७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन कार्यतालिका सार्वजनिक, वैशाख १६ गते उम्मेदवारी दर्ता

काठमाडौं- निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बुधबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आयोगले वैशाख ३१ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ।

निर्वाचनमा भाग लिने उम्मेदवारले वैशाख १६ गते मनोनयनपत्र दर्ता गर्नुपर्नेछ। उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय वा गाउँपालिका/नगरपालिका केन्द्रमा पुगेर वैशाख १६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।

आयोगले वैशाख १६ गते साँझ साढे पाँच बजे मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्नेछ।

कार्यतालिकाअनुसार वैशाख १७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मुख्य/निर्वाचन अधिकृत वा गाउँपालिका/नगरपालिका केन्द्रमा पुगेर उम्मेदवारउपर दाबीविरोध वा उजुरी दिन सकिनेछ।

वैशाख १७ गते दिउँसो १ बजेदेखि वैशाख १८ गते बिहान साढे ११ बजेसम्म आयोग, निर्वाचन अधिकृतको कार्यालय वा मुुख्य निर्वाचन अधिकृतले मनोनयनपत्र र त्यसमा परेका उजुरीउपर छानबिन गर्नेछन्। सोही दिन बिहान साढे ११ देखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ। नामावली प्रकाशन भएकै दिन अर्थात् वैशाख १८ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारले नाम फिर्ता (उम्मेदवारी फिर्ता) लिन सक्नेछन्।

वैशाख १९ गते मुख्य/निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजेभित्रै उम्मेदारको अन्तिम नामावली प्रकाशन गर्नेछ। बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावलीमा नाम समावेश भएका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

वैशाख ३१ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदाताले आफूलाई उपयुक्त उम्मेदवार छानी मतदान गर्नेछन्। मतदान कार्य सम्पन्न भएपछि मतगणना गरी निर्वाचन परिणाम घोषणा गरिने आयोगले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App