७ वैशाख २०८१ शुक्रबार
समाज

दर्शन नगर्नेको पशुपतिमा मेला

काठमाडौं- पशुपति विकास कोषले यस वर्षको शिवरात्रीमा पशुपति क्षेत्र आउने आधा मानिस मन्दिर दर्शन नगरी बाहिरबाहिरैबाट फर्कने जनाएको थियो। त्यसरी पशुपतिनाथको मन्दिर प्रवेश नगरी बाहिरैबाट फर्कनेको संख्या साढे छ लाख हुने उसले अनुमान गरेको थियो।

शिवरात्रीका दिन पशुपति दर्शनकै लागि देशविदेशबाट भक्तजन आउने भए पनि मन्दिर प्रवेश नगर्नेको पनि ठूलो भीड लाग्ने गर्छ। तिनैले शिवरात्रीको दिन पशुपतिको वातावरण रन्काएको देखिन्छ।

पशुपति आर्यघाट हुँदै वनकाली जाने सिँढीबाट आवतजावत गर्नेको भीड हेर्न लायकको थियो। ठेलमठेल भीडमा धेरैजसो युवा अनुहार देख्न सकिन्थ्यो। त्यहि भीडमा भेटिए भक्तपुरबाट आएका उत्सर्ग दाहाल। साथीभाइसँग आएका उनले पशुपतिनाथको मन्दिर भने दर्शन गरेनन्। 'दर्शन गर्नेको लामो लाइन देखेर नै अत्यास लाग्छ। त्यसैले आज मन्दिर प्रवेश गरिनँ।' उनले भने। घाटपारी बागमती तीरमा बसिरहेका पूजारीबाट टिका लगाई फर्कने उनले बताए।

हुन पनि लाइन लागेर गरिने मन्दिर दर्शन पनि कम दुखजिलो थिएन। चावहिलदेखि बिहान साढे तीन बजेदेखि लाइन लागेका काठमाडौंका मधु सुवेदी दिउँसो तीन बजे बल्ल पशुपति परिसरको ढोका छेउ पुगेकी थिइन्। 'यो त हामीलाई सजाय नै भयो। पहिलेका शिवरात्रीहरुमा दुईतीन घण्टामा दर्शन गरिसकिन्थ्यो।' लाइनमा बसेकाहरुको आआफ्नै गुनासाहरु सुनिन्थे। वृद्धा तथा अशक्तहरुका लागि सजिलोसँग मन्दिर प्रवेशको व्यवस्था मिलाएको भनिएपनि कतिपय वृद्धवृद्धाहरु १०/११ घण्टा लाइनमा उभिएका थिए। भारतबाट आएकी ७० वर्षीया बासमती बाबुलाल नौ घण्टा लाइनमा उभिँदा पनि पालो नआएपछि आक्रोशित थिए।

घण्टौं लाइनमा उभिनुको दुःख छोड्ने हो भने, भीडको रमिता हेर्नैका लागि आउनेहरुकै पनि ठूलो जात्रा हो शिवरात्री। शिवरात्रीमा आउने थरीथरकिा जोगी र साधुहरु हेर्नका लागि पनि धेरै मान्छे आउने गरेका छन्। थानकोटबाट आएकी सोनी मगरले शिवरात्रीमा बाबाहरुको भीड लाग्ने कुरा सुनेकी मात्र थिइन्। 'यसपालि चाहिँ गाँजा खाने जोगीहरु आफैं हेरुँ भनेर आएकी।' उनले भनिन्। जोगीहरु गाँजा खाँदै खुवाउँदै लठ्ठ परेको देखेर चकित परेको उनले बताइन्। शिवरात्रीभन्दा कैयौं दिन पहिलेदेखि पशुपति आएर बस्ने भए पनि साधु र बाबाहरु शिवरात्रीको दिन भने मन्दिर परिसरभन्दा बाहिरका क्षेत्रमा पनि ठूलो संख्यामा बस्छन्। ती पनि शिवरात्रीका दिन पशुपति मन्दिर दर्शन गर्ने बाहेकका भीड हुन्।

