नयाँ पुस्तक, नयाँ पुस्ता

शनिबार, १४ फागुन २०७३, १० : २१ शिवहरि घिमिरे  | @shivsamir

'पुस्तक पढ्नु, नदीमा नुहाउनुजस्तै हो,' ग्रिक दार्शनिक हेराक्लिट्सको यो भनाइले मानवजीवनमा अध्ययनको महत्वलाई प्रस्ट पार्छ। नदीमा हरेक दिन नुहाउँदा नयाँ स्फूर्ति मिलेजस्तै पुस्तक अध्ययनले पनि नयाँ स्फूर्ति र ज्ञान दिन्छ। यो भनाइले पठनीय संस्कृतिलाई जोडेजस्तै पछिल्लो समय साहित्यतर्फ युवाको आकर्षण बढेको देखिन्छ। युवाको पठनशैली फेरिँदै गएकाले पछिल्लो समय लेखक पनि युवाको मनोकांक्षा र रूचिलाई खोतल्न थालेका छन्।

पछिल्लो समय प्रकाशित पुस्तकका लेखकले नयाँ र प्रयोगधर्मी शैलीलाई अपनाएका कारण पाठकको मन जित्न सफल भएको बताउँछन् युवा लेखक सुविन भट्टराई। उनी भन्छन्, 'पुरानो शैलीमा लेखिएका पुस्तकले अहिले कुनै चर्चा पाउँदैनन्, बरु युवा र वर्तमान परिवेश केलाएर लेखेका पुस्तकप्रति युवाको रूचि बढ्दो छ।'

त्यसो त पे्रम र यौनको सम्मिश्रण भएका कारण पनि युवा लेखकले नयाँ पुस्तालाई सहजै तान्न सकेको सुविनको बुझाइ छ। भन्छन्, 'प्रेम र यौनमात्र नयाँ पाठकले चाहेका छैनन्, आत्मविश्वास र क्षमतावृद्धि विकास गर्ने खालका पुस्तक पनि नयाँ पुस्ताले खोजी गर्न थालेका छन्।'

साहित्य क्षेत्रको पछिल्लो परिवेशलाई नियाल्दा युवा पुस्ताले मन पराउने लेखक पनि प्रायः युवा नै भेटिन्छन्। लेखकले आफूलाई टिकाइराख्न र पुस्तकमा गरेको लगानी उठाउन आफ्नो रचनामा नवीनतम् लेखनशैली अपनाउन थालेका छन्।

युवा पुस्ताको ध्यान तान्न वा युवा लेखक बन्न उमेरले युवा हुनुपर्छ भन्ने मान्दैनन्, लेखक तथा स्तम्भकार किशोर नेपाल। उनी भन्छन्, 'उमेरले ५० काटेको लेखक भए पनि कतिपयले आफ्नो लेखनीमा युवाको ध्यान आकृष्ट गर्न सक्ने रस भरेका छन्। अहिले जसले समय, परिवेश र पाठकको रुचिलाई बु‰न सक्छ, त्यो लेखक नै चर्चामा आउँछ।' समय र परिवेशअनुसार लेखकले आफूलाई ढाल्न सक्ने हो भने अहिलेको पाठकको सहजै ध्यान तान्न सकिने उनी बताउँछन्। 'पछिल्लो समय युवाको मनोकांक्षा र कुतूहलतालाई मेट्न सक्ने गरी सिर्जना गर्ने साहित्यकार अत्यन्तै कम छन्,' उनले भने, 'अध्ययन, अनुसन्धान र नयाँ पुस्ताको मन जाँचेर पुस्तक लेख्ने हो भने मात्र नयाँ पुस्ताको मागले सार्थकता पाउला, नत्र साहित्यमा नयाँ लेखकबाट युवापुस्ताले केही पाउँछन् जस्तो लाग्दैन।'

