coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

समर क्याम्पका नाउँमा बालबालिकाको अमेरिका तस्करी

सारा लिङ्क इन्टरनेशनलकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठ

कृष्ण ढुंगाना/दीपक खरेल

काठमाडौं— नौ जना बालबालिका अमेरिका पुर्‍याएर उतै छोडेको अभियोगमा पुतली सडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ। समर स्कूलका लागि भनेर अमेरिका पुर्‍याएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाटै भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले उनलाई नियन्त्रणमा लिएको थियो।

९ बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलाई पत्र पठाउँदै श्रेष्ठमाथि अनुसन्धान आग्रह गरेको थियो।

अध्यागमन विभाग महानिर्देशक केदार न्यौपानेले बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको नागरिकन्युजलाई बताए। विमानस्थलको रेकर्डअनुसार २४ जुनमा रजनी श्रेष्ठ १२ बालबालिका साथमा न्युयोर्कका लागि उडेकी थिइन्। फर्किंदा उनको साथमा ३ बालबालिका मात्र थिए।

महानिर्देशक न्यौपानेले बालबालिका तस्करीको गम्भीर उद्देश्य देखिएकाले अमेरिकी अध्यागमनले पत्र पठाएरै अनुसन्धान अनुरोध गरेको जनाए। ' केस गम्भीर देखिएकाले हामीले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइसकेका छौं। हनुमानढोका प्रहरीले अनुसन्धान गरिरहेको छ।’ यो मुद्दालाई अहिले महानगरीय प्रहरी परिसर हनुमान ढोकाले अनुसन्धान गरिरहेको छ।

यसरी छोडिए ९ बालबालिका अमेरिकामा

पुतली सडकमा कार्यालय रहेको सारा लिङ्क विदेश पढ्न जानेहरुलाई परामर्श दिने कम्पनी हो। कम्पनीले सन् २०१६ को इएसएल ब्रिजको गृष्म कार्यक्रम (समर प्रोग्राम) मा अमेरिका लैजान १४० आवेदन लिएको थियो।

अमेरिकाको इकोसेरा इएएसएल ब्रिज स्कूलले स्काइपबाट उनीहरुसँग अन्तर्वार्ता गर्दा ८६ जना उत्तीर्ण हुन सफल भएका थिए। सारा लिङ्कले ८६ जनाको डकुमेन्टेसन गरेर काठमाडौंस्थित अमेरिकी दूतावासमा भिषा आवेदन पठाएको थियो। ती मध्ये १३ जनाले भिषा पाउन सफल भए। पैसाको लेनदेन नमिल्दा एका जना अमेरिका गएनन्।

दोस्रो भाषा अंग्रेजी भएकाहरुलाई अंग्रेजी भाषा, संस्कृतिसँग जोड्न अमेरिकामा इएसएल ब्रिज कार्यक्रम सञ्चालन हुनेगर्छ।

बालबालिका तस्करीको शंकामा अमेरिकी अध्यागमन विभागले नेपालको अध्यागन विभागलाई पत्र पठाएर अनुसन्धान गर्न आग्रह गरेको थियो। सोही अाग्रहअनुसार त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अध्यागमनले ९ बालबालिका अमेरिकामा छोड्ने सारा लिङ्क इन्टरनेशनलकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ।

सारा लिङ्कले उत्तरी क्यालिफोर्नियास्थित इएसएल ब्रिजका लागि नेपालबाट बालबालिक अमेरिका पठाउने काम गर्दै आएको छ। इएसएल ब्रिजको नेपाल प्रतिनिधि रहेको दाबी गर्दै उसले यो पटक गृष्म कार्यक्रमका लागि आवेदन लिएको थियो।

यहाँबाट उत्तरी क्यालिफोर्नियाको स्कूल हिँडेका बालबालिका मध्ये ८ जना न्युयोर्क विमानस्थलबाटै गायब भएका थिए। अर्का एक जना गृष्म कार्यक्रममा सहभागी भएको दोस्रो दिन गायब भएका थिए। बाँकी रहेका ३ जना लिएर रजनी नेपाल फर्किएकी थिइन्। सोही क्रममा उनलाई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल अध्यागमनले पक्राउ गरेको थियो।

अमेरिका पुर्‍याएर भागेका ९ बालबालिका न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नै मर्जीले अलग भएको उनले बताइन्। ‘उनीहरु आफ्नै मर्जीले मेरो साथबाट छुटेका हुन्। उनीहरुको के प्लान थियो मलाई थाहा हुने कुरा भएन', श्रेष्ठले भनिन्। उनीहरु कसैको पनि उमेर १६ वर्षभन्दा माथि छैन। अमेरिका गएका मध्ये ४ केटी र ८ केटा थिए।

यो प्रकरणमा करिब २ करोड रुपैयाँको कारोबार भएको अनुसन्धानमा संलग्न प्रहरीको अनुमान छ। स्रोतका अनुसार सारा लिङ्कले भिषा बापत प्रत्येक अभिभावकहरुसँग १५ देखि १८ लाख रुपैयाँ उठाएको थियो।

बालबालिकालाई संरक्षणबाट छुटाएको अभियोगमा महानगरीय प्रहरी परिसर हनुमानढोकाले अनुसन्धान गरिरहेको यो मुद्दामा ६ बालबालिकाका मातापिताले आफ्ना सन्तान अमेरिकामा सुरक्षित रहेको लिखत गरिदिएका छन्। प्रहरीले रजनीलाई हाजिरी जमानीमा छोडेको छ।

परिसरका डिएसपी सिद्धिविक्रम शाहले ६ जनाका अभिभावकले मञ्जुरीमै आफ्ना छोराछोरी अमेरिकामा बसेको कागज गरिदिएको बताए। बाँकी ३ जनाका अभिभावकसँग सम्पर्क गर्ने प्रयास भइरहेको छ।

‘६ जनाका अभिभावक सम्पर्कमा आइसक्नु भएको छ। उहाँहरुले मञ्जुरीमै अमेरिकामा बसेको भनेर कागज गरिदिनु भएको छ’, डिएसपी शाहले नागरिकन्युजसँग भने, ‘मानव तस्करीभन्दा भन्दा पनि बालबालिकालाई संरक्षणबाट छुटाएको अभियोगमा अनुसन्धान जारी राखेका छौं।’

बालबालिका अमेरिकामै बस्नुमा आफ्नो कुनै दोष नभएको श्रेष्ठले दाबी गरिन्।

प्रकाशित: २४ असार २०७३ ११:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App