६ वैशाख २०८१ बिहीबार
समाज

सोलार जडान बजेट बर्सेनि फ्रिज

ललितपुर- ललितपुर उपमहानगरपालिकाको ढिलासुस्तीले सडकमा सोलार बत्ती जडानका लागि आएको बजेट फ्रिज हुँदै आएको छ। सोलार जडानकै लागि गत वर्ष स्थानीय विकास मन्त्रालयबाट ६ करोड ४५ लाख रुपैयाँ आएको थियो तर उपमहानगरपालिकाले सम्झौताअनुसार काम नगर्दा बजेट फिर्ता गयो। यो वर्ष पनि मन्त्रालयबाट एक करोड ६७ लाख रुपैयाँ आएको उपमहानगरपालिका कार्यकारी अधिकृत भरतमणि पाण्डेले बताए।

'गत वर्ष सरकारले बजेट ढिलो दिएका कारण सोलार बत्ती जडान अधुरै रह्यो,' उनले भने, 'यो वर्ष जसरी पनि काम सक्छौं।'

उनले समय अभावका र स्थानीयसँग संवाद नहुँदा गत वर्ष काम हुन नसकेको पनि बताए। 'पाटन क्षेत्रका भित्री गल्लीमा सौर्यबत्ती जडान गर्न स्थानीयको रकम पनि छ,' पाण्डेले भने, 'स्थानीय, सरकार र नगरपालिकाको १० करोड हाराहारी बजेटमा सौर्यबत्ती जडान गर्छौं।'

भित्री गल्ली र साँघुरा चोकमा सम्भावित दुर्घटना हुन नदिन गत वर्ष स्थानीय विकास मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा सोलार बत्ती जडानका लागि बजेट विनियोजन गरेको थियो। काठमाडौं र भक्तपुरमा अहिले बत्ती जडान  भइरहेको छ भने ललितपुरमा यो वर्ष पनि बजेट फ्रिज हुने देखिएको छ।

उपमहानगरपालिका सहरी सडक शाखा प्रमुख सूर्यकुमार महर्जनले सोलारबत्ती जडान गर्न तीन टेन्डर पारित भइसकेको जनाए। 'गत वर्ष उपभोक्ता मञ्चले पनि काम नगर्दा बजेट फ्रिज भएको हो, यो वर्ष सप्लायर्स कम्पनी, स्थानीय उपभोक्ता मञ्चसँग बत्ती जडानका लागि सहकार्य पनि भइसकेको छ,' उनले भने।

गत वर्ष मन्त्रालयबाट बजेट विनियोजन भइसकेपछि उपमहानगरपालिकाले सोलार जडान योजना अघि सारेको थियो।

'गत असारमा ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पाण्डेले गएको मंसिरसम्म सोलार जडान भइसक्नेे आश्वासन दिएका थिए,' मंगलबजारका स्थानीय सुरज शाक्यले भने, 'यसपालि पनि आश्वासन मात्रै होला जस्तो छ।'

यता, उपभोक्ता समिति अध्यक्ष कुलबहादुर आचार्यले सोलार जडान गर्न पोल र तार टाँगिसक्दा पनि उपमहानगरपालिकाको गैरजिम्मेवारीकै कारण गत वर्षको योजना असफल भएको आरोप बताए। 'स्थानीय सक्रिय हुँदाहुँदै पनि उपमहानगरपालिकाका कार्यकारीले यसलाई प्राथमिकतामा राख्नुभएन,' उनले भने।

३० वडा कार्यालय रहेको ललितपुर जिल्लाका नौ सय ४५ स्थानमा सोलार जडान गर्ने योजना थियो। सोलार जडानका लागि ६५ प्रतिशत स्थानीय विकास मन्त्रालय, २० प्रतिशत नगरपालिका र १५ प्रतिशत स्थानीयबाट रकम संकलन गरिएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App