यता, पछिल्लो समय युवा पुस्तालाई आधार मानेर पुस्तक प्रकाशन गर्ने लहर पनि चलेको छ। लेखकले जबर्जस्ती आफ्नो लेखनशैलीलाई युवातर्फ मोडेर कमजोर पुस्तक प्रकाशन गरेको पाठकको टिप्पणी छ। 'पुस्तकको मोटाइ र लगानी हेर्दा पुस्तक किन्न मन लाग्छ तर पानाको मोटाइजस्तै लेखनशैलीमा मोटाइ भने छैन,' पाठक तथा नेपाली विषयमा स्नातकोत्तर दाङ–देउखुरीकी शर्मिला गिरीले भनिन्। लेखकले बिकाउ बनाउनका लागि नयाँ पाठक र परिवेशलाई समातेर साहित्य सिर्जना गर्दा सिर्जना स्तरीय र पठनीय हुने उनको बुझाइ छ।

लेखकले युवाबारे गहिरो अध्ययन गरी साहित्य लेख्नुपर्ने बताउँछिन् पोखराकी कवि सरस्वती प्रतीक्षा। युवा लेखकले अर्ग्यानिक बिम्ब टिप्न खोजे पनि युवाको मनलाई छाम्न भने नसकेको उनको बुझाइ छ। 'पछिल्लो समय साहित्यमा लागेका लेखकले आफ्नै उमेर समूहका व्यक्तिलाई मात्र लक्षित गरेर साहित्य सिर्जना गर्छन्,' उनले भनिन्, 'नितान्त किशोर–किशोरीबारे लेख्ने लेखकको अहिले अभाव छ, त्यसैले बालबालिका र युवाको चाहना र समस्या बुझेर साहित्य लेख्ने लेखक अहिले चाहिएको छ।' लेखन क्षेत्रमा आफूलाई टिकाउन र बिकाउन कतिपय लेखकले युवा पुस्तालाई आधार बनाए पनि युवापुस्ताको समस्या र अवस्था लेखकले उजागर गर्न नसकेको उनको निष्कर्ष छ।

नयाँ पुस्तामा पठन संस्कृति बढ्दै गएकाले युवा पुस्तालाई भुलेर लेखिएको पुस्तक नचल्ने तर्क राख्छन् मदन पुरस्कार विजेता युवा लेखक अमर न्यौपाने। 'कुनै बेला वाल्मीकि रामायण नेपालीमा उल्था हुँदा मात्र पनि गर्व गर्नुपर्ने अवस्था थियो, समयले धेरै कोल्टे फेरिसकेको छ, समय र परिवेश नबुझेर लेख्ने लेखक टिक्दैनन्,' उनले भने। सञ्चार र यातायात विकासमा नयाँ पुस्ताको सहज पहुँच र प्रभाव रहेकाले लेखकले पनि परम्परावादी ढर्राको लेखनशैली त्याग्नुपर्ने उनको भनाइ छ।

नयाँ पुस्ताले भोग्दै गरेको वर्तमान समयको त्रासदि र दबाबलाई उजागर गर्न नयाँ पुस्ताको लेखक मात्र सक्षम हुने बताउँछन् मदन पुरस्कार विजेता अर्का उपन्यासकार नारायण वाग्ले। उनले युवाको चाहना, समस्या र आवश्यकतालाई आत्मसात् गरेर साहित्य लेख्न आवश्यक रहेको बताए। 'नयाँ पुस्ता एकाएक सबै प्रकारका सीमा र बन्धनलाई तोड्न चाहन्छ, त्यही भएर होला बजारमा हिजोआज नयाँ पुस्ता नै सशक्त रूपले हाबी भएर आएको छ,' उनले भने, 'नयाँ पुस्ता जसरी नयाँ कुनाबाट उदाएका छन्, यसले नेपाली साहित्यलाई छिटै अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनेछ।' वाग्लेको चर्चित उपन्यास 'पल्पसा क्याफे'ले पनि युवाकेन्द्रित छ। युवाको कथालाई उपन्यासमा उनेका कारण प्रकाशन भएको १० वर्ष बितिसक्दा पनि पल्पसा क्याफे पाठकको रोजाइमा परिरहेको छ। वाग्लेको विचारमा लेखनशैली बगेर मात्र हुँदैन, लेखकले परिवेश र समस्या बोलेको हुनुपर्छ। 'लेखकले कतै न कतै आफ्नो समय र परिवेशको यथार्थतालाई टिपोस् र पाठकको मानसिकता बुझोस्,' उनले थपे, 'अनि मात्र अहिले बजारमा बिक्न सकिन्छ।'

