८ वैशाख २०८१ शनिबार
समाज

कुष्ठरोगी वृद्धलाई सार्वजनिक बहिष्कार गरी गाउँ निकाला

कुष्ठ रोग लागेपछि गाउ निकाला गरिएका राम नहरको डिलमा छाप्रोमा गुजारा गर्दै। तस्बिरः मदन ठाकुर

रौतहट– रौतहटमा एकजना वृद्ध कुष्ठरोगीलाई सार्वजनिक बहिष्कार गरी गाउँबाटै निकाला गरिएको छ। कुष्ठरोग लागेकै कारण रौतहटको बसन्तपटी गाविस वार्ड नम्बर ३ का ६५ वर्षीय इनरदेव रामलाई घरपरिवार र समाजले बहिष्कार गरी गाउँबाट निकाला गरेको हो।

रामको हात र खुटामा कुष्ठरोग लागेको हो। चार वर्षअघि भारतको पटियालामा रोजगारीको लागि गएको वेला कुष्ठरोगको लक्षण देखिएको थियो। पटियालाका साहुले सामान्य उपचार गराएर पठाए पनि गाउँ फर्केका रामलाई कुष्ठरोग लागेको खबर फैलिएपछि परिवारका सदस्यसमेत मिलेर गाउँलेहरुले गाउँबाट निकाला गरिएको उनी बताउँछन्।

घर फर्केपछि रामले नेपालमा दुई पटल उपचार गराएका पनि हुन्। रोग सामान्य हुँदै गए पनि घरमै रहेका रामलाई गाउँलेको दबावमा परिवारले समेत गाउँ निकाला गरेको रामको भनाइ छ। घरमा सबै सामान्य रहेको अवस्थामा घरका सबैलाई कुष्ठरोग सर्ने र घरपरिवारमा कुनै पनि सन्तानको बिहे नहुने भन्ने अन्धविश्वास र अफवाह फैलिँदै गएपछि घरकाले दबाब दिन थालेको तथा अन्ततः आफू घरबाट निस्किन बाध्य भएको राम बताउँछन्। घरबाट मात्र होइन गाउँबाटै निकालिएपछि नहरको  डिलमा छाप्रो बनाएर बस्न बाध्य भएको उनको भनाइ छ।

घरबाहिरको काम घरकाले गराउने तर मूल घरमा पस्न नदिने गरेकोले रोगभन्दा आफन्तको व्यवहारले बढी पीडित हुनु परेको उनको अनुभव छ । सार्वजनिक धारामा पानी भर्न नदिए पनि खेत र फूलबारीको रक्षा गर्नुपर्ने र खेतमा दिनभरि काम गरिरहनु परेको दुखेसो सुनाउँदै राम भन्छन् ‘बिहान र बेलुकी भने जस्तो पायो त्यस्तै खाना ल्याएर घरकाले दिने गरेका छन्।’

जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका कुष्ठ तथा क्षयरोग निरीक्षक महेश साहले रामको बारेमा जानकारी भएको बताउँदै गाउँ समाजले निकाला गरेको सत्य हुँदाहुँदै पनि निज आफैँ गाउँमा बस्न नचाहेको बताए। जिल्लामा करिब ८० जना कुष्ठरोगीको तथ्यांक भएको बताउँदै साहले रामको रोग नसर्ने अवस्थामा रहेकोले उनलाई बहिष्कार गर्नुपर्ने कुनै कारण नरहेको बताउँछन्। निरीक्षक साहले रामका आफन्तलाई घरभित्रै राख्न आग्रह समेत गरिएको बताउँछन् ।

प्रकाशित: २४ असार २०७३ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App