७ वैशाख २०८१ शुक्रबार
समाज

आइजिपी मुद्दामा निरन्तर सुनुवाइ

काठमाडौं- नेपाल प्रहरीको नेतृत्व विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर किनारा लगाउने  भएको छ। न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको इजलासमा बुधबार सुरु भएको मुद्दा लगातार हेरेर किनारा लगाउन लागिएको हो। 

दोस्रो सुनुवाइ सुरु भएको उक्त मुद्दामा पक्षका कानुन व्यवसायीको बहस नसकिएकाले निरन्तर सुनुवाइ गर्ने सूचीमा राखिएको हो। प्रहरी बढुवामा तेस्रो नम्बरमा रहेका डिआइजी जयबहादुर चन्दलाई आइजीमा नियुक्ति गरिएको भन्दै अधिवक्ता कपिल ढकाल र अर्का प्रतिस्पर्धी नवराज सिलवालले हालेको रिटमा निरन्तर सुनुवाइ गरेर टुंग्याउन लागिएको हो।

पक्षका कानुन व्यवसायीले मात्र आइजिपीसम्बन्धी विवादमा बहस गरेकाले मुद्दा भोलिपल्टका लागि सरेको सर्वोच्चका रजिस्ट्रार नृपध्वज निरौलाले बताए। 

बुधबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बालकृष्ण न्यौपाने, भीमार्जुन आचार्यले बहस गरेका छन्। सरकारले स्थानीय निर्वाचन घोषणा गरेको सन्दर्भमा प्रहरी नेतृत्व धेरै दिन रिक्त राख्न नहुने भन्दै प्राथमिकता राखी निरन्तर सुनुवाइ गर्न लागिएको हो।

बिहीबार बहस सकिएपछि अन्तरिम आदेश निरन्तर राख्ने वा नराख्ने विषयमा निर्णय हुनेछ। अन्तरिम आदेशले निरन्तरता पाए नेतृत्व को हो हुने भन्ने अन्योल कायमै रहनेछ भने खारेज गरे चन्दले काम गर्न पाउनेछन्।

प्रकाशित: १२ फाल्गुन २०७३ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App