पाठकले पनि लेखकले यो विषयलाई छुनुपर्छ भनेर टिप्पणी गर्न नसक्नु र लेखकले पनि पाठकको आकांक्षालाई बु‰न नसकेकै कारण नयाँ लेखक र नयाँ पुस्ताबीच गहिरो खाडल बन्दै गएको वाग्ले बताउँछन्। नयाँ पुस्ताले पनि लेखकलाई सुझाव दिने र साहित्यतर्फ बढी झुकाव राख्ने हो भने नयाँ पुस्ता र युवा लेखकको तालमेल मिल्ने उनको बुझाइ छ।

लेखकले अझै नयाँ पुस्ताको चाहनाअनुसार साहित्य सिर्जना गर्न नसकेको पाठक सुष्मा खड्काले टिप्पणी गरिन्। उनी भन्छिन्, 'अहिलेका लेखकले परम्परावादी लेखनशैलीलाई तोड्न सकेका छैनन्, कथाले मागेको परिवेशलाई पनि कल्पना गरेर लेख्ने गरेका छन्।'

अझै पनि युवा पुस्ता र स्कुले विद्यार्थीले विदेशी लेखकको साहित्य पढ्न बाध्य भएको बताउँछन् पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टका संस्थापक अजित बराल। 'अहिले १७–१८ वर्षका युवायुवतीलाई लक्षित गरेर साहित्य लेखन गर्ने लेखक नै छैनन्,' उनले भने, 'सबैले आफ्नै उमेर समूहका व्यक्तिको कथामात्र उन्न खोजेका छन्।'

उनले पछिल्लो समय युवा पुस्तामा पठन संस्कृति विकास हुँदै गए पनि युवाको चाहनालाई समेटेका पुस्तक प्रकाशन नभएको बताए। 'समयको माग र युवा चाहनालाई बु‰न सक्ने हो भने नेपाली लेखक आर्थिक रूपमा पनि सबल बन्दै जान्छन्,' उनले भने।

फिल्म र नाटक क्षेत्रबाट साहित्य लेखनमा आएका खगेन्द्र लामिछाने नयाँ पुस्ताले चाहेअनुसारका पुस्तक पछिल्ला लेखकले प्रकाशन गर्न नसकेको बताउँछन्। उनी भन्छन्, 'अहिले युवा लेखकले प्रेम र यौनलाई मात्र साहित्य लेखनको मूल विषय बनाएका छन्, तर सामाजिक, राजनीति, धर्मसंस्कृति, मनोविज्ञानलगायतका विषयमा पनि लेखकको ध्यान जान जरुरी छ।' उनले नयाँ पुस्ताले लेखकबाट यौन र प्रेम मात्र अपेक्षा नगरेको औँल्याए। अहिले आफूलाई चिनाउन लेखकले आफ्नो लेखनशैलीलाई निरन्तरता दिएर मात्र नपुग्ने लामिछानेको बुझाइ छ। 'लेखकले आफ्नो लेखनशैलीको दायरालाई फराकिलो बनाउन जरुरी छ,' उनी भन्छन्, 'तर, कतिपय लेखकले अझै पनि अन्धकारमा पुरानै ढर्रामा पुस्तक प्रकाशन गरेका छन्।'

