७ वैशाख २०८१ शुक्रबार
अन्य

'सागओल अजरबैजान' का कोलाज स्मरण

उषा हमाल

मजस्ता नाम नचलेका लेखकका लागि किताब प्रकाशनको अवस्था कस्तो छ? यस विषयमा आफ्ना निजी भोगाइ इमानदारीपूर्वक लेख्नु आवश्यक ठानेकी छु। मेरो पुस्तक छापेर प्रकाशकलाई के फाइदा होला? पाठकलाई कस्तो सन्तुष्टि मिल्ला? म कहिलेकाहीँ यस्ता प्रश्नबाट घेरिन्छु।

‘सागओल अजरबैजान’ यात्रा निबन्ध प्रकाशनका गौँडा–गल्छेँडाका सहयात्री भाइ विमल आचार्यले भन्नुभयो– 'दिदी तपाईंले सागओल अजरबैजान यात्रा निबन्ध लेखनदेखि प्रकाशनसम्मका अनुभव लेख्नुहोस्।' एउटा नियात्रा किताब लेखी टोपलेकी मलाई आफ्नै डम्फु बजाएको आरोप त नआउला भाइ? म डराएँ र भने।

कालो बादल जस्तो समय भएर कालकोठरीमा वषर्ौं थुनिएको 'सागओल अजरबैजान'को पाण्डुलिपि आज घामजस्तो, उज्यालो भएर आएको छ। आफ्नो पूर्णयौवन लिएर आएको छ। किताबको आवरणजस्तै खुलेकी छु म यो क्षणमा– सर्लक्कै बिर्सेर ती एँेठनहरू। जतिबेला म सपना देख्थेँ पाठकका हातहातमा यो किताब दौडिरहेको। र, ब्यूँझदा समयले तीतो अनुहार बनाएर मलाई भन्थ्यो— तँैले किताब लेख्नु अभिशाप हो उषा।

'हैन दिदी तपाईंले यो किताब प्रकाशनमा झेलेका अप्ठेराबारे लेख्दा नियात्रा विधा र तपाईंजस्ता बिताब लेखेर प्रकाशन गर्न दुःख पाइरहेका लेखकलाई न्याय मिल्नेछ। अवसर यही हो दिदी लेख्नुहोस्।' ल त विमल भाइ  मैले ‘सागओल अजरबैजान’ प्रकाशन गर्दा खाएका हण्डरको साक्षी तपाईंलाई राखेर लेख्न थालेँ निजी भोगाइ।

अजरबैजान बस्दाका अनुभव, पूर्व साम्यवादी व्यवस्थाबाट त्यस क्षेत्रमा परेका असर, साम्यवादी शिक्षामा गरिएको अनुसन्धान, अजरबैजानको इतिहास, भूगोल, प्रकृति र संस्कृतिबारे मेरा टिप्पणी, द्वन्द्वकालमा हामीले भोगेका विकराल समस्याको चित्रण सुनेपछि साथीहरूले दिएको हौसलाले फटाफट एकै महिनामा किताब लेखिसकेकी मलाई प्रकाशन गर्न भने पाँच वर्ष लाग्यो। यस अवधिमा करिब आधा दर्जन प्रकाशकका ढोका ढक्ढकाएँ। अन्ततः अक्षर क्रियसन्सबाट किताब पाठकका हातमा पर्‍यो। धन्यवाद छ प्रकाशक अर्चना थापालाई।

यसअघि किताबका रूपमा 'क्यानभास नपाएका चित्र' कवितासंग्रह प्रकाशित गरेर केही चर्चा बटुलेकी भए पनि प्रकाशकको नजरमा म गुमनाम नै रहिछु। यो निजी प्रकाशकहरूको सन्दर्भ हो। यो प्रकाशकको स्वतन्त्रताको कुरा पनि हो– व्यावसायिकता पनि होला।  मजस्ता गुमनाम लेखकका किताब प्रकाशनमा ल्याउनु उनीहरूको दायित्वको कति प्रतिशत अंशमा पर्छ त्यो त मलाई थाहा छैन। मलाई यति थाहा छ जुन लेखकका नामले प्रकाशकको 'किताब बजार' तताइदिन सक्दैनन् उनीहरूका किताब छापिरहनु बाध्यता नभए पनि कमसेकम व्यवहारले हतोत्साहित गर्नु नैतिक कार्यभित्र अवश्य पर्दैन।

म न त कुनै सेलिब्रेटी हुँ न मैले कुनै सेलिब्रेटीका जीवनीका किताब लेखेर प्रकाशहको ढोका ढक्ढकाउन पुगेकी हँु। मजस्ता लेेखक जसले उनीहरूलाई नामकै भरमा पनि मनग्य अर्थ लाभ हासिल गराइदिन सक्दैनन्। किन मजस्ता गुमनाम लेखकका किताबका पाण्डुलिपिका दुई अक्षर पनि नपढेर फोहरको टोकरीमा नफ्याँकिदिने? किन ती पाण्डुलिपि दराजमा थन्काएर वर्षौंसम्म अनिर्णयको बन्दी नबनाइदिने? अनि किन 'यस्तो रद्दी किताब हाम्रो प्रकाशनको प्राथमिकतामा पर्दैन' भनेर कानको जाली च्यातिने गरी टेलिफोनमै नभनिदिने? प्रकाशकहरूसँग मैले गरेको गुनासो होइन यो।

रमलाई अलिकति चित्त दुखेको थियो साझा प्रकाशनसँग, किनभने उसले जनताको कर खाएको नाताले म उसलाई आफ्नो संस्था ठान्थेँ। उसले मजस्ता लेखकलाई निष्पक्ष ढंगमा संरक्षण र प्रोत्साहन गर्नुपर्छ भन्ठान्थेँ। यही मान्यताबाट प्रेरित भएर मैले साझामा 'सागओल अजरबैजान'को पाण्डुलिपि दर्ता गरँे। तीन महिनाभित्र निर्णय हुने कुरा साझा व्यवस्थापनबाट जानकारी दिइयो। धेरै वटा तीन महिना बित्न थाल्दा पनि कुनै खबर नआएपछि आफै खोजीनिधि गर्न थालेँ। पाण्डुलिपि मूल्यांकनमा गएको बुझियो। तर, मूल्यांकनबाट भने जति पटक सोध्दा पनि फर्किएको जवाफ आएन। त्यो पाण्डुलिपि अहिले पनि कुनै मूल्यांकनकर्ताकै टेबुलमा होला!

यसरी काम नबन्ने भएपछि साथीहरूले मलाई भनसुनको बाटो अपनाउन सल्लाह दिन थाले। आखिर के खराबी छ र यसमा? मलाई त मेरो किताब छाप्नुसँग पो सरोकार छ- म धाउन थालेँ महाप्रबन्धकको कार्यकक्षमा। जवाफ मीठो–मसिनो थियो- हामी लेखकका किताब छाप्न वा लेखकका हित संरक्षण गर्न नै बसेका हौँ। तपाईको किताब हामी छिट्टै छाप्छाँै।

तर, त्यो 'छिट्टै' आउने छाँटकाँटै आएन। साझा अन्य प्रभावकारी व्यक्तिको खोजीमा लाग्नैपर्ने देखेँ मैले। एकजनाले मेरो किताब एकै महिनाभित्र छपाइदिने आश्वासन दिए, तर त्यो पनि कुरामात्रै भयो। पछि त उनको फोन उठनै छोड्यो।

साझा धरासायी हुँदै गयो र त्यहाँबाट किताब छपाउने मेरो सपना पनि धरासायी नै भयो। त्यसपछि मात्र म साहित्यकार अविनाश श्रेष्ठ र सम्पादक होम भट्टराइको सल्लाहमा 'अक्षर क्रियसन्स' पुगँे र मेरो पाण्डुलिपि यात्रा टुंगियो। साझा धरासायी भएकोमा म दुःखी छु। यो नेपाली साहित्यको धरोहर हो र यसलाई बचाउन हामी साहित्यकारको पनि दायित्व हुन्छ। साझाले जसका किताब मनग्य प्रकाशन गर्‍यो र मान–धन दुवै दियो, ती लेखक साझा धरासायी हुँदा चुपचाप सुतेको देख्दा मलाई अनौठो लागिरहेको छ।

कुरा यत्तिले मात्रै कहाँ पुग्छ र? अब कुरा आउँछ घटना विश्लेषणको। किन मैले एउटा किताब छाप्न यसरी चक्कर लगाउनुपर्‍यो? बजारमा यति धेरै निजी प्रकाशन संस्था छन्। कतिलाई पाण्डुलिपि चाहिएको पनि होला। मैले अघि नै भनिसकेँ म सेलिबे्रटी हैन र कुनै सेलिब्रेटीको जीवनी पनि मैले लेखेको हैन। यो कुरालाई यहीँ थाँती राखेर अर्को कारण खोज्दा त्यो सरासरी विधाको प्रश्न तेर्सियो। मेरो किताबको विधा पर्‍यो— नियात्रा वा यात्रा निबन्ध।

नियात्रा विधामा मैले कलम त चलाएँ, तर मैले यसको भारी मूल्य चुकाउनुपर्‍यो। आखिर किन? मेरो अनुभव कस्तो रह्यो भने एक त अधिकांश प्रकाशकले किताबमा के लेखिएको छ हैन त्यो किताब कसले लेखेको हो त्यो पक्षमा आँखा लगाउँदा रहेछन्। दोस्रो, त्यो किताब कुन विधाको छ त्यो हेरिँदो रहेछ। नियात्रा बिकाउ विधा रहेनछ अचेल। त्यसो त विधा आफैमा बिकाउ र नबिकाउ नहुनुपर्ने हो। त्यसको समकालीन प्रयोग कस्तो भैरहेछ यस कुराले त्यसको बजारमा असर पार्छ भन्ने कुरा स्वीकार्य छ। मैले नियात्रा विधामा कलम चलाएँ, त्यसकारण मैले यस विधाको वकालत गर्दैछु, कुरा त्यसो होइन र कुरा अर्को के पनि होइन भनेे नियात्रा यसरी नै लेखिनुपर्छ भन्ने कुनै कडिकडाउ बहसमा म भिडेकी पनि छैन। यो त गुरु बन्न चाहने सिद्धान्तका ज्ञातालाई नै थाहा होला।

जब ‘सागओल अजरबैजान’ यात्रा निबन्ध लेखिसकेर भाषा सम्पादनका लागि होम भट्टराईको टेलिफोनको घन्टी बजाए उहाँले सोझै भनिदिनुभयो- त्यही घुमघामका फोटा राखेर छाप्ने किताब होला हैन। किताब लेखेर बाहिर निस्कँदाको मेरो पहिलो अनुभव यस्तो रह्यो। यद्यपि, भट्टराईले मेरो पुस्तक निकै रूचि र मेहनतका साथ सम्पादन गर्नुभयो। यतिसम्म कि प्रत्येक स्थान र घटनाको प्रसंग आउँदा उहाँ नेटमा अजरबैजानको नक्सा खोतल्न थाल्नुहुन्थ्यो। यसरी उहाँ अजरबैजान देशकै फ्यान हुनु भएको मैले बुझिरहेकी थिएँ।

नियात्रा तथ्यसत्यमा आधारित लेखनी हो। यसमा अतिरञ्जित कल्पनाको स्थान हुँदैन। नियात्रामा लेखकको परिश्रमका अतिरिक्त लेखकले भ्रमणमा उठाएका मूल्य र जोखिम पनि गाँसिएका हुन्छन्। कुनै स्थानविशेषका विशेषताबारे पाठकलाई जानकारी दिनु त छँदैछ एउटा सफल नियात्राकारले आफ्ना अनुभूति र अनुभवको प्रस्तुतिबाट पाठकको हात समातेर आफूसँगै यात्रा गराउने क्षमता पनि राख्नुपर्छ। यसर्थमा एउटा राम्रो नियात्रा किताब पढ्नु भनेको घरै बसेर संसार यात्रा गर्नु हो। तर, सबै नियात्राका किताबमा यस्तो दम हुन्छ भन्ने मेरो दाबी छैन।

के पढ्ने भन्नेबारे पाठकको आआफ्नो छनोट त हुन्छ नै, तर म आफू पाठक भएर बोल्दा मलाई कुनै सन्देशविहीन, स्वैरकल्पनाका तानाबाना बुनेर लेखिएका आख्यानमा बिल्कुलै रूचि छैन। यस्ता पुस्तक लेखेर पाठकलाई तानिरहन त सकिन्छ होला, तर पढिसकेपछि पाठकको दिमागमा कुनै प्रभाव रहँदैन। यसरी पाठकलाई मूतको न्यानोमा सुताइरहनु लेखकीय धर्म हैन। यति भनेपछि मूल प्रश्नमै फर्किनुपर्छ नै। किन नियात्रा साहित्यमा पाठकको रूचि कम भयो? नियात्रा लेखकले यो कुरा गम्भीरतापूर्वक सोच्नैपर्छ। नियात्रा साहित्यका नाममा हाम्रा पाठक यात्राका दैनिकी पढिरहनुपर्ने किन? कतै हामीले हाम्रा यात्राका 'इटिनरी' छापेर पाठक बिच्काउने काम त गरिरहेका छैनौँ? त्यसो त नियात्रा मनोगत साहित्य हो र यो स्वतन्त्र लेखन पनि हो, यसो भन्दैमा हामीले यात्राका यावत मनोगत गन्थन पढ्न पाठकलाई बाध्य बनाउनु हुँदैन। नियात्रा अतिशय कल्पना र भावुकताको बोझले थिचिएको पनि हुनु हुँदैन। लेखकले कल्पना र भावनामा गरेको सगरमाथा आरोहणको यात्रावर्णन कसरी नियात्रा हुन सक्छ? निजी गन्थनको बोझ थोपरेर कतै हामी यस विधाप्रति वितृष्णा त जन्माइरहेका छैनौँ? नेपाली भाषाका कतिपय नियात्रा पढ्दा मलाई कहिलेकाहीँ यस्तो महसुस हुन्छ। उसो भए ‘सागओल अजरबैजान’ प्रकाशित गराउन नियात्रा विधा भएकै कारण गाह्रो भएको हो? यो कुरा कुनै पनि प्रकाशकले मसँग खुलेर गरेनन्। के  नियात्रा भन्दैमा पाण्डुलिपि नै नपढी रद्दीको टोकरीमा फ्याकिदिनु न्यायोचित हुन्थ्यो? यी प्रश्न ती प्रकाशकहरूसँग सोध्न बाँकी नै छ।

प्रकाशक डा. अर्चना थापाको सुझाबलाई दृष्टिगत गर्दै सच्याउने, पुनर्लेखन गर्ने काम सकेपछि ‘सागओल अजरबैजान’ २०७१ कात्तिकमा मुद्रण भयो।  लेखकहरू किताब लेख्छन्, प्रकाशन गर्छन् र लोकार्पण गर्छन्। यो सामान्य प्रकृया हो। मेरो पुस्तक लोकार्पण मलाई नै अनौठो लागेको छ। यसमा डा. अर्चनाको सिर्जनात्मकताको ठूलो देन छ। मान्छेको हातबाट जिउँदो माछाजस्तो सुुलुत्तसुलुत्त चिप्लिएर भाग्छ समय। क्षणभर अडिन मान्दैन। पछारेरै छोड्छ उसले मान्छेलाई। तर, यस्ता केही एकाध क्षण मात्र छोडिदिन्छ ऊ मान्छेलाई, प्रकाशमय क्षण। हो यही समयको एक टुक्रा प्रकाशमय क्षणलाई उनीहरूले कैद गर्ने प्रयास गर्छन् अक्वारियममा माछाजस्तै– कसैले क्यामेरामा त कसैले भावनामा  यस्तै एउटा क्षण दियो मलाई समयले। समयको एक मूल्यवान टुक्रा मेरो हातमा— मेरो यथार्थ जीवनको नाटकमञ्चन। भिलेज थिएटर लाजिम्पाटमा। जहाँ काल्पनिक नाटकहरू मञ्चन हन्छन् त्यहाँ  मेरो जीवनको यथार्थ मञ्चन भैरहेको थियो मंसिर १८, २०७१ बिहिबार अपराह्न।

भिलेज थिएटर परिसरमा पस्दै गरेका एक अग्रज पुरुष, उहाँले गम्लङ्ङ अँगालो हालेर भन्नुभयो— कति राम्रो किताब लेखेकी बा तिमीले! म त साँच्चै भावुक भएँ त्यतिबेला। मेरा स्वर्गीय बुवा ईश्वरबहादुर हमालको सम्झनाले रोएँ म त्यसबखत। मलाई आशिर्वान दिन उभिरहेका डा. अर्चनाका ससुरा शंकरप्रसाद उपे्रती। अहो यति विशाल पनि हुन्छ मान्छेको मन! म कृतकृत्य भए उहाँप्रति।

स्टेजका भित्ताभरी हिउँमय कपासका थाक, हिउँमा जीवनका कठिनाइका प्रतीक कठघरा र टेबलभरी मलाई उपहार दिन सजाएर राखिएका लटरम्म फलेर पाकेका सक्कली हलुवाबेदका हाँगाहरू। अनि मेरो स्वागतमा आफ्नो हृदय बिच्छ्याएर बसिरहेकी डा. अर्चना। ढोकामा बसेर मुसुमुसु हाँस्दै आतिथ्य बाँडीरहेका डा.अर्चनाका पति डा. सञ्जीव, आँगनमा आतिथ्य बाँड्न खटिरहेका उनकै घरका सदस्यहरू!

के म समयको कठिनतम् परीक्षामा उत्तीर्ण भएकी थिएँ त यो क्षण? थिएटरको भित्तामा उभिएर मुसुमुसु हाँसिरहेको मेरो किताब 'सागओल अजरबैजान' को आवरण। यो जादुमय क्षण कसरी र कुन दिशाबाट खस्यो मेरो जीवनको पोल्टामा? म आफैलाई प्रश्न गरिरहेकी थिएँ। मलाई यस्तो लाग्यो– समयको यो एउटा उज्यालो क्षणभित्र म सयाँै वर्ष बाँच्ने छु र यी सबै अनुहार मभित्र हजारौँ वर्ष बाँच्नेछन्।

कस्तो नदी जस्तो यो समय! एकनासले कहिले बग्न जानेन। कहिले निष्ठुरी खहरे बग्छ यो त कहिले आकाशको रङ लिएर अविरल हिँडिरहन्छ। कहिले माटोजस्तो, कहिले चट्टानजस्तो। कहिले हुरीजस्तो, कहिले हावाजस्तो। घामजस्तो, कालोबादल जस्तो रूप फेरिरहन्छ यो समय। यसरी नै कालो बादल जस्तो समय भएर कालकोठरीमा वषर्ौं थुनिएको 'सागओल अजरबैजान'को पाण्डुलिपि आज घामजस्तो, उज्यालो भएर आएको छ। आफ्नो पूर्णयौवन लिएर आएको छ।

किताबको आवरणजस्तै खुलेकी छु म यो क्षणमा– सर्लक्कै बिर्सेर ती एँेठनहरू। जतिबेला म सपना देख्थेँ पाठकका हातहातमा यो किताब दौडिरहेको। र, ब्यूँझदा समयले तीतो अनुहार बनाएर मलाई भन्थ्यो— तँैले किताब लेख्नु अभिशाप हो उषा। तेरो लेख्ने रहरलाई छोडी दे। तेरा अक्षरमा पोखिने इच्छालाई मारिदे। धन्य छ समय। म उसले दिएको यो उपहार, यो मूल्यवान क्षणलाई कसरी लुकाएर राखूँ? कसरी बाधेर राखूँ यो प्रेरणाको सगरमाथा र आत्मीयताको वर्षालाई! यस्तै रह्यो मेरो किताब लोकार्पणको क्षण। अब प्रकााशित हुने मेरा किताबको लोकार्पण गरिएला–नगरिएला, गरे पनि कुन रूपमा गरिएला? भविष्य कसले पो जानेको छ र!

प्रकाशन भएपछि छापाहरूमा समाचार एकपछि अर्को, किताब समीक्षा पनि एकपछि अर्को, रेडियो–टेलिभिजन, अनलाइन अन्तरवार्ताहरू। प्रतिक्रियाहरू निरन्तर। सबैको एउटै साझा प्रतिक्रिया– यो किताबले पढ्न सुरु गरेपछि  अन्त्य नभई छोड्न सकिन्न!

विज्ञ पाठकका हातमा परेको पहिलो प्रकाशनको चार महिनापछि दोस्रो संस्करण आएको छ। यसका लागि म पत्रकार, समीक्षक, पाठक सबैप्रति कृतज्ञ छु। अन्य भाषामा अनुवादका प्रस्ताव पनि आइरहेका छन्। हेरौँ अगाडि के हुन्छ? जे भए पनि पाठकको माया पाउनुजति ठूलो पुरस्कार एउटा लेखकका लागि अरु के नै हँुदोरहेछ र!

प्रकाशित: १४ फाल्गुन २०७३ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App