coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

काठमाडौँ चिन्ता

घिमिरे युवराज

फागुनको अन्तिम साता फिक्कल निकै चिसो थियो। इलामयात्राका लागि निस्किएका धेरै मायालु जोडी बिहान अबेरसम्म अनुहार देखाउने मुडमा थिएनन्। सिरक जिन्दावाद भन्दै थिए ती सायद! मौसम थियो नै त्यस्तै। वरिपरि चियाबगानका बीचमा एउटा काठैकाठले बनेको सुन्दर र कलात्मक घर, न्यानो कोठा, चिसो मौसम। सम्झनूस्, गणेश रसिकको चियाबगानबीचको फिक्कलको घरजस्तो। त्यही सुन्दर घरमा बस्ने सौभाग्य मिल्यो। उसरी नै अबेरसम्म सिरकमा गुटुमुटु हुन पाइयो। राजधानीमा जस्तो शौचालयसँगै पत्रपत्रिका पढ्ने वा रेडियोको समाचार सुन्ने कुनै चासो थिएन त्यहाँ। स्वच्छ हावा, एकान्तपन, चियाबगान र हरिया रुखहरूले पहाडमा निर्माण गरेको सौन्दर्यको आँखा चिम्लिएर रसास्वादन गर्ने अवसर थियो त्यो।

काठमाडौँ उस्तै थियो! जिल्लाका दुःख र बिजोगको कुनै चासो छैन काठमाडाँैलाई। काठमाडौँ अझै पनि मेलम्चीको झमेला, ट्राफिकजाम र बालुवाटार धर्नामै अलमलिइरहेको थियो। काठमाडौँलाई एउटै कुराको चिन्ता रहेछ, त्यो हो 'खसीको मासुको मुल्यबृद्धि!'

यो कस्तो सौन्दर्य भने चिसो मौसममा न्यानो वातावरणभित्र बसेर आफूवरिपरि भएका सुन्दर वस्तुलाई मनमनै सम्भि्कएर भोग गर्न मन लाग्ने! अचनाक फिक्कल एफएमको मोडुलेसनमा रेडियो 'लाउड स्पिकर'मा घन्कियो। नघन्कियोस् पनि किन, घरपति रसिक बा नै त हुन् फिक्कल एफएमका नाइके। 'कन्याम ६ निवासी मित्र होमनाथ अधिकारीको आज जन्म दिन भएकाले उसलाई जन्मदिनको लाखौँलाख शुभकामना दिन चाहन्छु,'उद्घोषिका सुषमा श्रेष्ठ बोल्दै थिइन्, 'साथै उसले चालेका हर पाइलाले सफलताको शिखर चुम्न सकून्, इलामेली कान्छी कमला खवास।' आच्चै, ती खवास चेलीले कस्तो गौरवसहित आफूलाई इलामेली कान्छी भन्न मन पराएकी? मेरो संकुचित मनले त्यस्तो सोचिहाल्यो। म मोरङको भित्री गाउँमा खवास साथीहरूसँग हिलोमा माछा मार्दै हुर्किएको हुँ। खवासहरू तराईमा मात्रै हुन्छन् भन्ने भ्रम छँदैरहेछ। 'इलामेली कान्छी कमला खवास' सुनेपछि अचम्म लाग्यो। भूगोलमाथिको हाम्रो भ्रम कहिलेसम्म रहिरहला हँ? आफ्नै अज्ञानता सम्झेर लजाएँ। म रंगमञ्चसम्बन्धी पुस्तक लेख्दै थिएँ। यही सिलसिलामा फिक्कलका रंगकर्मी साथीहरूलाई भेट्नु र तिनका बारेमा टिपोट गर्नु थियो। यसरी नै पूर्वाञ्चल छिचोल्दै हिँडेको थिएँ। धनकुटाका कुनाकाप्चा चहारेर, धरान, विराटनगर, दमक, बिर्तामोडतिरको काम फत्ते गरेपछि म पाँचथरतिर उकालिँदै थिएँ। पूर्वको बन्दले म पिरोलिएको थिएँ। रनाहा छुट्थ्यो। जता गयो त्यतै थुनिनुपर्ने स्थिति