अनुवादको अभाव

आफ्नो लेखनशैलीलाई सशक्त बनाउन अंग्रेजी भाषामै दख्खल हुनुपर्छ भन्ने मान्दैनन् युवा आख्यानकार सुविन। नेपाली रचना उल्था गर्ने र वितरण गर्ने प्रक्रियामा केही महŒवपूर्ण थालनीका सुखद खबर आए पनि त्यसको विकास अझै भइनसकेको उनी बताउँछन्। 'लेखकले अब आफ्नो चैतन्य र बोधलाई अन्तर्राष्ट्रिय रंगमञ्चमा लैजानु छ भन्ने भावना बनाएर नै लेख्ने जमर्को गर्नुपर्छ,' उनले भने, 'राम्रा रचना पस्किन सक्ने हो भने नयाँ लेखक विश्वबजारमा बिक्न सक्छन्, तर, अंग्रेजी नजान्नेले लेखेको रचना अन्तर्राष्ट्रियस्तरको हुन सक्दैन भन्ने कथित भावना छ, त्यस्तो मानसिकता हटाउनुपर्छ।'

'संसारका कुनै पनि भाषामा उल्था गर्न अब कठिन छैन, भलै त्यसका लागि केही परिश्रम गर्नु किन नपरोस्,' सुविनले थपे, 'अहिले धेरै युवा विदेशी लेखककै पुस्तक पढ्न खोज्छन्, यदि उनीहरूको चाहना नेपाली लेखकले बु‰न सक्ने हो भने पाठक र लेखक दुवैलाई फाइदा पुग्छ।'

साहित्यकार बुद्धिसागरको विचारमा पुस्तक मानिसको सबैभन्दा नजिकको साथी हो। उनी भन्छन्, 'नयाँ पुस्तक पढ्नु भनेको नयाँ साथी बनाउनुजस्तै हो, पुस्तक त्यस्तो साथी हो, जोसँग कहिल्यै सम्बन्ध बिग्रँदैन।' पुस्तक पढ्ने बानीले विश्वका विभिन्न कला, संस्कृति तथा मानव इतिहास र वर्तमान परिवेशबारे जानकारी हुन्छ। पुस्तक पढ्ने बानीले नयाँ ज्ञान दिने हुँदा आफूलाई इच्छा जागेको जुनसुकै बेला पुस्तक पढ्न सकिन्छ। 'दुई सय वर्षअघिको पुस्तकले पाठकलाई त्यो समयसँग साक्षात्कार गराउँछ,' बुद्धिसागरले भने, 'त्यसैले अहिलेका पुस्तक पनि हालको परिवेश मात्र नभएर पछिसम्म पनि ज्ञान दिने र सो परिवेशसँग मिल्दो हुनुपर्छ।

सकेसम्म मौलिक भाषामै पढ्न पाउनु राम्रो भए पनि अनुवाद वा विदेशी भाषाका पुस्तक पनि पढ्न नयाँ पुस्तालाई लेखक सुझाउँछन्। पछिल्लो समय उपन्यास र आख्यानका पुस्तकमा नेपाली पाठकको रुचि बढेको छ। तर, पाठकको अपेक्षा अनुसारका पुस्तक भने आउन सकेका छैनन्।

साहित्यमा पाठकको रूचि बढेको थाहा हुँदाहुँदै पनि उक्त अपेक्षा पूरा गर्नेखालको साहित्य लेख्न नसकिएको अमरको भनाइ छ। 'अहिले सक्रिय भएर लेखनजगत्मा लागेका लेखकले यो विषयलाई पनि ख्याल गर्नुपर्ने देखिन्छ,' उनी भन्छन्।

