coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अप्रेसन गर्ने हातले बनाएको खाजा

सिद्धान्तका कुरा धेरै सिद्धान्तमै हुन्छन् । यस्ता सैद्धान्तिक कुरा अरुलाई सिकाउन, सुनाउन या त आदर्शका लागि भनिने, गरिने र लेखिने हुन्छन् । तर कतिपय मानिसले सिद्धान्तलाई आफ्नो जीवनको आदर्श नै बनाएका हुँदारहेछन् । त्यस्तै एकजना आदर्श पात्र जसका बारेमा केही नलेखी मनले मानेन ।
आमरूपमा हामी सबैमा विकसित निम्न पुँजीवादी चिन्तन र पितृसत्तावादी अवधारणाले श्रमप्रति अनास्था बढाइरहेको छ । आजभोलि हाम्रा घर परिवारमा श्रम गर्नु, मेहनत गर्नु, आफ्नो काम आफँै गर्नुलाई हैसियत खस्केको ठान्नेहरु धेरै छन् । गर्नेहरु पनि यसबाट हीनतावोध महसुस गर्छन् । तर यहाँ उल्लेख गर्न लागेको विषय यही आमप्रवृत्ति भन्दा ठ्याम्मै पृथक छ ।
केही दिनअघि प्राज्ञ सुलोचना मानन्धरसँग लेखन र साहित्यका सन्दर्भमा कुराकानी गर्न उनको घर पुगेको थिएँ । करिब दिउँसो २ बजेको हुँदो हो । हामी कुरामात्र के थालेका थियौँ, सुलोचनाका श्रीमान् डा. सरोज धिताल भ¥याङबाट ओर्लदै गरेको देखेपछि अभिवादन गरेँ । अनि दिउँसै फुर्सद भएछ नि भन्ने प्रतिक्रियामा उहाँको छोटो जवाफ थियो– भर्खर आएको ।
हामी कुरा गर्दैगर्दा डा.साब अर्कै कोठामा पस्नुभएको थियो । हाम्रो कुराकानी चलिरहेकै थियो । त्यत्तिकैमा सुलोचना दिदी र म दुवै जना भर्खर थाकेर आउनुभएकाले उहाँलाई दुःख नदिउँ भनेर चिया बनाउन भान्सामा पस्यौँ । चिया बनाउँदै कुरा गरौँ भन्नेमा सहमति पनि भयो । भान्सामा पस्दा त डा.साब पो चिया बनाउँदै हुनुहुँदोरहेछ । हामीले तपाईं आराम गर्नूस्, हामी खाजा बनाउँछौँ भन्यौँ । तर उहाँले मरे मान्नुभएन । भन्नुभयो– दिदीबहिनी मीठो कुरा गर्दै गर्नूस्, म कुराभन्दा पनि मीठो चिया बनाएर ल्याउँछु।
बीचबीचमा आएर हाम्रो कुरा सुन्दै त्यसमा आफ्नो धारणा पनि राख्नुहुन्थ्यो उहाँ । जब चिया खाँदै थियौँ खाजा पनि बनाइसक्नुभएछ । खाजा ल्याइसकेपछि उहाँले मतिर हेर्दै भन्नुभयो– अनौठो नमान्नु है, हाम्रो त चलनै यस्तै छ । जसले पनि आवश्यकताअनुसार जे पनि काम गर्छौं । आवश्यकता पर्दा र भ्याउँदा हामी दुवैले सबै काम गर्छौं । बिरामीको अप्रेसन र उपचारचाहिँ मेरोमात्रै काम हो ।
डा.साबको त्यो कुराले मेरो अन्तरमन छोयो । साँच्चिकै मेरो मनैबाट उहाँप्रति श्रद्धा जाग्यो । र मैले भनेँ– डाक्टरसाब सिद्धान्तका कुरा त सबैले गर्छन् तर त्यो सिद्धान्तलाई व्यवहारमा लागु गर्ने भने विरलै भेटिन्छन्, त्यसमा पनि गन्यमान्य पुरुषहरु । तर यहाँलाई मैले यस्तै भिडमा पृथक पाएँ ।
