१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सहानुभूति अमेरिकी पत्रकारिताप्रति

अमेरिकाभित्रै बसेर कतिपय विज्ञले त्यहाँको आमसञ्चार प्रणालीका दुर्गुणबारे गहिरो विश्लेषण गर्दै आएका छन्। तर आमरूपमा अमेरिकी पत्रकारले आफूलाई संसारको सबैभन्दा स्वतन्त्र राजनीतिक परिवेशमा काम गर्ने भाग्यशाली ठान्दै आएका छन्। मूलधारका अमेरिकी सञ्चारमाध्यमलाई अहिलेसम्म आफ्नो देशको अभिव्यक्ति स्वतन्त्रताका सम्बन्धमा यतिको चिन्ता लागेको थिएन, विश्वका कुना काप्चामा कहाँ–कहाँ प्रेसको अधिकार कुण्ठित भइरहेको छ, त्यसको ठूलो चिन्ता थियो। तर नयाँ राष्ट्रपतिले सेतो महल सम्हालेको सय दिन पनि नपुग्दै मूलधारका अमेरिकी आमसञ्चारमाध्यम प्रेस स्वतन्त्रताका निम्ति लड्न/भिड्न तम्तयार हुने मनस्थितिमा पुगेका छन्। राष्ट्रपति त्यहाँका ठूला–ठूला चल्तीका सञ्चारमाध्यमसँग चिढिएका छन्, उनको क्रोध पटक–पटक अभिव्यक्त हुँदै आएको छ। पछिल्लो पटक, यही साताको दृष्टान्त, उनले केही सञ्चारमाध्यमको नामैसमेत किटेर टि्वटरमा आफूलाई अभिव्य्क गरे– यी रोगी मिडिया मेरा होइनन्, अमेरिकी जनताका दुश्मन हुन्।

आज सवा दुई सय वर्षपछि स्वतन्त्र प्रेस प्रणालीमा अभ्यस्त अमेरिकी पत्रकारहरू आफ्ना सर्वशक्तिमान राष्ट्रपतिलाई पहिलो संशोधनको अक्षर र मर्म स्मरण गराइरहेका छन्।

यतिखेर जसरी ट्रम्पको सत्तारोहणसँगै संसारभर अनेक शंकाले जन्म लिएका छन्। त्यसैगरी अभिव्यक्ति स्वतन्त्रताका विषयमा अमेरिकी आमसञ्चारमाध्यम उनको कडा आलोचकका रूपमा देखापरेका छन्। अमेरिकी मिडियाको रोष दुनियाँभर तरंगित भइरहेको छ। उनीहरु नयाँ राष्ट्रपतिलाई इंगित गर्दै भन्दैछन्– तिम्रा लागि बडो राम्रो भयो भने आठ वर्ष पदमा हुनेछौं, तर पत्रकारिता त यहाँ यस गणतन्त्रको स्थापनादेखि नै सर्वव्याप्ाी छ। यस महान् लोकतन्त्रमा स्वतन्त्र प्रेसको भूमिकालाई पटक–पटक अनुमोदित र सुदृढ गरिएको छ।

अमेरिकन ब्रोडकास्टिङ कम्पनी, एबिसी टेलिभिजनका एकजना संवाददाताले एक रिपोर्टिङको अन्त्यमा राष्ट्रपतिको भर्खरैको एउटा टि्वट सन्देश सम्बन्धमा टिप्पणी गर्दै भने– हामी एकजना अर्का अमेरिकी राष्ट्रपति टेलिभिजन समाचारमा केही पढेर, सुनेर वा हेरेर दुःखी भए भन्दैमा आफ्ना काम रोक्न सक्दैनौं। उनको तर्क छ, यस राष्ट्रका संस्थापकहरूले संविधानको सबैभन्दा पहिलो संशोधनमा प्रेस स्वतन्त्रताको प्रत्याभूति गर्नुको कारण छ। उनी अभिव्यक्ति स्वतन्त्रताका सिपाहीका रूपमा भन्छन्, जबसम्म अमेरिकी लोकतन्त्र स्वस्थ रहन्छ, सत्यको उत्खनन् गर्ने प्रयत्नका साथ रिपोर्टहरू आउँछन्, यसको परिणामस्वरूप संसारको सबैभन्दा शक्तिशाली मानिसको कोपभाजनको सिकार नै हुनुपर्ने भयो भने पनि यो यत्न रोकिने छैन्। राष्ट्रपतिको टि्वटलाई उनको जवाफ छ, स्वतन्त्र प्रेस अमेरिकाको शत्रु होइन, यो अमेरिकालाई महान् बनाउने विशेषताहरूमध्येको एउटा प्रमुख विशेषता हो।