न्यौपानेकै जस्तो अनुभव छ प्रकाशन व्यवसायीको पनि। फाइनप्रिन्टका बराल भन्छन्, 'पाठकमा पढ्ने बानी बढेको छ। तर, नेपाली पुस्तकमा उनीहरू आफूले खोजेअनुसारको गुणस्तर नहुँदा निराश भएका छन्।' नेपालीसँगै अंग्रेजी र हिन्दी साहित्य मन पराउने पाठक धेरै भएकाले त्यसतर्फ पनि नयाँ लेखकले सोच्नुपर्ने बेला आएको उनले बताए।

अंग्रेजीमा एउटा भनाइ छ– 'पुस्तक अध्ययन डाउनलोड गरेर लिएको ज्ञान होइन, यसले मानिसलाई अन्तर आत्मादेखि नै जागृत गराउँछ।' एउटै पुस्तक धेरैपटक पढ्दा प्रत्येकपटक नयाँ ज्ञान पाइन्छ। त्यसैले पढ्ने बानी बसाल्नुपर्ने लेखकहरू बताउँछन््। पुस्तक संस्कृति एक पुस्ताबाट अर्को पुस्तामा ज्ञान हस्तान्तरण गर्ने गतिलो माध्यम पनि हो। मानव सभ्यतालाई जीवित राख्न र परिष्कृत गर्न पछिल्ला पुस्तकहरूबाट केही सहयोग अवश्य पनि पाइन्छ।

त्यसो त युवाको बारेका लेख्नको लागि युवा लेखक नै नचाहिने भन्ने तर्क राख्छन् पाठक नारायण दाहाल। 'नेेपाली साहित्य क्षेत्रमा लागेर कपाल फुलाइसकेका धेरै लेखक छन्,' उनले भने, 'प्रस्तुतीकरण, भाव, विषयवस्तु, परिवेश मिलाएर लेखेका पुराना लेखक पनि नयाँको दाजोमा कमजोर छैनन्।'

बजारको अस्वस्थ प्रतिस्पर्धा

पछिल्लो समय प्रकाशन भएका पुस्तकहरू पाठकमुखी भन्दा पनि बजारमुखी छन्। लेखकले बजारलाई नै केन्द्रित गरेर पुस्तक लेख्न थालेका छन्। पाठकले के चाहन्छन् भन्दा पनि बजारमा कस्तो पुस्तक बढी बिक्छ भन्ने भावनाले पुस्तक प्रकाशन गर्ने होडबाजी चलेका कारण स्तरीय र पाठकको चाहनाअनुसारका पुस्तक प्रकाशन हुन नसकेको टिप्पणी गर्छिन् सरस्वती प्रतीक्षा। उनको विचारमा नयाँ लेखकले बजारलाई भन्दा पाठकको चाहनालाई बु‰न सक्ने हो भने आर्थिक रूपमा सबल बन्नुका साथै पाठकको मन जित्न पनि सकिन्छ। उनी भन्छिन्, 'विदेशी लेखकहरूले पाठकको चाहनालाई नापेर पुस्तक प्रकाशन गर्छन, तर हाम्रोमा व्यवसाय र नाफालाई हेरेर पुस्तक लेख्ने बानी बसिसकेको छ।' लेखक तथा स्तम्भकार किशोर नेपालले पनि युवा लेखकहरूले मनोरञ्जन ज्यादा भरेकोले पछिल्ला पुस्तकहरू त्यति स्तरीय नभएको टिप्पणी गरे।

चर्को प्रचारबाजी

आफूलाई राम्रो लेखक भनेर बजारमा तहल्का पिट्दै हिँड्ने लेखकहरू पनि नभएका होइनन्। आफ्नो लेखन शैली स्तरीय होस्–नहोस जर्बजस्ती पुस्तक निकाल्न तम्सिने प्रवृत्तिले गर्दा पछिल्लो समय नेपाली साहित्य कमजोर बन्दै गएको मान्ने वर्ग पनि सानो छैन। बुद्धिसागरको टिप्पणी छ, 'नयाँ पुस्ताको साहित्यमा ध्यान तान्नका लागि लेखकहरूले चर्को प्रचारबाजी पनि गरेका छन्, तर लेखनशैली स्तरीय छैन भने जति प्रचार गरे पनि लेखकलाई लामो समय साहित्यमा टिक्न कठिन हुन्छ।'

