सुरेश हाचेकाली
गोमा ब्राह्मणीको मनोवाद
नवयौवनाको प्रिय पछ्यौरीजस्तो लाग्ने
स्वाभिमान–उत्तोलक राष्ट्रिय झण्डा
छानोमा निर्विघ्न फहराउँदै
हजारौँ भुजंगप्रयात खोलाहरूभन्दा पर
अर्थ मन्त्रालयसँग मुस्कुराइरहेको
लावण्यवती महिला मन्त्रालयले
सुन्दैन गँवार आइमाईको मझेरी–गनगन
तर, कहन्छु
भर्खरै पिनाले लिपेर घाममा सुकाएका
एक दर्जन डाला–नाङ्लालाई
गोप्यताको सातपत्रेमा लुकाएको मेरो मनोवाद।
पूर्व चार नम्बरका बडाहाकिमको
बाह्रैकाल सयसगिरी गर्दा
माघे तुषारो र घोडाको लिदीले
चर्चरी फुटेका थिए
मेरा ब्राह्मणका बूढा कुर्कुच्चा।
कपासजस्तै टहटह फुलेको जुनेलीमा
घुर्यानबाट
मालबोक रम्बाफल मग्मगाइरहेको
एक अद्वितीय रात
मलाई वंशविस्तारको जिम्मेवारी बोकाएर
सदरमुकामका बडाहाकिमको घोडा स्याहार्न
गए शिव शर्मा ब्राह्मण
अबला स्वास्नी
अजबाफी देउतापितृको जिम्मा लगाएर।
मेरा नाथ शिव शर्माको
दीर्घजीवनको असीम कामनामा
मैले भाकल गरेेँ वनदेवी माईलाई
खोलो तर्दा पानी अचाएँ जलदेवतालाई
षोडशोपचारले पूजा गरेँ
हरेक वर्ष भक्तवत्सल स्वस्थानी परमेश्वरीलाई।
घोडा सेवक शिव शर्मा
घोडाबाटै लडेर सकिएको खबर
धागो बाँधेको चिठीले बोकेर ल्यायो।
समाजको छिद्रान्वेषी लोचनमा
बिनाबाउको छोरो जन्मियो नवराज
गर्भे टुहुरो छोराकी शंकास्पद आमा भएँ म
जुका लाग्ने एकान्त लेकमा
तुषारोले कठ्यांग्रिएको बुकीफूलजस्तै
शिरदेखि पाउसम्म सेताम्य भएँ म
शुभसाइत र रातो रङमा बहिष्कृत
अलच्छिन बोक्ने बिधवा बाहुनी भएँ म।
हिउँदमासको मूलबाटोमा
छिल्लिँदै हिडेका ठिटाठिटीहरूको हाँसोले
धेरै पल्ट
मेरो रतिक्षुधाको असंतृप्त दहमा
अधैर्यको काउकुति लगाएर गयो
अपशोच,
परमधामबासी शिव शर्माकी बिधवा म
समाजशास्त्रको साविक विनियमले
मभित्रको गोप्य रतिशास्त्रलाई
पाप र अपराधको अनुसूचीमा थन्क्याएर राख्यो।
नेप्से परिसूचकको 'कमर्सियल' दुनियाँमा
राजकाज संयन्त्रले मेरो नवराजलाई
लघुकौमुदी र राजावादी संकथन घोकेको
एक 'मिस्पि्कट' बेरोजगार बनाएर
छट्टु बजारको पञ्चेदोबाटोमा छोडिदियो।
अविररञ्जित बनारसी कोट लगाएका
वाक्पटु सज्जनबृन्द
बैंसले पात्तिएको
चामरपुच्छे्र कालो घोडा चढेर
आक्कलझुक्कल आउँथे
शिव शर्माको यो माकुरजाले झुपडीमा
र दलानमा ओछ्याएको
एघारघरे गुन्द्रीमा बसेर
मेरो गहतबारीको छेउछेउ
रेल गुडाइदिने सपना देखाँउथे।
हात्तीले खोजीखोजी माला पहिर्याएर
राज्याभिषेक गराएको
लावण्य देशको नवराजकी महतारी हैन म
विभेद र दुर्भाग्यका जोर हात्तीले
आजीवन उठिवास लगाएकी
मैलीधैली अवला आइमाई हुँ म।
मेरो यो अभागी नाउँमा
भाग्यमानी नारी–पुरुष
प्रज्ञा, राजनीति र समाजसेवाको
उर्ध्वगामी धन्दा गर्छन् भन्ने सुनेकी छु।
देउताको नाउँमा श्वेतपत्र
ओ मांसाहारी देउता!
कहिलेसम्म मागिबस्छौ तिमी भक्तसँग
मुटुकलेजोको प्रसाद
रगतको पञ्चामृत
र मांशपेशीको अपुंगो?
सृष्टिको मिर्मिरेमा
प्रकृतिको भयप्रदायक भंगिमाबाट
आतंकित भएर आदिम मान्छेले
देउताको मानसिक बिम्ब रचेका थिए।
देउता!
