिमेकी महिलाले असोजमा हत्या गरे। घाँस काटेको बिषयमा विवाद भएर उग्र रुप लिँदा छिमेकी अन्ना खातुन र सपना खातुनले अप्रोजालाई हत्या गरेका थिए । अहिले अन्ना र सपना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

छोरीको घरमा बसेकी ९० बर्षीया महिलाको समेत ज्वाईले हत्या गरेकोमा अमाहीबेला वडा नं. ५ मा विष्णुप्रसाद घिमिरे पुर्पक्षका लागि कारागार चलान भएका छन्।  छोरीको घरमा बस्ने ९० बर्षीया हिरादेवी घिमिरेको ज्वाईले विष्णुप्रसाद घिमिरेले हत्या गरेको आशंका प्रहरीले मुद्दा चलाएपछि पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

 

प्रकाशित: १४ फाल्गुन २०७३ १३:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App