धेरैलाई लाग्न सक्छ, कुनचाहिँ ठूलो कुरा हो एक दिउँसको खाजा बनाउन र त्यति नाथे चिया बनाउन ? झट्ट सोच्दा हो, नाथे नै हो । तर त्यस्ता धेरै नाथे काम जन्मँदै महिलाका नाममा विरासत बनेका छन् । जसको कारण त्यही नाथे चिया, त्यही नाथे भात, त्यही नाथे कसिङ्गर, त्यही नाथे सरसफाइ र त्यही नाथे घरधन्दा जस्ता अनुत्पादक कामले पाता फर्काएर महिलालाई लडाएको छ । उठ्नै नसक्नेगरी ।
अहिलेको सन्दर्भ कुनै एउटा घरको या परिवारको मात्र हैन । हाम्रा घरघरको हो । झट्ट हेर्दा पुरुषको तुलनामा महिला पछि परेका या कमजोर देखिन्छन् । केही हदसम्म यो सत्य पनि हो । किनकि एउटै घरबाट एउटै पेशामा भूमिका निर्वाह गर्ने पति÷पत्नी हुन्छन् । पत्नी बिहान उठेदेखि घरको सरसफाइ, भातभान्सा, बालबच्चाको खानपिन, स्कुल पठाउने, पु¥याउने, अझ श्रीमान्को कपडा ठीकठाक र जुठो धन्दासमेत भ्याएर बल्ल आफ्नो पेशा सम्झनुपर्ने हुन्छ । लेखपढ, अध्ययन, चिन्तनमनन त कता हो कता ? हरेक बिहान, दिउँसो र साँझ त्यसैगरी बेफुर्सदी र धपेडीमै बितिरहेको हुन्छ । सधैँ त्यसरी शारीरिक र मानसिकरूपमा तनाव र धपेडीमा ब्यस्त महिलाले आफ्नो पेशागत जिम्मेवारी कसरी प्रभावकारी ढंगले बहन गर्न सक्छन् ?
महिलाको सामाजिक, राजनीतिक र व्यावसायिक जीवनका लागि खोइ सहज अवसर र वातावरण ? वास्तवमा माथि भनिएका कुनै पनि काम नाथे हैनन्, सबै महत्वपूर्ण नै हुन् । तर त्यो काम घरकी एउटी महिलाले मात्र गर्नुपर्ने बाध्यता भने विभेदकारी कुरा हो । यही विभेद नै लैंगिक विभेद हो । जबसम्म यस्ता घरेलु कामलाई नाथे भन्न छाडिँदैन र महत्व दिइँदैन तबसम्म विभेद अन्त्य हुँदैन । महिला र पुरुषले समान अवसरको उपयोग गर्न र प्रभावकारी भूमिका निर्वाह गर्न असम्भव नै हुन्छ । यस्ता विभेदको अन्त्य अधिकार र कानुनले मात्रै कहिल्यै सम्भव हुँदैन । जसका लागि डा. धिताल जस्ता बुझ्झकी पुरुष हजारौं जन्मनुपर्छ ।
त्यसैले यो सामान्य र नाथे घरधन्दाको सवालमात्र हैन, यो समाज र देश दुनिया चलाउने सवाल पनि हो । यो सामाजिक रूपान्तरणको महत्वपूर्ण पाटो हो । यदि महिलाले पनि घरेलु कामबाट सहयोग पाएर, फुर्सद पाएर रचनात्मक, सिर्जनात्मक र उत्पादनशील काममा सहभागी हुने अवसर र वातावरण पाउने हो भने परिवारको पनि उन्नति र समृद्धि हुन्छ । यस अर्थमा पनि समाजका एकजना सुपरिचित प्रतिष्ठित व्यक्तित्वले गरेको कामले पक्कै अरुलाई पनि सम्मान, श्रद्धा र प्रेरणा जगाउला भन्ने  विश्वास लिन सकिन्छ ।

 

 

प्रकाशित: ११ फाल्गुन २०७३ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App