अमेरिकाको पहिलो अखवार, पब्लिक अक्रेन्स बोथ फरेन एन्ड डोमेस्टिक सन् १६९० मा वोस्टन सहरबाट निस्किएको थियो। तर त्यसको पहिलो अंक नै राजनीतिक दमनको सिकार भयो र प्रकाशन बन्द भयो। त्यसको चौध वर्षपछि मात्र अर्को अखवार निस्कियो। त्यतिवेला पत्रकारिता मूख्यतः अभिव्यक्ति स्वतन्त्रताका निम्ति संघर्ष गर्ने मोर्चा थियो। पहिलो अखवार निस्किएर बन्द भएको सय वर्षपछि पहिलो संशोधानमार्फत अमेरिकी संविधानले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने गरी कुनै पनि कानुन बनाउन नपाइने प्रत्याभूति गर्‍यो। आज सवा दुई सय वर्षपछि स्वतन्त्र प्रेस प्रणालीमा अभ्यस्त अमेरिकी पत्रकारहरू आफ्ना सर्वशक्तिमान राष्ट्रपतिलाई पहिलो संशोधनको अक्षर र मर्म स्मरण गराइरहेका छन्।

स्वतन्त्र प्रेसलाई आफ्नो विश्वव्यापी पहिचानका रूपमा प्रस्तुत गर्ने अमेरिकी समाजले यतिखेर यस्तो राष्ट्रपति पाएको छ, जो आफू सञ्चार माध्यमसँगको लडाइँमा अडिग रहेको दावी गर्दैछन्। जो पत्रकारलाई संसारका सबैभन्दा बेइमान मानिसको पंक्तिमा गणना गर्दैछन्। जसले सञ्चारमाध्यमलाई फोहोरको थुप्ा्रोको संज्ञासमेत दिइसकेका छन्। जसले अमेरिकी सञ्चारमाध्यमको प्रस्तुतिलाई नाजी प्रोपागान्डासँग समेत तुलना गरेका छन्। आरोप–प्रत्यारोप चलिरहेकै छ। आमसञ्चारमाध्यम उनी र उनका सल्लाहकारले झुटो बोलको आरोप लगाइरहेका छन्।

उनले चुनावी अभियानको समयदेखि न्ौ पत्रकारलाई बेइमान भन्दै आएका छन्। चुनावका बेला उनले मानहानिसम्बन्ध्ाी कानुनलाई कडा पारेर प्रेसलाई तह लगाउने चेतावनी पनि दिएका थिए। ट्रम्पको यस्तो व्यवहारका कारण विश्वव्यापी पहुँच भएका अमेरिकी अखवार र टेलिभिजनमै अमेरिकी लोकतन्त्रको चिन्ता गर्न थालिएको छ। सूचनाको निर्वाध प्रवाह कायम राख्न अमेरिकी लोकतन्त्रका निम्ति सशक्त र स्वतन्त्र प्रेस अत्यावश्यक रहेको दोहोर्‍याइँदैछ। अमेरिकी पत्रकारलाई गर्व छ, यस स्थापनाकालीन्ा सिद्धान्तले अमेरिकी पत्रकारको मात्र संरक्षण गरेको छैन, यसले संसारभरका पत्रकारलाई उत्प्रेरणा प्रदान गर्दै आएको छ। तर विश्वव्यापीरूपमा हिंसा, बन्देज र सरकारको दमनको सामना गर्न हौसला प्रदान गर्ने अमेरिकी पत्रकारितालाई आफ्नै नयाँ राष्ट्रपतिले निरन्तर अपमान गरिरहेको गम्भीर आरोप त्यहाँका पत्रकार लगाइरहेका छन्।

