काठमाडौं- स्तन क्यान्सरबारे चेतना जगाउँदै महिला सशक्तिकरणको अभियान चलाउने उदेश्यमा शुक्रबार सम्पन्न पिंकाथन हाफ म्याराथनमा सशत्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले नयाँ राष्ट्रिय कीर्तिमानसहित उपाधि जितेकी छिन्।
१ घन्टा १८ मिनेट २८ सकेन्डमा दैड पूरा गरेकी कान्छिमायाले २००६ को बर्लिन म्याराथनमा निर्मला भारतीले बनाएको कीर्तिमान तोडेकी हुन्। निर्मलाको नाममा १ घन्टा १८ मिनेट ४८ सेकेन्डको कीर्तिमान थियो। तथापी नेपाल एथलेटिक्स संघले यसलाई आधिकारिकता प्रदान गर्न बाँकी छ। वरिष्ठ प्रशिक्षक सुशीलनरसिंह राणाले अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि डोपिङ प्रशिक्षण अनिवार्य रहेको बताउँदै कान्छिमायाको कीर्तिमानले मान्यता नपाउने संकेत गरे।
महिला सशक्तिकरणका साथै स्वास्थ्य जनचेतनाका लागि आयोजित रेस जित्नुको विशेषता त आफैमा थियो, त्यसका साथै राष्ट्रिय कीर्तिमान पनि तोड्दा उनका लागि पिंकाथन अझ विशेष रह्यो।
‘एकदम खुशी लागिरहेको छ,’ कान्छिमायाले भनिन्, ‘राष्ट्रिय कीर्तिमान बन्छ भन्ने सोचेको थिइन। तर कोटेश्वर पुगेपछि कीर्तिमान बन्छ जस्तो लाग्यो। अनि मैले तान्न थालेको हो।’
प्रतियोगिताका आयोजक रामचन्द्र श्रेष्ठले शुक्रबारको सफलताबाट आगामी संकरणका लागि हौसला मिलेको बताए। उनले थपे, ‘पहिलो संस्करण गर्न चुनौती थियो। आजको सफलताले आगामी संस्करणलाई अझ भव्य र सफल बनाउन प्रेरणा मिलेको छ।’
त्रिभुवन आर्मी क्लबकी रेशु बस्नेत दोस्रो भइन्। उनले १ घन्टा २२ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरेकी थिइन्। पहिलो भएकी कान्छिमायाले ५० हजार रुपैयाँ नगद पुरस्कार हात पारिन् भने रेशुले २० हजार रुपौयाँ नगद जितिन्। पहिलो र दोस्रो हुनेले आगामी मुम्बई म्याराथनमा प्रतिस्पर्धा गर्न पाउनेछन्। तेस्रो भएकी सेनाकै पुष्पा भण्डारीले १ घन्टा २४ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गरिन्। उनले दश हजार रुपैयाँ हात गरिन्।
महिलाहरु स्वस्थ रहे मात्रै परिवार र समाज स्वस्थ रहने भन्दै चर्चित बलिउड मोडल तथा पूर्व खेलाडी मिलिन्द सोमनले सम्पूर्ण रुपमा महिलाप्रति समर्पित कार्यक्रम गर्न पाएकोमा खुशी लागेको बताए। उनले भारतबाहिर पहिलो पटक आयोजित यो कार्यक्रमले अन्य देशमासमेत प्रेरणा दिने बताए।
नेपाल एथलेटिक्स संघसँगको सहकार्यमा लेजर पोर्ट र शिवम ग्रुप होलीडेजले काठमाडौंमा प्रतियोगिता गरेको हो। महिलाले मात्र सहभागिता जनाउने दौडमा करिब ३ हजार सहभागि थिए। २१ र १० किलोमिटरतर्फ प्रतिस्पर्धा भएको थियो भने ३ र ५ किलोमिटरतर्फ चेतनामुलक दौड गरिएको थियो।
१० किलोमिटरमा आर्मीकी सरिता बासीले उपाधि जित्दा आर्मीकै लक्ष्मी पाण्डे दोस्रो तथा मध्यपश्चिमकी फूलमती राना तेस्रो भइन्। पहिलोे हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपौयाँ नगद पुरस्कार हात पारे।
प्रकाशित: १४ फाल्गुन २०७३ ०३:२८ शनिबार