आर्यघाट र भस्मेश्वर घाटभन्दा पारीपटि्ट वनकाली क्षेत्रमा रहेका सत्तल अनि साना मन्दिर तथा स्मारक परिसरमा साधुहरुको भीड थियो। त्यहाँ उनीहरु साना कचौरा र रुमालमा गाँजा धतुरो खाँदै अनि बेच्दै बसिरहेका थिए। भगवान शिवजीको प्रसादको रुपमा गाँजा भाङ खानैका लागि शिवरात्री पर्खिरहेका युवाहरु गाँजा बेच्ने बाबाहरु वरिपरि झुम्मिएका थिए। कोही चुरोटमा गाँजा मिसाएर खाइरहेका थिए, कोही भने चिलिममा सल्काएर तन्काइरहेका थिए। अरुबेला कानुनी र सामाजिक रुपमा वर्जित यो दृश्यलाई पशुपतिमा हुने हरेक शिवरात्री मेलामा कुनै आश्चर्यको रुपमा लिएको देखिँदैन। पशुपति क्षेत्रमा गाँजा, भाङ बाँड्ने साधु सन्तहरुलाई कार्वाही गर्ने प्रहरीले बताएको भए पनि शिवरात्रीका दिन पशुपतिमा निर्बाध रुपमा गाँजा, भाङ किनबेच भएको देख्न सकिन्छ।

गाँजा, भाङ नियन्त्रण गर्ने त परै जाओस् प्रहरीलाई मन्दिरको बाहिरी क्षेत्रमा अनावश्यक होहल्ला गर्ने जमातको व्यवस्थापन गर्न पनि हम्मेहम्मे परेको व्यवस्थापन र सुरक्षार्थ खटिएका प्रहरीको अनुभव छ। 'निर्धारित बाटोबाट मात्र आवतजावत गराउन नै मुस्किल छ। मानिसहरु कुरै नबुझी हामीमाथि नै आइलाग्छन्।' नेपाल प्रहरी प्रतिष्ठान मातहत गौशालामा खटिएका सई अमोदकान्त झाले भने, 'दर्शन गर्न लाइनमा बस्नेभन्दा मन्दिर दर्शन नगरी बाहिरै रहने भीड नियन्त्रण साह्रै गाह्रो परेको छ।' पशुपति विकास कोषका अनुसार यसपालिको शिवरात्रीमा चार हजार नेपाल प्रहरी, दुई हजार पाँच सय सशस्त्र प्रहरी बल, चार सय राष्ट्रिय अनुसन्धानका प्रहरी सुरक्षार्थ खटिएका थिए।

पशुपति परिसर बाहिरतिर माग्नेहरुको लर्काे पनि ठूलै देखियो। उनीहरुले ध्याउन्न दर्शनार्थीले दिने भिक्षामा छ न कि पशुपति मन्दिरको दर्शन। पशुपति क्षेत्रमा अन्य समय पनि माग्ने मान्छे देख्नु अनौठो होइन। यद्यपी शिवरात्रीका दिन भने बाटाभरि माग्नेहरु भाँडा ओछ्याएर बसेको देख्न सकिन्छ। देशका विभिन्न ठाउँ र भारतबाट समेत माग्नेहरु आएर बस्ने गरेको बताइन्छ।

उखान नै छ, 'पशुपतिको जात्रा, सिद्राको व्यापार'। जहाँ मेला, त्यहाँ व्यापार पनि हुन्छ। पशुपति क्षेत्रमा पूजा सामग्री बेच्ने पसलेबाहेक यहि एक दिन मात्र पशुपति आएर बस्ने व्यापारीहरु गौशाला, पुरानो बानेश्वर, मित्रपार्कतिर सम्म बाटामै सामान फैलाएर बसेका थिए। एक व्यापारीले भने 'कति मानिस सरसामान किन्नकै लागि पनि शिवरात्रीमा यहाँ आउँछन्।'

शिवरात्रीमा पशुपति क्षेत्र वरपर थरिथरि व्यापार पनि हुने गरेको छ। हात हेराउने ज्योतिषीदेखि, टिका लगाइदिने पूजारीसम्मको पनि आम्दानी गर्ने राम्रो अवसर बन्ने गरेको छ शवरात्री। भस्भेश्वर छेउमा बसेर भक्तजनलाई टिका लगाइदिइरहेका पूजारी मेघनाथ ढुङ्गेलले भने 'निकै मुस्किलले भित्र छिरियो। शिवरात्रीको बेला अरु बेला भन्दा अलि बढी कमाइ छ हुन्छ नै।' उनी पनि शिवरात्रीको दिन पशुपतिनाथको मन्दिर दर्शन नगरी फर्कने बताए। भने 'अरु बेला आएर अघाउञ्जेल दर्शन गर्ने हो, शिवरात्रीमा सकिन्न।'

प्रकाशित: १४ फाल्गुन २०७३ ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App