coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कहाँ पुग्यो बाहिरी चक्रपथको काम ?

काठमाडौं- सरकारले डेढ दशकपहिले परिकल्पना गरेको बाहिरी चक्रपथ बन्ने अझै कुनै सुरसार छैन। राष्ट्रिय गौरवको आयोजना भन्दै ०६० मा बाहिरी चक्रपथको कल्पना गरिएको थियो तर विस्तृत परियोजना रिपोर्ट (डिपिआर) बन्नुबाहेक अरु काम कागजमै सीमित छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले १४ वर्षदेखि डिपिआरबाहेक अन्य केही भौतिक पूर्वाधार निर्माण गर्न सकेको छैन।

सहरी विकास मन्त्रालय पूर्वसचिव किशोर थापा बाहिरी चक्रपथ राजनीतिक खिचातानी र सरकारी उदासीनताले बन्न नसकेको बताउँछन्। 'सरकारले बाहिरी चक्रपथलाई जति महŒव दिनुपर्थ्यो, त्यति दिएन। त्यसैले निर्माणमा ढिलाइ भएको छ,' उनले भने, 'कर्मचारीतन्त्रले मात्रै चासो दिएर बनाउन सकिँदो रहेनछ।'

तत्कालीन सरकारले महत्वाकांक्षी योजनासहित काठमाडौंको बढ्दो सहरीकरण र सवारीचापलाई ध्यान दिँदै उक्त योजना ल्याएको उनले बताए। काठमाडौं दक्षिणी भेगका कीर्तिपुर, पाँगा र ललितपुरको भैंसेपाटी, थेचो, थैंब, बोडेलगायत क्षेत्रलाई काठमाडौं उपत्यकासँग सहज पहुँचका लागि बाहिरी चक्रपथ योजना ल्याइएको थियो।

०६२/६३ पछिका सरकारले असहयोग गरेकाले चक्रपथ निर्माणमा सुस्तता भइरहेको प्राधिकरण आयुक्त डा. भाइकाजी तिवारीले बताए। 'डिपिआर तयार भइसक्यो, तर अझै कार्यान्वयन गर्न सकिएको छैन,' उनले भने।

बाहिरी चक्रपथ आयोजनाले चक्रपथको सात खण्ड गरेर डिपिआर तयार गरिरहेको जनाएको छ। डिपिआर सहरी तथा विकास मन्त्रालयमा पठाए पनि अझै स्वीकृति नभएको आयोजना प्रमुख दीपक श्रेष्ठले बताए। 'तीन साताअघि सतुंगलदेखि चोभारसम्मको सडक निर्माणका लागि डिपिआर स्वीकृतका लागि पठाएका छौं। तर, अहिलेसम्म के कारणले रोकियो थाहा पाएका छैनौं,' उनले भने, 'मन्त्रालयले स्वीकृत दिनेबित्तिकै काम अघि बढाउनेछौं।'

बाहिरी चक्रपथको विस्तारले सडक मात्रै होइन, व्यवस्थित सहरीकरणको आधारसिला प्रारम्भ हुने आयुक्त तिवारी बताउँछन्। 'बाहिरी चक्रपथले गाउँ र सहरभित्र पुलको काम गर्नेछ,' उनले भने, उपत्यकाभित्र मात्रै होइन, तराईसँग जोड्ने फास्ट ट्र्याक जोडेर यातायातलाई सहज बन्नेछ।'

बाहिरी चक्रपथ बनाइए कृषियोग्य जमिन र आदिवासीको नै तहसनहस हुने अफवाह फैलाइएकाले योजनामा स्थानीयले साथ नदिएको आयुक्त तिवारीको भनाइ छ।

कहाँकहाँ पर्छ बाहिरी चक्रपथ?

७१.९३ किलोमिटरको बाहिरी चक्रपथ काठमाडौंमा ३५.०८ किमि, ललितपुरमा २१.०५ किमि र भक्तपुरमा २१.०५ किमि क्षेत्रमा फैलनेछ।

सडकको चाडाइ ५० मिटर हुनेछ। बाहिरी चक्रपथले काठमाडौं जिल्लामा संतुगल–चोभार गाम्चा सतुंगल, नैकाप, पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोंगबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी जोड्नेछ।

भक्तपुरमा भने गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमीबाट दधिकोट हुँदै अघि जानेछ। त्यस्तै, ललितपुरको लुभु, सिद्धिपुर, ठैँब, धापाखेल, ठेचो, छम्पी, खोकना र बुङमती हुँदै चोभार जोड्नेछ।

जग्गा एकीकरण

आयोजना प्रमुख श्रेष्ठका अनुसार बाहिरी चक्रपथ क्षेत्रमा 'ल्यान्ड पुलिङ' (जग्गा एकीकरण) गरेर बनाइँदै छ। बाहिरी चक्रपथ क्षेत्रका दुई सय ५० मिटर सडक अस्थायी रुपमा प्राधिकरणलाई दिनुपर्नेछ।

'सम्पूर्ण जग्गाको एकीकरण गरेर बस्ती बसाल्नेछौं। जसले स्थानीय विस्थापित हुनुपर्ने समस्या आउँदैन,' श्रेष्ठले भने, 'आयोजनाले घर, बाटो, ढल, खानेपानी बिजुली र खुला क्षेत्रको डिजाइन गरेर जग्गा स्थानीयलाई नै हस्तान्तरण गर्नेछ।'

जग्गा एकीकरण गर्दा जग्गाधनी विस्थापित पनि हुन नपर्ने र सरकारले पनि मुआब्जा दिनुनपर्ने भएकाले  चक्रपथ विस्तारमा समस्या नआउने उनले बताए। पूर्वसचिव थापा पनि जग्ग्ाा एकीकरण प्रक्रियाअनुसार अघि बढे सडक बन्दै बस्ती बन्दै आउने बताउँछन्।

'अहिले सडक विस्तार हुदाँ बस्ती नै विस्थापित हुने अवस्था छ,' उनले भने, 'जग्ग्ाा एकीकरण प्रक्रियाअनुसार भए अहिलेको जस्तो भद्रगोल अवस्था आउँदैन।'

प्रकाशित: १२ फाल्गुन २०७३ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App