coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भारतीय राजदूतको बिदाइमा मधेसी दलको अलग-अलग कार्यक्रम

काठमाडौं- माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै तराई–मधेस बन्द गर्ने तराई मधेस केन्द्रित दलले भारतीय राजदुत रञ्जित रेको भव्य बिदाइ समारोह आयोजना गर्दैछन्।

राजेन्द्र महतो नेतृत्व सद्भावना पार्टीले फागुन १२ तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले फागुन १४ गते शनिबार अलग–अलग औपचारिक कार्यक्रम नै राखेर राजदूतको बिदाइ गर्न लागेका हुन्। राजदूत रेको कार्यकाल फागुन १४ मा सकिँदै छ। 

सद्भावनाले गजेन्द्रनारायण पब्लिक वेलफेयर फाउन्डेसनका नामबाट बिहीबार राजधानीको एलो प्यागोडा होटलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ। 'भारतीय राजदूतको उक्त बिदाइ कार्यक्रमका लागि निम्तो पठाइसकेका छौं', महतोले नागरिकसँग भने।

यसैगरी, महतो र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवामा उनै राजदूतको बिदाइ कार्यक्रमका लागि होटेल र्‍याडिसन बुक गरिएको छ। उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि बौद्धिक क्षेत्रबाट पनि प्रतिनिधि बोलाइएको तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले जानकारी दिए।

'मोर्चाको आयोजनामा राजदूत रेको बिदाइ कार्यक्रम गर्न लागिएको हो, त्यसका लागि विभिन्न पार्टीका प्रतिनिधिलाई पनि सहभागिताका लागि निम्तो गरिएको छ', त्रिपाठीले नागरिकसँग भने।

उनका अनुसार भारतीय राजदूतको बिदाइ पार्टीकै परम्परा हो। यसअघि अन्य दलले पनि भारतीय राजदूतको बिदाइ कार्यक्रम गर्दै आएको उनको दाबी छ।

यसैबीच, फागुन १० मा नेपाल–भारत महिलामैत्री समाजले राजदूत रेको औपचारिक बिदाइ कार्यक्रम गरेको थियो। उक्त कार्यक्रममा तमलोपाका महन्थ ठाकुर, हृदयेश त्रिपाठी, मीनेन्द्र रिजाल, शान्तिमन्त्री सीतादेवी यादव लगायत थिए। 

समाजले भैरहवामा पनि त्यस्तै खाले कार्यक्रम गरेको थियो भने भारतीय गणतन्त्र दिवसको अवसरमा राजदूत रेकै उपस्थितिमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन व्यवस्था गरेको थियो।

त्यसअघि उक्त होटलमा योगाचार्य जेएन सरस्वतीले भारतीय राजदूतको बिदाइमा एक कार्यक्रम आयोजना गरेका थिए। फागुन २ गते मदनमोहन मानवीय मिसनले आयोजना गरेको उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन पुगेका थिए।

त्यसअघि पूर्वराजदूत विजयकान्त कर्णको एनजिओ जागृत नेपालले आयोजना गरेको एक कार्यक्रममा भाग लिन रञ्जित रे वीरगन्ज पुगेका थिए। भारतीय दूतावासकै सहयोगमा भएको उक्त कार्यक्रममा भारतीय पूर्वमन्त्री रघुवंश सिंहसहित नाकाबन्दीका बेला नेपालका आन्दोलनकारीलाई रक्सौलमा भातभान्सा व्यवस्था गरिदिने भारतीय नागरिक महेश अग्रवालको पनि उपस्थिति थियो। त्यसको भोलिपल्ट महावाणिज्य दूतावासमा रेको बिदाइ कार्यक्रम आयोजना गरिएको थियो।

उता, फागुन ६ मा सोही संस्थाले जनकपुरमा गरेको कार्यक्रममा भारतीय पूर्वराजदूत शिवशंकर मुर्खजीलाई समेत बोलाइएको थियो। पछिल्लो समय जागृत नेपालले भारतीय नेतालाई नेपाल बोलाएर कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App