७ वैशाख २०८१ शुक्रबार
खेल

पुलिस र संकटाको उस्तै लक्ष्य

धरान- पाँचौं पटक उपाधि जित्ने पुलिसको लक्ष्य र जारी सिजनमा उपाधिको ह्याटि्रक गर्ने सिएमजी संकटा क्लबबीचको टक्करले शनिबार धरानमा बुढासुब्बा रेडबुल गोल्डकपको उपाधि छिनोफानो गर्नेछ। नेपाली फुटबलको महारथी पुलिसको खेल खस्किदै गएपछि पछिल्लो समय आलोचना खेपिरहेको छ। यो सिजनमा ५ वटा नकआउट प्रतियोगिता खेलेको पुलिस बुढासुब्बामा मात्र फाइनल पुग्न सफल भयो। उपाधिको खडेरी टार्दै पुलिस आलोचकलाई गतिलो जवाफ दिन मात्र चाहिरहेको छैन, आरा–रारा गोल्डकप पोखरामा संकटासँग भोगेको हारको वदला पनि लिन चाहन्छ। पोखरामा संकटासँग भेट हुदा पुलिस २–१ ले हारेको थियो।

संकटा बुढासुब्बामा पहिलो सहभागितामै फाइनल पुग्ने भाग्यशाली टोली हो। फाइनल जित्दा संकटा बुढासुब्बाको नयाँ च्याम्पियन मात्र हुनेछैन, उसले सिजनको तेस्रो महत्वपूर्ण उपाधि पनि उचाल्नेछ। जारी सिजनमा ९ वटा प्रतियोगितामा भाग लिएको संकटाले यसअघि ४ वटामा फाइनल खेलेको छ। त्यसमध्ये नारायणगढको विकास रनिङ सिल्ड र सिमरा गोल्डकपको उपाधि जितेको छ भने खप्तड गोल्डकप(धनगढी) र राइनो गोल्डकप(नवलपरासी)मा उपविजेतामा सिमित भएको थियो।

गत कार्तिकदेखि पुलिसको प्रशिक्षक बनेका कुमार कटवाललाई पनि उपाधि जित्नै पर्ने दबाब छ। 'इतिहास बोकेको टिम हो। तर पछिल्लो समय पुलिसको खेल खस्कियो भनेर आलोचना भइरहेको छ। त्यसले गर्दा जित्नै पर्ने दबाब छ,' प्रशिक्षक कटवालले भने, 'टिममा अनुभवी र जोसिला खेलाडी छन्। त्यसैले जित्छौं भन्ने आत्मविश्वास छ।' बुढासुब्बामा थ्रीस्टार र पुलिस सर्वाधिक ४ पटक उपाधि जित्ने टोली हुन्।

संकटाका प्रशिक्षक सल्यान खड्गी भने २ बर्षअघिसम्म क्लबकै खेलाडी थिए। उनले प्रशिक्षकको कमाण्ड सम्हालेयता यो सिजनमा संकटाले उत्कृष्ट लय समातेको छ। खेलाडीहरुले निर्देशन वमोजिम र अपेक्षा गरेअनुसार प्रर्दशन गरिरहेकोले उपाधि जित्नेमा उनी आशावादी छन्। 'खेल ५०/५० हो, तर हामी पहिलो हाफमा गोल गर्न खेल्ने हो। अहिलेसम्म यो लक्ष्यमा सफल भएका पनि छौं,' खड्गीले भने। 

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App