८ वैशाख २०८१ शनिबार
समाज

सेनाको हेलिकोप्टरमार्फत तातोपानीबाट ५८ जनाको उद्दार

काठमाडौं– भोटेकोशीमा आएको बाढीपछि घरवारविहिन भई ४ दिनदेखि आपत्मा फसिरहेका तातोपानीका ५८ जना पीडितलाई शुक्रबार उद्दार गरिएको छ। नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट पटकमा ५८ जनालाई तातोपानीबाट बाह्रविसे बजारमा ल्याएर उद्दार गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दवाडीले बताए।

प्रजिअ दवाडीका अनुसार उद्दार गरिएका ५८ जना मध्ये ४४ जनालाई स्थानीय प्रशासनले शुक्रबार नै बस चढाएर सडकमार्ग हुँदै काठमाडौं पठाएको छ। त्यस्तै, १३ जना बाह्रबिसे आसपासमा रहेका आफन्तको शरणमा बसेका छन्। त्यसमध्ये एक जना विरामी रहेकोले सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।

यसअघि तातोपानी स्थानीय चौकीडाँडामा हेलिकोप्टर ल्याण्ड गर्ने भनिएको भएपनि खराब मौसमका कारण जान नसकेपछि दशकिलो भन्ने स्थानमा ओरालिएको थियो। बाढी तथा पहिरापीडितहरुले आफ्नो बन्दोबस्तीका सामानसहित थातथालो छोडेर हेलिकोप्टरमा सुरक्षित स्थानमा गएका हुन्।  

बाढीले अरनिको राजमार्गअन्तर्गत बाह्रविसेदेखि उत्तरतर्फको २६ किलोमिटर सडक क्षतविक्षत बनाउँदा सडक यातायात सञ्चालन गर्न नसकिएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्दार गरिएको हो।  

मंगलबार राती तिब्बतबाट आएको बाढीले तल्लो तटीय क्षेत्रमा व्यापक क्षति पुर्याउने क्रममा अहिलेसम्म तातोपानीका झण्डै ५० घर बगाएको छ। दशकिलो भन्ने स्थानदेखि लिपिङसम्मको १० किलोमिटर क्षेत्रको बस्ती र राजमार्ग बाढीले क्षतविक्षत बनाएको छ। बाढीपछि धार परिवर्तन गरेको भोटेकोशीले अहिले पनि त्यहाँ तीव्र रुपमा कटान गरिरहेको छ।

बाढीपछि १० किलो, तातोपानी, कोदारी, लिपिङ बजार करिब विनास भइसकेको अवस्थामा छ। २०० भन्दा बढी परिवार विस्थापित छन्। उनीहरु चौकिडाँडालगायत सुरक्षित स्थानमा आश्रय लिइ बसेका छन्।

तातोपानी असुरक्षीत महसुस गर्दै काठमाडौं जानका लागि पीडितहरुले बुधबारदेखि नै हेलिकोप्टरको माग गर्दै आएका थिए। केही पीडितहरु भने हिँडेरै काठमाडौंलगायत सुरक्षित स्थानमा अस्थायी रुपमा बसाइ सरिरहेका छन्।   

 

प्रकाशित: २४ असार २०७३ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App