८ वैशाख २०८१ शनिबार
समाज

पशुपतिमा १२ लाख भक्तजन

काठमाडौं- यसपटकको शिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न पुगेका भक्तले सहज महसुस गरे। यसपटक भिआइपी पास, विशेष पास र पैसा लिएर दिइने टिकट व्यवस्था खारेज भएका कारण लाममा बसेको भक्त खुसी देखिए।

'बर्सेनि लाममा बसेर भिआइपी, विशेष पास र हजार रुपैयाँका टिकटवालाबाट सास्ती पाइन्थ्यो। यस वर्ष त्यस्तो सास्ती खेप्नु परेन', ताहाचलकी सुनीता महर्जनले पशुपतिनाथको दर्शनपछि नागरिकसँग भनिन्, 'पोहोर पाँच घन्टा लाइनमा बसेर त्यसपछि पनि तँछाडमछाड गर्दै मन्दिर पस्दा म बिरामी नै भएँ। तर, यस वर्ष लाममा बसेको दुई घन्टामै मन्दिर प्रवेश गर्न पाइयो। लाइन पनि छिटो सर्‍यो, एक हजारका टिकटवालाको सास्ती पनि खेप्नु परेन।'

मन्दिरभित्र प्रवेश गरेका नागा बाबाले पनि विगतको भन्दा फरक अनुभव सुनाए। मन्दिर परिसरभित्रको सफाइमा यस वर्ष कोषले निकै ध्यान दिएको र खानपिन तथा व्यवस्थापनमा समेत उचित व्यवस्था गरेकाले नागा बाबा पनि सन्तुष्ट देखिए।

हैदरावादबाट आएका नागा बाबा सुनिल गिरीले भने, 'गत वर्ष मन्दिरभित्रको फोहोरले हामीलाई सास्ती खेप्नुपरेको थियो,'  गिरिले नागरिकसँग भने, 'हामी जोगीको शौचालय पनि यसपटक व्यवस्थित छ।'

भगवान् पशुपतिनाथप्रति श्रद्धा राखेर मन्दिर क्षेत्रमा आउने जोकोहीलाई पनि निःशुल्क भोजन, आवास र स्वास्थ्यशिविरको भक्तजनले प्रशंसा गरे। 'पशुपतिको दर्शनपछि हामी परिवारसहितै निःशुल्क शिविरमा गएर हलुवा, पुरी, तरकारी खाएर चिया पियौं,' रौनियार महिला समाजको भोजन शिविरमा भेटिएका चितवनका मनिष श्रेष्ठले भने, 'श्रीमतिको ब्लड प्रेसर पनि चेक गराइयो।'

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले यस वर्ष विशेष पास र हजार रुपैयाँको टिकट हटाएर मन्दिर प्रवेशमा समानता कायम गर्न सकेकोमा खुसी व्यक्त गरे। 'मन्दिरभित्र ६ लाख भक्तजनको प्रवेश गरे। मन्दिरबाहिर पनि ६ लाख गरी १२ लाख भक्तजनलाई व्यवस्थापन गर्न पाउँदा सन्तुष्टि मिलेको छ,' टण्डनले भने, 'आइतबार बाबाहरुको बिदाइमा २३ सयदेखि ५ हजार रुपैयाँ दक्षिणाको व्यवस्था कोषले गरेको छ।' यस वर्ष दालभात, तरकारीलगायतका पकाएका खाना प्रतिबन्ध गरेकोले पनि मन्दिर परिसर र क्षेत्र सफा रह्यो।'

कोषाध्यक्ष तारानाथ सुवेदीले भक्तको लाइन व्यवस्थापन गर्न यस वर्ष पाका स्वयंसेवक र प्रहरीको मुख्य भूमिका रहेको भन्दै प्रशंसा गरे। कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले १  सय ५० नागा र अन्य सम्प्रदायका २ सय जोगी मन्दिरभित्र धुनी बालेर बसेको जानकारी दिए।

प्रकाशित: १४ फाल्गुन २०७३ ०३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App