थियो। बन्द र लोडसेडिङ नेपालकै ठूलो रोग बनेको थियो। त्यसमाथि पूर्वका उद्योगधन्दा, कलकारखानाका अगाडि 'बन्द' लेखिएका फ्लेक्स झुण्डिएका देख्दा विरक्तिबाहेक केही रहेन ज्यानमा। तर, स्वाधीनता र आत्मसम्मान भन्ने 'जिनिस' अचम्मको हुँदो रहेछ। मधेसीहरूको नाममा बन्द भोग्दाभोग्दा हैरान भएका सर्वसाधारण नागरिक त थरुहट बन्दमा रत्तिभर नआत्तिएका! मूल्य अकासिएको छ, कमाइधमाइ छैन, हिँडडुल, औषधिउपचारका लागि साधन छैन। त्यही पनि थरुहट आन्दोलनमा आपत्ति नहुनुको रहस्य रहेछ समानान्तर शक्तिको उदयको खुसी। समथल तराई सोलोडोलो मधेस हो भनिरहेको एउटा समूहको विचारका विरुद्ध अर्को विचार जन्मियो थरुहट। त्यही भएर अन्य जातथरका नागरिकलाई सन्तोष लागेको रहेछ। एउटा अतिवादका विरुद्ध बोल्न सक्ने अर्को अतिवाद जन्मियो। तर, यस्ता समानान्तर शक्तिहरू त हरेक दिन बढ्दैछन्। सर्वसाधारण नागरिकले अनेकौ दुःखका बीचमा फेरेको भ्रमको स्वासले कति दिनसम्म काम गर्ने हो 'लिम्बुवान प्रान्त' लेखिएका अक्षर र मान्छेका मनले उत्तर दिएकै छन्। अनि अझै यी सबै कुराको उत्तर काठमाडाँैले दिनुपर्ने स्थिति छ, जसलाई कुम्भकर्णको निद्रा सरेको छ। तिनको उत्तर नदिँदा पनि काठमाडौँको रौँ हल्लिएको छैन! अर्को बसाइ थियो इलामबजार। उपल्लो किरातको बन्दले ४ दिन त्यहीँ थेच्चारिनुपर्‍यो। त्यति सुन्दर ठाउँमा पुगेपछि एउटा सुन्दर संस्मरण बन्ला भन्ने थियो। चोकबजारमा गाडी पाइन्छ कि भन्दै हरेक दिन कुर्न आउँदा धेरै समय खर्चिनुपर्‍यो। मेरै गाउँको छिमेकी भाइ जीतबहादुर खवासको पोस्टिङ त्यही प्रहरी कार्यालयमा रहेछ। उनले मलाई पाँचथरसम्म पुर्‍याउने अनेक जुक्ति गरे, उपाय भएन। बन्दको चकमन्नमालाई तोड्दै चोकबजारमा दुई गाइने आइपुगे। इलाम चोकबजारको अर्को रमाइलो परेवाहरूको हुल पनि रहेछ। पूरै बजार ढाक्ने गरी परेवा उड्दा रहेछन् र चोकमा चारो खान आउँदा रहेछन्। एउटा सुन्दर दृश्य कैद गर्न भ्याएँ, सयौँ परेवा बत्तीको तारमा लहरै परेड खेलेजस्तै गरेर बस्ता रहेछन्।  तर्सुलीको किनारमा बालुवा चाल्नेहरु सोलुमा भारी बोकी बालुवा चपाउनेह बालुवा अझैनि लोकतन्त्र आको छैन है जनताले भनेझैँ भाको छैन है। चालीसनजिक उमेरका कमल गन्धर्व र दलबहादुर गन्धर्व झापाबाट इलाम आएका रहेछन्। सानैदेखि सारंगी रेट्न थालेको यो एक जोडी कलाकारले सुनाएका सबै गीत हाम्रै समाजका कथा थिए। 