४ वैशाख २०८१ मंगलबार
अर्थ

नयाँ दुई चिनियाँ जहाजले सातामा २५ उडान गर्ने

काठमाडौं-नेपाल वायुसेवा निगमले पछिल्लो पटक ल्याएका दुई नयाँ चिनियाँ जहाजबाट सातामा २५ उडान गर्ने तालिका बनाएको छ । यी जहाजले बुधबारबाट नियमित व्यावसायिक उडान सुरु गर्नेछन्।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजावाहक निगमले हालै ल्याएको ५६ सिट क्षमतायुक्त ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको जहाजलाई ‘९एन–एकेआर’ र १७ सिटे ‘वाई१२–ई’ सिरिजको जहाजलाई ‘९एन–एकेटी’ कलसाइन दिएको छ।

‘नयाँ दुईथान चिनियाँ जहाजबाट सातामा २५ उडान गर्ने तालिका बनाएका छौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले मंगलबार नागरिकसँग भने, ‘त्यसबाहेक अन्य दुई यस्तै चिनियाँ जहाजबाट पनि सातामा २४ उडान गर्छौं ।’

उनका अनुसार नयाँ एमए–६० बाट सातामा १० तथा वाई१२–ईबाट सातामा १५ उडान गरिनेछन् । त्यसैगरी कलसाइन ‘९एन–एकेक्यु’ भएको पुरानो एमए–६० बाट सातामा ११ तथा कलसाइन ‘९एन–एकेएस’ भएको वाई१२–ईबाट सातामा १३ उडान गरिनेछन् ।

‘नयाँ गन्तव्य थपेका छैनौं तर भएकै गन्तव्यमा नियमित र बढी उडान गर्न लागेका हौं,’ श्रेष्ठले भने, ‘यात्रुलाई सहज र सरल भाडा दरमा उडान गर्न चारथान चिनियाँ जहाजबाट धेरै नै सहयोग पुग्ने विश्वास छ । यात्रुबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन् ।’

निगमका अनुसार दुईथान एमए–६० जहाजले काठमाडौंबाट विराटनगर सातामा सात, भद्रपुर चार, धनगढी सात र भैरहवाका लागि सातामा तीन उडान गर्ने तालिका बनाइएको छ । त्यस्तै दुइटा वाई१२–ईले काठमाडौंबाट भैरहवाका लागि चार, नेपालगन्ज सात, सिमरा तीन र पोखराका लागि सातामा १४ उडान गर्नेछन् ।

निगमले चिनियाँ सहुलियत ऋणमा ल्याएको दोस्रो एमए–६० जहाज गत माघ १३ मा र दोस्रो वाई१२–ई माघ १९ मा काठमाडौं अवतरण गरेका थिए । त्यसपछि उड्डयन प्राधिकरणका सबै प्रक्रिया पूरा गरेपछि ती जहाज मंगलबार (फागुन १०) बाट उड्न तयार भएका हुन् ।

नेपाल र चीनबीच २०७० मंसिर १३ गते ६ थान चिनियाँ जहाजका लागि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँबराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । त्यसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग तथा ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँ ऋण सहयोग हो । नेपालले सम्झौताअनुसार पाउने सहुलियत ऋणको वार्षिक ब्याज दर १.५ प्रतिशत छ ।

चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकमार्फत जहाज खरिद गर्न ऋण उपलब्ध भएको छ । यी जहाज अर्थ मन्त्रालयले डेढ प्रतिशतसम्म ब्याज दरमा निगमलाई दिएको छ । अर्थले पहिलो सात वर्षसम्म साँवा र ब्याज केही पनि तिर्नुनपर्ने ‘ग्रेस पिरियड’ दिएको छ भने आठौं वर्षबाट पन्ध्रौं वर्षसम्म सबै रकम चुक्ता गरिसक्नुपर्ने सर्त छ । सहुलियत ऋणको ६० प्रतिशत चीनलाई भुक्तानी भइसकेको छ । यो भनेको २ अर्ब २३ करोड ६८ लाख रुपैयाँ हो।

जसअनुसार २०७१ वैशाख १४ मा एकथान एमए–६० र कात्तिक १७ मा एकथान वाई१२–ई ल्याइएको थियो। एमए–६० ले असार ११ बाट र वाई१२–ईले पुस पहिलो साताबाट नियमित उडान सुरु गरेका थिए । दुइटै जहाज अनुदान सहयोगमा प्राप्त भएका थिए ।

गत पुस ११ मा निगमले ‘चिनियाँ जहाज निर्माता कम्पनीका अधिकारीसँग भएका छलफल एवं बैठकका माइन्युटलाई दृष्टिगत गर्दा एमए–६० र वाई१२–ईको सञ्चालन सम्बन्धमा देखा परेका मर्मत–सम्भार, पुर्जा तथा तालिमको मूल्य, बिमालगायत समस्या समाधान गर्न चिनियाँ पक्षले सक्दो सहयोग गर्ने प्रत्याभूति दिएपछि बाँकी जहाज ल्याउन लागिएको’ पुनः घोषणा गरेको थियो ।

निगमसँग रहेका पुराना दुईथान चिनियाँ जहाजले जति आम्दानी गर्छन् तिनलाई उडाउन भने आम्दानीको तीन गुणा बढी खर्च हुने गरेको छ । २०७१ पुसबाट २०७२ पुससम्म एक वर्ष उडान गर्दा एमए–६० ले १४ करोड १० लाख ३० हजार ८ सय ११ रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै वाई१२–ईले २०७१ माघबाट २०७२ कात्तिकसम्म नौ महिना उडान गर्दा १ करोड २२ लाख ८८ हजार १ सय रुपैयाँ आम्दानी गरेको थियो । तर, उक्त एक वर्ष एमए–६० उडाउन ४० करोड ५० लाख ९७ हजार २ सय ९३ रुपैयाँ तथा वाई१२–ई उडाउन ६ करोड ७५ लाख ६३ हजार ९ सय ४७ रुपैयाँ सञ्चालन खर्च लागेको थियो ।

चिनियाँ जहाज आएपछि प्रशस्त आम्दानी गर्ने र बजार हिस्सा वृद्धि गर्ने व्यापारिक योजना बनाएको निगमले एक वर्षसम्म एमए–६० उडाएर नाफाको सट्टा उल्टै २६ करोड ४० लाख ६६ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी बेहोरेको थियो । वाई१२–ईको नौ महिनासम्म उडाउँदा निगमले ५ करोड ५२ लाख ७६ हजार रुपैयाँ नोक्सानी बेहोरेको थियो । 

 

प्रकाशित: ११ फाल्गुन २०७३ ०३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App