त्यसो त युवा मनोविज्ञानलाई टेको बनाएर लेखेका पुस्तकहरूले नै अहिले युवा वर्गको मन जित्न सफल भएको लेखक युग पाठक बताउँछन्। उनी भन्छन्, 'हिजोका पाठक र आजका पाठकमा धेरै अन्तर छ, हिजोका पाठकहरू लेखकले जे दियो त्यही लिन्थे तर अहिलेका पाठक छानीछानी पुस्तकका पाना केलाउँदै टिप्पणी गर्न सक्ने भएका छन्, त्यसैले लेखकले पनि आफ्नो लेखन शैलीलाई परिस्कृत गर्न जरुरी देखिन्छ।'

के चाहन्छ नयाँ पुस्ता?

पछिल्लो समय प्रकाशन भएका पुस्तकहरू क्षणिक आनन्द र मनोरञ्जनमा केन्द्रित छन्। बेरोजगार, बढ्दो वैदेशिक रोजगारी, राजनीतिक, सामाजिक, मनोविज्ञान, धर्म–संस्कृतिजस्ता विषयमा लेख्ने लेखकहरूको अत्यन्तै कमी छ। केही लेखकले यी विषयलाई छुन खोजे पनि गहिराइमा डुब्न नसकेका पाठकको टिप्पणी छ। कतिपय लेखक स्वयं नै पनि यी विषयलाई मुख्य विषय बनाएर पुस्तक लेख्न नसकेको स्वीकार्छन्। लेखकहरूमा इमानदारी, धैर्य, मेहनत, मौलिकता कमजोर बन्दै गएको टिप्पणी गर्छन पाठक राजीन पनेरु। उनी भन्छन्, 'अहिले लेखकले युवा समस्यालाई बोल्नै सकेका छैनन्, दिनहँु हजारौँ युवा वेदेशिक रोजगारीमा तानिएका छन्। स्वदेशमा केही गर्न सकिँदैन भन्ने हीनताबोध नयाँ पुस्तामा छ, त्यसैले यहाँको अवसर र सम्भावनालाई लेखनको माध्यमबाट बुझाउन सक्नुपर्छ।'

पछिल्ला पुस्तकहरू पढ्दा पाठकलाई अपनत्व महसुस गराउन नसक्ने कथावस्तु समेटिएकै कारण पाठकले पनि स्वदेशी भन्दा विदेशी पुस्तकहरू पढ्ने गरेको बताउँछन् कतिपय पाठक। पाठकको मन मष्तिक छुने, पुस्तक पढेपछि मनमा झट्का दिने र केही गर्न र सिक्न उत्प्रेरणा जगाउने खालका कथावस्तुलाई लेखकले समेट्नुपर्ने पाठकको सुझाव छ। युवा लेखक भनेर चिनिनका लागि युवाका समस्या, अध्ययन–अनुसन्धान गर्ने बानी, कथामा मौलिकता, लेखनमा इमानदारी हुनुपर्ने विचार राख्छिन् नयाँ लेखक तथा पाठक सुष्मा खड्का। 'नयाँ लेखकमा मौलिकताको कमी, धेरै पुस्तक पढ्दाखेरी मात्र क्षणिक आनन्द आउने खालका छन्,' उनले भनिन्, 'त्यसैले लेखकहरूले यी विषयमा पनि ध्यान दिनु जरुरी छ। युवा लेखक बन्नका लागि युवाका समस्या र आयामहरूलाई उजागर गर्न सक्नुपर्छ भन्छिन् पाठक शर्मिला गिरी। उनी भन्छिन्, 'पे्रम र यौनलाई आड बनाएर लेख्दैमा युवा भइँदैन, युवा लेखक बन्नलाई युवाका समस्या र चाहनालाई पनि सम्बोधन गर्न जान्नुपर्छ।'