'आफूले देखे–भोगेको कुरा आइहाल्छ नि गीत बुन्दा,' कमलले भने, 'त्यस्तै दुःखी मानिससँगको संगत गरेर पनि बुन्छौँ हामी गीत।' माओवादी युद्धमा लागेकाहरूसँग संगत गरे पनि उनीहरूले बनाएको गीत यस्तो रहेछ। अरुण तरेर नाना तम्बोर तरेर आयौँ हामी विरताको गाथा कोरेर कति साथी सहिद भए तम्बोर तिरैमा कति साथी अपांग छन् लडे भिरैमा यिनका कारुणिक स्वर, सारंगीले बुनेको आरोहअवरोहयुक्त लय र मान्छेका कथा बुनिएका शब्दहरू एफएम रेडियोहरूले बजाउँछन् त? भारतीय झुर हिन्दी गीतको विकल्प हुन्थे कि यी! सयौँ मान्छेलाई आकर्षित गरेर इलाम चोकबजारमा रुमाल थापेका यी दुई गाइने साथीको जीविकोपार्जनको माध्यम पनि एफएम रेडियो बन्न सक्थे कि! रुमालमा १० रुपैयाँको नोट राख्नुबाहेक मसँग अर्को विकल्प थिएन। पत्रकार मित्र दीपक अधिकारीको घर पनि फिदिम नै रहेछ। छोटो विदामा घर आएका दीपक उपल्लो किरातको बन्दले थुनिएका रहेछन्। लाग्यो, यो राम्रो अवसर हो। दीपक भएकै बेलामा फिदिम पुग्न सकियो भने त उनले पाँचथर घुमाउँछन्। फोनमा उनीसँग कुरा भयो। बन्द खुल्ने कुनै छाँटकाँट नभएपछि चौथो दिन मोटरसाइकलमै भए पनि जाने निर्णय गरियो। फिदिमका रंगकर्मी माधव कल्पितले दुईवटा मोटरसाइकल पठाइदिए र हामी उपल्लो किरातका सैन्यजत्थासँग डराउँदै उकालो चढ्यौँ। हरिया पहाडमा गुराँस फुलेका, तिनका बीचबाट घुमाउरो चिल्ला सडकमा उक्लिँदा त सबै दुःख भुलिँदोरहेछ। गाडीमा भन्दा मोटरसाइकलमा यात्रा काइदाको हुँदोरहेछ। माथि डाँडामा बिसाउँदै तल इलाम हेर्दै, गुराँसका फूल खाँदै हामी पूर्वको सुन्दर पहाडसँग रत्तिएका थियौँ। नेपालटारमा मझौला चिज उद्योग रहेछ, सरकारले सञ्चालन गरेको। चिज धमाधम बन्दै थियो। बन्दका बेलामा पनि हामीले गौरव गर्ने कुरा त्यही थियो। कमसेकम नेपालमा पनि केही त बन्दोरहेछ। ताजा नौनी घिउको उरुङ चाङ देखेर क्वाप्प खान मन लाग्यो। चिजचाहिँ निकै खाइयो। राँके पुरेपछि हुस्सुले ड्याम्म छोप्यो। मध्यदिनमा पनि अति चिसो। तातो केही खाउँ भनेर हामी होटलतिर छिर्‍यौं। होटलभित्र अरु मानिस पनि रहेछन्। फिदिममा भर्खरै लिम्बुवानको सम्मेलन भएको रहेछ। होटलभित्र राजनीतिक गफ चल्दै थियो। एकजना दाजु बुरुक्क उफ्रिए– 'मैले त भन्देको छु, अब पनि हाम्रो कुरा सुनेनन् भने तिनको उँभोबाट ६ इन्छ नघटाइ हुँदैन। अबको आन्दोलन भनेकै यही हो।' साँच्चै भनेको मेरो मुटुको धड्कन साबिकको भन्दा दोब्बर भयो। मान्छेको उँभोबाट ६ इन्च घटाउँदा त टाउको च्वाट्टै जाने भो त हौ। साथीहरूलाई छिटो खाएर बाटो लाग्ने इसारा गरेँ। होटलभित्र अर्को पनि रमाइलो विवाद चल्दै थियो। लिम्बुवान सम्मेलनमा ब्लास्ट दैनिकका पत्रकार भवानी बराललाई बोलाइएको रहेछ। एकजना दाइ कड्किँदै थिए– 'हैन हाम्रो जातिमा चाहिँ पढेलेखेका, विद्वान्, पत्रकारहरू छैनन्? हामीले अझै क्षेत्री–बाहुन नै खोज्नुपर्छ?' फिदिमबजारको मुखैमा हामीलाई सिंगारिएको ठूलो 'लिम्बुवान प्रान्त' गेटले स्वागत गर्‍यो। मेरो ध्याउन्न मित्र दीपकतिरै थियो। फिदिमबजार पुगेपछि फोन गर्छु त दीपक लिम्बुवान पार्टीको गाडी चढेर झापातिर पो लागेछ। साथी भेट्ने एउटा उत्साह खत्रक्क भयो। 'म तिमीलाई फिदिम घुमाउँला' भनेको साथी त कुलेलम। न्यास्रोपन एकैछिनमा मेटियो। अन्य धेरै साथी–अग्रज आइपुग्नुभयो। माधव कल्पितले धेरै सहयोग गरे। कवि धर्मेन्द्रविक्रम नेम्बाङ पनि त्यहीँ पो रहेछन्। 'लौ है साथी मेरो त आज गाउँमा ५ ठाउँका कार्यक्रमको प्रमुख अतिथि बन्नु छ लागेँ' –उनी पूरापूर व्यस्त रहेछन् पार्टीको काममा। झापाका रंगकर्मी नरेशजंग पनि फिदिममै रहेर लिम्बुवान आन्दोलनका लागि नाटक गर्दै हिँड्दारहेछन्। एक साँझ रंगकर्मी, लेखक, पत्रकार साथीहरूसँग जमघट भयो। त्यही साँझ फिदिमबजारमा उपल्लो किरातको राँकेजुलुस पनि निस्कियो। उनको नाम नै मित्र। मित्र लिङ्देनले म आवद्ध नाट््यसमूह शिल्पीको 'मधेस–तराई' नाटक अभियानको बारेमा सुनेका रहेछन्। २०६४ सालमा हामीले जातीय र धार्मिक द्वन्द्वबारे नाटक बनाएर देशका ३० ठाउँमा प्रदर्शन गरेका थियौँ। उनले मलाई अनुरोध गरे– 'यदि लिम्बुवान राज्यका पक्षमा नाटक गरिदिने हो भने हामी तपाईंहरूलाई सहयोग गर्छौं।' लिम्बुवान परिषद्ले नौ जिल्लालाई लिम्बुवान प्रान्त घोषणा गरेको रहेछ। मैले भनेँ– 'त्यसरी त हामीले नाटक गर्न मिल्दैन तर संघीयताका कुरा उठाएर हामी नाटक गर्न सक्छौँ।' यतिखेर शिल्पी त्यसैको तयारीमा थियो। बैशाख ५ गतेदेखि शिल्पी 'अँध्यारोविरुद्ध' शीर्षकमा नाटक र कविता लिएर पूर्वाञ्चलयात्रामा निस्कियो। अस्तव्यस्तताका बीच पनि नेत्र ओझा, गणेश हुमागाईं, मित्र लिङ्देन, माधव कल्पित, नरेशजंग, धर्मेन्द्रविक्रम आदिले समय दिनुभयो। पाँचथरको रंगमञ्चबारे मैले धेरै कुरा संकलन गर्ने मौका पाएँ। (पुस्तक पनि तयार भयो।) लामो समय बस्न पाइएन। पाँचथर बन्दको हल्ला थियो। त्यसैले दुई दिनमै हामीले बाटो ततायौँ। तल पूर्वपश्चिम राजमार्ग पूरै तनावग्रस्त थियो। राजमार्गको बलियो साधन भनेको रिक्सा नै हो यतिखेर। गाडी नचलेपछि घन्टौँसम्म रिक्सामा चढेर यात्रा गर्दै थिए सर्वसाधारण। अनेकौँ झमेला पार गर्दै काठमाडौँ आइपुगियो। काठमाडौँ त उस्तै थियो! जिल्लाका दुःख र बिजोगको कुनै चासो छैन काठमाडाँैलाई। काठमाडौँ अझै पनि मेलम्चीको झमेला, ट्राफिकजाम र बालुवाटार धर्नामै अलमलिइरहेको थियो। काठमाडौँलाई एउटै कुराको चिन्ता रहेछ, त्यो हो 'खसीको मासुको मुल्यबृद्धि!'

प्रकाशित: १४ फाल्गुन २०७३ ०४:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App