केबुल न्युज नेटवर्क, सिएनएन र ट्रम्पबीचको द्वन्द्वले धेरैको ध्यानाकर्षण गराएको छ। अमेरिकाको ग्लोबल मिडियाका रूपमा सुपरिचित सिएनएन उही हो जसले अठ्ठाइस वर्षअघि चीनको तियानमेन स्क्वाएरको दमनमा मारिएका विद्यार्थीको संख्या चार गुना बढाउँदै अमेरिकी मिडियाको एन्टी कम्युनिस्ट आइडियोलोजीको खुलस्त परिचय दिएको थियो। पूर्वी युरोपको सोभियत कम्युनिज्म विरोधी अभियानको ज्वाला अझ भड्काउन पनि यसले उत्तिकै मद्दत गरेको थियो। आज घरेलु तनावले सिएनएनलाई मुख्यतः अमेरिकाको प्रतिपक्षको पहिचान दिलाएको छ। यसका रिपोर्टर रिपोर्टिङकै क्रममा राष्ट्रपतिलाई व्यंग्य कस्दैछन्, उनलाई अमेरिकको विख्यात प्रेस स्वतन्त्रताका दुश्मनका रूपमा चित्रित गर्दैछन्। यही सातामात्र एक सम्वाददातले उनको एउटा पत्रकार सम्मेलनबारे समाचार प्रस्तुत गर्दै अन्त्यमा टिप्पणी गरेे, राष्ट्रपतिले कट्टरपन्थी प्रेसका प्रश्नमात्र सम्बोधन गरे। उनले समाचारमै राष्ट्रपतिका प्रेस सम्मेलनमा प्रश्नहरू प्रायोजन गर्न थालिएको कडा आरोपसमेत लगाए।

ट्रम्पका कतिपय धारणा अमेरिकी पत्रकारितामा प्रचलित सूत्र र पूर्वाग्रहका सम्बन्धमा त्यहीँका विज्ञले गर्दै आएको आलोचनासँग मिल्दोजुल्दो देखिन्छ। तर आप्रवासी मामिला र अन्तर्राष्ट्रिय सम्बन्धलगायतका समग्र विषयमा उनले अख्तियार गर्न चाहेको नीतिबाट उनको मिडियासम्बन्धी नीतिलाई अलग गरेर हेर्न मिल्दैन्। त्यसैले उनका क्रियाकलापले अमेरिकी लोकतन्त्रको स्तम्भ हल्लिएको त्यहीँका पत्रकार र पत्रकारिताका प्राज्ञिकको आकलनसँग असहमति जनाउनुपर्ने कारण छैन्। ट्रम्पको राष्ट्रपति कार्यकालले अमेरिकामा प्रेस स्वतन्त्रताको चुनौतीको प्रतिनिधित्व गर्छ भन्ने उनीहरूको निचोडलाई नाजायज भन्न सकिने ठाउँ पनि छैन।