• युवा पुस्ताको ध्यान तान्न युवा लेखक नै हुनुपर्छ भन्ने छैन। कतिपय ५० काटेको लेखकले युवा पाठकको ध्यान आकृष्ट गर्न सक्ने रस भरेका छन्। जसले समय, परिवेश र पाठकको रूचिलाई बुझ्न सक्छ, त्यो लेखक नै चर्चामा आउँछ। –किशोर नेपाल

• नयाँ पुस्ताले भोग्दै गरेको वर्तमान समयको त्रासदि र दबाबलाई उजागर गर्न नयाँ पुस्ताको लेखकमात्र सक्षम हुन्छ। युवाको चाहना, समस्या र आवश्यकतालाई आत्मसात् गरेर साहित्य लेख्न आवश्यक छ। नयाँ पुस्ता सबैखाले सीमा र बन्धनलाई तोड्न चाहन्छ। –नारायण वाग्ले

• कुनै बेला वाल्मीकि रामायण नेपालीमा उल्था हुँदा पनि गर्व गर्नुपर्ने अवस्था थियो। अब समय र परिवेश नबु‰ने लेखक टिक्दैनन्। सञ्चार र यातायात विकासमा नयाँ पुस्ताको सहज पहुँच र प्रभाव रहेकाले लेखकले पनि परम्परावादी ढर्राको लेखनशैली त्याग्नुपर्छ। –अमर न्यौपाने

• सकेसम्म मौलिक भाषामै पढ्न पाउनु राम्रो भए पनि अनुवाद वा विदेशी भाषाका पुस्तक पनि नयाँ पुस्ताले पढ्नुपर्छ। पछिल्लो समय उपन्यास र आख्यानका पुस्तकमा नेपाली पाठकको रूचि बढेको छ। तर, पाठकको अपेक्षाअनुसारका पुस्तक भने आउन सकेका छैनन्। –बुद्धिसागर

• अहिले युवा लेखकले प्रेम र यौनलाई मात्र साहित्य लेखनको मूल विषय बनाएका छन्। तर सामाजिक, राजनीति, धर्मसंस्कृति, मनोविज्ञानलगायतका विषयमा लेखकको ध्यान जान जरुरी छ। नयाँ पुस्ताले लेखकबाट यौन र प्रेम मात्र अपेक्षा गरेको छैन। –खगेन्द्र लामिछाने

• अझै पनि युवा पुस्ता र स्कुले विद्यार्थीले विदेशी लेखकको साहित्य पढ्न बाध्य छन्। अहिले नेपालमा १७–१८ वर्षका युवायुवतीलाई लक्षित गरेर साहित्य लेखन गर्ने लेखक नै छैनन्। सबैले आफ्नै उमेर समूहका व्यक्तिको कथामात्र उन्न खोजेका छन्। – अजित बराल

• पुरानो शैलीमा लेखिएका पुस्तकले अहिले कुनै चर्चा पाउँदैनन्। पे्रम र यौनको सम्मिश्रण भएका कारण पनि युवा लेखकले नयाँ पुस्तालाई सहजै तान्न सकेका छन्। तर, आत्मविश्वास र क्षमतावृद्धि गर्नेखालका पुस्तक नयाँ पुस्ताले खोजी गर्न थालेका छन्। –सुविन भट्टराई

• युवा मनोविज्ञानलाई टेको बनाएका पुस्तकहरूले नै युवामन जित्न सफल भएको छ। हिजोका पाठकहरू लेखकले जे दियो त्यही लिन्थे, तर अहिलेका पाठक छानीछानी पुस्तकका पाना केलाउँदै टिप्पणी गर्न सक्ने भएका छन्, त्यसैले लेखकले लेखनशैली परिष्कृत गर्न जरुरी छ। –युग पाठक








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad