coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मनाङलाई जित्नैपर्ने दबाब

चित्तगोङ- शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको सेमिफाइनल प्रवेशका लागि जित्नैपर्ने दबाबका साथ लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङ्दी क्लबले शुक्रबार (आज) आयोजक चित्तागोङ अवाहनी लिमिटेडसँग प्रतिस्पर्धा गर्दै छ।

आयोजक चित्तागोङ अवाहनीलाई बराबरीले पनि अन्तिम ४ मा स्थान बनाउन पर्याप्त रहेकाले नेपालको प्रतिनिधि मनाङका लागि समूहचरणको अन्तिम खेल अझ चुनौतीपूर्ण रहेको छ। पहिलो खेलमा मोहमडनलाई २–० ले हराएको मनाङले समूहचरणको दोस्रो खेलमा अफगानिस्तानी क्लब साहिन अस्मायीलाई ३–१ को नतिजा सुम्पेको थियो।

घरेलु प्रतियोगितामा उपाधि ह्याटि्रक गरेका मनाङका मुख्य प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले शुत्रबारको खेल 'गर या मर' जस्तो रहेको बताए। उनले सेमिफाइनल प्रवेशका लागि बराबरी पर्याप्त नभएकाले चित्तागोङविरुद्ध आफ्ना सबै विकल्प प्रयोग गर्ने बताए।

'समूहचरण पार गर्नका लागि हामीलाई जित्नैपर्ने छ। त्यहीअनुसार हामीले तयारी गरिरहेका छौं,’ मुख्य प्रशिक्षक लोप्साङले भने।

समूह 'बी' मा रहेको मनाङ ३ अंकका साथ  तेस्रो स्थानमा छ भने शीर्ष टोली चित्तागोङको ४ अंक छ। गोलअन्तरमा आधारमा सहिन अस्मायी दोस्रो स्थानमा छ भने १ अंक जोेडेको मोहमडन अन्तिममा छ। मनाङले बराबरी खेले सहिन अस्मायी र मोहमडनबीचको नतिजा कुर्नुपर्ने हुन्छ। मोहमडनले सहिन अस्मायीलाई पराजित गरे सेमिफाइनलका लागि मनाङलाई बराबरी पनि पर्याप्त हुनेछ। तर, मनाङ प्रशिक्षक लोप्साङले आफ्नै बलमा अघिल्लो चरण प्रवेश गर्ने विश्वास व्यक्त गरे।

'हामी अरूको खेलमा निर्भर हुँदैनौं। शुक्रबार जितेर पूर्ण तीन अंक लिएर सेमिफाइनलमा स्थान बनाउँछौं,' लोप्साङले थपे, ‘दोस्रो खेलमा खेलाडीले सोचेअनुरूप प्रदर्शन गर्न सकेनन्। तर शुक्रबार उत्कृष्ट प्रदर्शनसहित जित्नेमा म विश्वस्त छु। चित्तागोङ पनि कमजोर टोली हैन। तर उनीहरूको खेल हामीले हेरिसकेका छौं। पाएको मौका सदुपयोग गरे हामी उनीहरूलाई हराउन सक्षम छौं।'

यस्तै, कप्तान अनिल गुरुङले चित्तागोङविरुद्धको खेल फाइनलजस्तै भएको बताए। 'हामीलाई अघिल्लो चरण प्रवेशका लागि निश्चित जितको खाँचो छ। बराबरीले हामी अर्काे चरणमा प्रवेश गर्न सक्दैनौंं। त्यसैले यो फाइनल खेल नै हो,' कप्तान गुरुङले भने, 'उनीहरूलाई घरेलु मैदानको फाइदा हुनेछ। साथै, उनीहरूलाई बराबरी पनि पर्याप्त छ। आशा गरौं तीन अंक लिएर हामी सेमिफाइनल प्रवेश गर्नेछौं। उनीहरूको फरवार्ड लाइन राम्रो छ त्यसैले हाम्रो रक्षापंक्तिलाई मजबुत बनाउँदै पाएको अवसरलाई सदुपयोग गर्‍यौं भने जित्न सक्छौं।’

प्रकाशित: १३ फाल्गुन २०७३ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App