७ वैशाख २०८१ शुक्रबार
अर्थ

'लगानी परिचालन गर्न कोष'

काठमाडौं- पूर्वाधार विकासमा निजी लगानी परिचालन गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) को महत्वपूर्ण भूमिका भएकाले उक्त मोडलमा लगानी परिचालन गर्न नेपाल सरकारले केही नयाँ कोषहरू स्थापना गर्नुपर्ने भर्खरै सम्पन्न नेपाल पूर्वाधार शिखर सम्मेलनले निष्कर्ष निकालेको छ। सार्वजनिक र निजी क्षेत्रको लगानी परिचालनका लागि स्वायत्त विकास कोष, रणनीतिक पूर्वाधार कोष र जलवायु लगानी कोष स्थापना गर्न अनुभवी विज्ञको सुझाव आएको सम्मेलन आयोजकले जनाएको छ।

'नेपाल जस्तो अविकसित देशले यी कोषहरू स्थापना गरेर पूर्वाधारमा लगानी परिचालन गर्नुपर्छ भनेर अनुभवी विज्ञबाट सुझाव आएको छ,' बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मुख्य आयोजक नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने, 'यी फन्ड बनाउन हामीले मात्र सक्दैनौं, सरकार अग्रसर हुनुपर्छ।'

सरकारको सहयोगमा फागुन ८ र ९ गते भएको सम्मेलनमा मुख्य वक्ताका रुपमा रहेका भारतीय रेल्वे मन्त्री सुरेशप्रभाकर प्रभु र एसियाली विकास बैंकका उपाध्यक्ष बेन्काई ‰याङले विभिन्न देशका अनुभवले पूवर्धार विकासमा निजी लगानी परिचालन गर्न सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडल सम्बन्धी ऐन र यस्ता कोष स्थापना गर्न सुझाव दिएको शर्माले जानकारी गराए।

नेपाल जलवायु लगानी कोष प्राप्त गर्नुपर्छ भन्नेमा छिमेकी देशको समेत सद्भाव रहेको र यसको लागि भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता आएको अध्यक्ष शर्माले बताए। 

नेपालको आर्थिक विकास गर्न उत्तर–दक्षिण जोड्ने द्रुत गतिको रेल, हाइवेको आवश्यकता रहेको र यसको लागि भारत सरकार सहयोग गर्न तयार रहेको सम्मेलनमा भारतीय रेल्वेमन्त्री प्रभुले जानकारी गराएका थिए। काठमाडौंलाई भारतको राजधानी नयाँदिल्ली तथा नेपालका लागि समुद्रपार व्यापारको पारवहन केन्द्र कोलकातासँग तीव्र गतिको रेल्वे सञ्जालले जोड्न भारत सरकार इच्छुक रहेको उनले बताएका थिए। परिसंघले लामो समयदेखि उठाउँदै आएको यो विषयमा कार्ययोजना बनाएर अगाडि बढ्न परिसंघले सरकारलाई सुझाव दिएको छ।

त्यसैगरी, उत्तरी छिमेकी तथा दोस्रो ठूलो व्यापार तथा लगानी साझेदार चीनतर्फ पनि सडक तथा रेल्वे सञ्जाल विस्तारका लागि सरकारी स्तरबाट पहल गर्नुपर्ने सम्मेलनको सुझाव छ। उत्तर र दक्षिणका विशाल अर्थतन्त्र भएका छिमेकी देशसँग बलियो पूर्वाधार सञ्जाल विस्तार नेपालको आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि कोशेढुंगा साबित हुने भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सम्मेलनको निष्कर्ष रहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

देश विकासमा निजी क्षेत्रको समेत सहभागितामा दिगो र दरिलो पूर्वाधार सञ्जाल किन आवश्यक छ भन्ने यस सम्मेलनले प्रमाणित गरेको परिसंघको बुझाइ छ।

आइडिया स्टुडियोको सहकार्यमा संकलित पूर्वाधार विकाससम्बन्धी आइडियामध्ये १० आइडिया सम्मेलनमा प्रस्तुत भएका थिए। तीमध्ये काठमाडौंमा मोनो रेल चलाउने, ग्रामीण क्षेत्रमा सामान ओसारपसार गर्ने इलेक्ट्रिक रेल्वे चलाउने र ठूला पूर्वाधार बनाउन प्रयोग हुने हेभी इक्विपमेन्ट चालकलाई तालिम सञ्चालन गर्ने आइडियालाई उत्कृष्टका रुपमा छानिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App