coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

उन्नाइसमा झर्‍यो नेपाली टोली

काठमाडौं– आइसिसी विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेलका लागि नेपालले पारस खड्काको कप्तानीमा १९ खेलाडीको नाम घोषणा गरेको छ । आइसिसी प्रतिनिधि बैंकटपति राजु, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले खेलाडी छानेको हो ।
नेपालले पाँचौं चरणको खेलअन्तर्गत फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्याविरुद्ध प्रतिस्पर्धा गर्दै छ । फागुन १ गते २४ खेलाडीका साथ नेपालले बन्द प्रशिक्षण सुरु गरेको थियो । बन्द प्रशिक्षणमा रहेका अमित श्रेष्ठ, सुशन भारी, कुशल भुर्तेल, विक्रम सोब र दीपेश श्रेष्ठ टोलीबाट बाहिरिएका छन् ।
१९ जनाको टोली शुक्रबार अभ्यास खेलका लागि भारत प्रस्थान गर्दै छ । आइसिसीले संयोजन गरिदिएको नयाँ दिल्लीको नोएडा भ्रमणमा नेपालले १५, १७ र १९ गते तीन अभ्यास खेल खेल्नेछ । यद्यपि भारत भ्रमणमा कप्तान पारस खड्का भने हुने छैनन् । रिकरेन्ट एपेन्डिसाइटिस विथ इन्टेस्टाइनल अब्स्ट्रक्सनका कारण गत शुक्रबार ग्रान्डी अस्पतालमा पारसको शल्यक्रिया गरिएको थियो । आइतबार डिस्चार्ज भएका उनी अहिले घरमा आराम गरिरहेका छन् ।
मंगलबार पारसको कप्तानीमा घोषणा गरिएको १९ सदस्सीय टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान रहेका छन् । अन्य सदस्यमा आरिफ शेख, दिलीप नाथ, मेहबुब आलम, करण केसी, आसिफ शेख, सागर पुन, भुवन कार्की, शरद् भेषावकर, शक्ति गौचन, अविनाश कर्ण, सोमपाल कामी, सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी, राजेश पुलामीमगर, विनोद भण्डारी, सन्दीप लामिछाने रहेका छन् । भारत भ्रमणबाट फर्किएपछि १४ खेलाडीका साथ ४ वैकल्पिक खेलाडीको नाम घोषणा गरिने मुख्य प्रशिक्षक जगत टमाटाले बताए ।
विश्व क्रिकेट लिगमा ८ खेल खेलेको नेपाल ६ अंकका साथ छैटौं स्थामा छ । १० खेल खेलेको नेदरल्यान्ड १६ अंकका साथ पहिलो स्थानमा रहँदा समान १० खेलबाट ११ अंक जोडेको हङकङ तेस्रो स्थानमा छ । ८ खेलबाटै १२ अंक जोडेको पपुवा न्युगिनी दोस्रो, ११ अंकको स्कटल्यान्ड चौथो र ८ अंकको केन्या पाँचौं स्थानमा छन् । नेपालभन्दा तल नामिबिया र युनाइटेड अरब इमिरेट्स (युएइ) रहेका छन् ।

 

प्रकाशित: ११ फाल्गुन २०७३ ०३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App