अमेरिकी पत्रकारहरूलाई चिन्ता लाग्न थालेको छ, ट्रम्पको क्रियाकलापको गम्भीर असर संसारभरका पत्रकारको अधिकारमा पर्नेछ। उनीहरू भन्दैछन्, अमेरिकाको असफलताले कुनै पनि निरंकुश शासकलाई आफ्नो देशमा प्रेसमाथि थप बन्देज लगाउन उद्यत तुल्याउनेछ। तर संसारले के पनि देखेको छ भने मूलधारका अमेरिकी सञ्चारमाध्यममा आजसम्म अन्तर्राष्ट्रिय मामिलासम्बन्धी हरेक सामग्री अमेरिकी सत्ताअनुकूलको फिल्टर र फ्रेमबमोजिम तयार हुने गरेको छ। अमेरिकाका मिडियाले हाम्रो चिन्ता गरुन्, नराम्रो कुरा होइन तर अहिले त यस्तो देखिंँदैछ, अमेरिकामा मुख्यालय भएका अभिव्यक्ति स्वतन्त्रताका अभियानमुखी संस्थाहरूले आउने दिनमा सबैभन्दा बढी ध्यान त त्यही देशमा दिनुपर्नेछ। वासिङ्टनमा दोस्रो विश्वयुध्दको समापनअगावै स्थापित विश्वका सबै देशको अभिव्यक्ति स्वतन्त्रताको अवस्थाको अवलोकन तथा मापन गर्ने फ्रिडम हाउस नामक एउटा संस्था छ। त्यसले हरेक वर्ष प्रेस स्वतन्त्रताका हिमायती र शत्रुको सूची अद्यावधिक गर्छ। तर यतिखेर अमेरिकी पत्रकार नै आफ्ना नवनिर्वाचित राष्ट्रपतिलाई अहिलेसम्म नदेखिएको प्रेस स्वतन्त्रताका दुश्मनको संज्ञा दिँंदैछन्। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट नामक अमेरिकामै स्थापित भएर संसारभर अनुगमन र वकालत गर्ने अर्को संस्थाले चुनाव प्रचारकै समयमा उनलाई पत्रकारहरूको अधिकारविरुध्द अनुमान नगरिएको चुनौती ठहर्‍याएको थियो।

आज ट्रम्पका सल्लाहकार निर्धक्क भन्दैछन्, आमसञ्चारमाध्यमले यो देश बुझेकै छैनन्। ट्रम्पका सहयोगीका विचारमा निर्वाचनको परिणामबाट अमेरिकी सञ्चारमाध्यम अपमानित भएका छन्। त्यसैले उनीहरू अखवार, टेलिभिजनलगायत सबै माध्यमलाई हतोत्साहित र अपमानित गर्नैपर्छ मात्र भन्दै छैनन्, सञ्चारमाध्यमलाई अड्कलेर मात्र मुख खोल्न दिनुपर्छ भन्ने पक्षमा छन्। स्वयं ट्रम्प आक्रोश पोख्दैछन्, मूलधारका आमसञ्चारमाध्यमले चुनाव अभियानका क्रममा क्लिन्टनको प्रचारक भएर काम गर्ने आफ्ना कुनै पत्रकारलाई निकालेका छैनन्, निलम्बन पनि गरेका छैनन्।

एउटा कुरा त मान्नुपर्छ, ट्रम्पले अन्जानमै सही, गलत नियतले नै सही मूलधारका अमेरिकी सञ्चारमाध्यमको दम्भी र पूर्वाग्रही स्वभावतर्फ भने चोर औंला उठाएका छन्। उनी सही छैनन् किनकि उनी आलोचनाको प्रतिकार गर्न प्रायोजित मिडिया व्यवस्था गर्दैछन्। तर अमेरिकी पत्रकारहरूले पनि नौलो मानसिक परिवेशमा, ह्वाइट हाउसले उनीहरूलाई हतोत्साहित गर्न कुनै मौका नचुकाइरहेका बेला आग्रहभन्दा माथि उठेर वस्तुनिष्ठताको उदाहरण प्रस्तुत गर्ने अवसर पाएका छन्। उनीहरूले त सत्यको उत्खनन् प्रक्रियालाई अझ बढी खार्ने मौका पाएका छन्। यही कारण हो, त्यहीँका प्रेस स्वतन्त्रता पक्षधरहरू भन्न थालिसके– नयाँ रिपब्लिकन राष्ट्रपति, तिमीले हामीलाई फेरि हामी को हौं, यहाँ किन छौं जस्ता हाम्रा उत्तरदायित्वसँग जोडिएका प्रश्न उठाइदिएका छौ जसका लागि हामी निकै आभारी छौँ।

प्रमुख– पत्रकारिता विभाग, आरआर क्याम्पस

प्रकाशित: १२ फाल्गुन २०७३ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App