coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

‘इनरिकेको पक्षमा सबै खेलाडी’

बार्सिलोना(एएफपी)– बर्खास्तगीको संघारमा रहेका बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेलाई खेलाडीहरूको पूर्ण साथ रहेको टोलीका प्रभावशाली सेन्ट्रल रक्षक जेरार्ड पिकेले सोमबार बताएका छन्।

गत साता च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगअन्तर्गतको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग ४–० को लज्जाजनक हार भोगेको टोलीले आइतबार घरेलु लिगको खेलमा लेगानेसमाथि २–१ को जित हासिल गरेको थियो । घरेलु लिगको खेलमा कमजोर मानिएको लेगानेसलाई हराउन पनि अन्तिम समयसम्म संघर्ष गर्नुपर्दा समर्थकहरूले टिम र खास गरी प्रशिक्षक इनरिकेलाई गिज्याएका थिए ।

‘सबै खेलाडी पूर्ण रूपमा प्रशिक्षकको साथमा छन्,’ इनरिकेको विषयमा पिकेले भने, ‘समर्थक रंगशालासम्म आउँदा हामी साथ र समर्थनको अपेक्षा गर्छांै । कहिलेकाहीं राम्रो नतिजा आउँछ, कहिले आउँदैन । फुटबल भनेकै यस्तै हो । तर हामीले गौरवमय तेहोरो उपाधि जित्दा टिमको नेतृत्व गर्ने प्रशिक्षक यिनै हुन् भन्ने कसैले बिर्सनु हुँदैन ।’

इनरिकेले बार्सिलोनाको नेतृत्व सम्हालेको पहिलो सिजन २०१५ मा टोलीले च्याम्पियन्स लिग, स्पेनिस ला लिगा र कोपा डेल रेको उपाधि जितेको थियो । जारी सिजनमा सोचेजस्तो नतिजा ल्याउन असफल भइरहेको टोली कपको फाइनल पुगेको छ । टोलीले फाइनलमा आल्भेससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यसै गरी लेगानेसमाथिको जितपछि बार्सिलोना ला लिगामा शीर्ष स्थानको रियाल मड्रिडसँग दूरी १ अंकले घटाउन सफल भएको छ । रियालले दुई खेल कम खेलेको छ । इनरिकेको टोलीले च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगका लागि मार्च ८ मा पिएसजीलाई घरेलु क्याम्प नोउमा निम्त्याउनुअघि स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको भ्रमण गर्नुपर्नेछ ।

अल्भासको आरोप

यसैबीच ब्राजिली राइट ब्याक ड्यानी अल्भासले बार्सिलोनाका निर्देशकहरूमा खेलाडीसँग व्यवहार गर्ने ढंंग नभएको आरोप लगाएका छन् । बार्सिलोनामा रहँदाको पछिल्लो समय आफूमाथि भएको व्यवहारका आधारमा उनले यस्तो महसुस गरेको बताएका छन् ।

बार्सिलोनाका पूर्वस्टार अल्भास आठ वर्ष क्याटलान क्लबमा बिताएपछि सिजनको सुरुआतमा स्वतन्त्र सरुवा प्रणालीमार्फत इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्ससँग आबद्ध भएका थिए ।

‘आजकाल बार्सिलोना चलाउनेहरूलाई खेलाडीसँग कसरी व्यवहार गर्ने भन्ने थाहा छैन । हरेक खेलाडीले क्लबबाट महŒव पाउन खोज्छ । म पनि खोज्छु । क्लबले महŒव दिएन भने छोड्ने हो । स्वतन्त्र सरुवा प्रणालीमा बार्सिलोना छोड्नु भनेको उनीहरूलाई ठूलो झापड हो । मेरो पछिल्ला तीन सिजनमा उनीहरूले सधैँ अल्भासले छोड्दै छ मात्र भने, तर कहिल्यै निर्देशकहरूले मसँग कुनै कुरा गरेनन्,’ अल्भासले सोमबार स्पेनिस दैनिक एबिसीसँग भने, ‘उनीहरू अत्यन्तै झूटा र कृतघ्न छन् । उनीहरूले मलाई कहिल्यै सम्मान गरेनन् । फिफाको सरुवा प्रतिबन्धपछि मात्र उनीहरूले मलाई सम्झौता नवीकरणको प्रस्ताव राखे । त्यसपछि मैले पनि आफ्नो बाटो रोजें । म यहाँ युभेन्ट्समा खुसी छु ।’

प्रकाशित: ११ फाल्गुन २०७३ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App