अज्ञानी मानवताले कथेको
धेरै कान्छो कविता हौ तिमी
यद्यपि,
आफूभित्र आमसंहार गरेर
प्रश्नका दर्जनौँ लामपुच्छ्रे तारा
सोझा भक्तहरू रुमल्लिएका छन्
चक्रब्यूह चरित्रधारी
तिम्रो नाउँको शव्दब्रह्ममा।
हतियारधारी देउताको नाममा गरिएको
बलिदानको रातो खुनले
कुन जग्गामा कहिले उमार्यो
बोधिबृक्षको हरियो वन
जहाँ निर्भय निदाऊन्
मिर्गिनीका बालसुलभ–उत्ताउला नानीहरू।
अनन्तकालसम्म बाँच्न सक्दैनन्
ती देउता
जसले जित्दैनन् श्रमिकको मन
जसले माग्छन् महँगो आराधना
र, रगतको अभिषेक
जसले अपेक्षा गर्छन्
भोको भक्तबाट महँगो नैवेद्य
र, चाकरीजस्तो गन्हाउने भक्ति।
देउता!
तिमीलाई मेरो शताब्दीदेखि
मेरो जनातिको शताब्दीसम्म
र, त्यो भन्दा पनि धेरै परसम्म बाँच्नु छ भने
भत्काऊ तिमीभित्र गडेको जडसूत्र
फुकाल तिम्रो दुम्सीकाँडे छाला
र, भाँच कोखाभित्रको हिंस्रक दाह्रा
होइन भने,
हामी स्थापित गर्छौं
हाम्रो आस्थाको हिमानी शिरबिन्दूमा
हुण्डरीले नभाँच्ने लचिलो बृक्षजस्तो देउता
र, तिरस्कार गरिदिन्छौँ
तिम्रा मांसाहारी अर्चनाहरू।
अचाक्ली निर्मम चरित्र बोकेर
बक्ररेखा हुँदै हिड्छ इतिहास
जसले चाह्यो भने
सजिलै मेटिदिन सक्छ
मानव खप्परको रिकापी बोकेर हिँड्ने
अघोरी देउता
मिति गुज्रेको सभ्यता
र, असजिलो धर्म।
हिसाब देऊ देउता
कति युगसम्म पियौ तिमीले
जनावर–चिडियाको अर्ग्यानिक रगत
र, अबोलाहरूको आँसुको सर्बत?
रोऊन् नानीहरू
ऐँसेलुको बैशाखे मञ्जरीजस्ता नानीहरू
गलगिद्ध खेल्न चाहन्छन्
र, खेलेरै उनीहरू
खियाले नखाएको धारिलो चुलेसी हुन चाहन्छन्
नरेम्वर्गको बजारमा भेटिएको
लठुवा क्यास्पर हौजर१ नहुन चाहन्छन्।
लोग्नेस्वास्नीको अभिनय गर्छन् भने नानीहरू
भविष्यका पुनरावृत्त भइरहने महिनाहरूमा
दुःखको आकस्मिक ओइरोलाई
पृयजनले ल्याइदिएको कोसेलीजस्तै
मिलिजुली बाँडेर भोग्न सक्नेछन्।
बालुवाको घर
र, सिन्काको हेलिकप्टर बनाउँछन् भने नानीहरू
दिमागको दिग्विजयी तिक्ष्णतालाई
सृजनामा रबरजस्तै तन्काउन सक्नेछन्।
जन्ती जाँदाको खुसी
र, मलामी जाँदाको अपसोच अभिनय गर्छन् भने नानीहरू
जिन्दगीका ओसिला, पहारिला ऋतुहरूमा
संवेदनाको नैसर्गिक अन्तरा बोकेर बाँच्न सक्नेछन्।
मूलबाटोको छेउमा सुकुल ओछ्याएर
सार्वजनिक भान्सा कार्यक्रम गर्दैछन् भने नानीहरू
नबिथोलिदिनु पटक्कै
यो भव्य बालसहकारिता जारी रहोस्।
सिमेन्ट नमिसिएको पाँगो माटोमा
अघाउँजी पल्टनबाजी खेल्न पाए भने
जीवनबत्ती निभेको दिन
अन्तिम गन्तव्य माटो हो भनेर
यी नानीहरूले सम्भि्करहनेछन्।
रोऊन् नानीहरू
कोकोहोलो मच्चाउँदै रोऊन् कहिलेकाहीँ
र, हल्लिऊन् पहाडका अधबैँसे जरा
चर्कियोस् शीरमाथिको नीलोतुथो आकाश,
रुन बिर्सिएनछन् भने
उनीहरूका जोर नेत्रबाट
हर्ष र विस्मात व्यक्त गर्ने
आँसुको सञ्चयकोष कहिल्यै सिद्धिने छैन।
किसानले भर्खरै गोडेर छोडेको
तीनपाते मकैका बोटजस्ता नानीहरू
नबिग्रिऊन् त्यसरी
जसरी
धानचामर लागिसकेपछि
मकैको 'टिनेजर' बोटमा फल्छ
अधोगतिको कालोपोके।
प्रकाशित: १४ फाल्गुन २०७३ ०४:१२ शनिबार