५ वैशाख २०८१ बुधबार
खेल

वाल्कटको सयौं गोल

लन्डन(एएफपी)– थियो वाल्कटले आर्सनलका लागि व्यक्तिगत गोलसंख्या १ सय पु¥याएको दिन सोमबार उनको क्लब लिगविहीन टोली सटन युनाइटेडमाथि जित हासिल गर्दै एफए कपको क्वार्टरफाइनल पुगेको छ।

श्रेणीविहीन टोली सटन युनाइटेडले जारी सिजनको एफए कपमा गरेको बहादुरीपूर्ण यात्रा आर्सनलले पाँचौं चरणमा २–० को नतिजाका साथ समाप्त पारेको छ । घरेलु मैदानमा हुने क्वार्टरफाइनलमा आर्सेन वेंगरको टोलीले श्रेणीविहीन अर्को टोली लिंकन सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

गत साता च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगको खेलमा बायर्न म्युनिखसँग ५–१ को लज्जाजनक नतिजामा निराश भएको आर्सनलले विजयी लय समाउँदा सोमबार लुकास पेरेज र इङल्यान्डका फरवार्ड वाल्कटले गोल गरे । पेरेजले २६औं मिनेटमा खोलेको खातामा वाल्कटले ५५औं मिनेटमा गोल थपेका थिए।

विजयी लय समाए पनि आर्सनलले इङ्लिस फुटबल पिरामिडमा आफूभन्दा १ सय ५ स्थान तलको टोलीविरुद्ध धेरै गोल गर्न भने सकेन । राष्ट्रिय लिगअन्तर्गत पाँचौं डिभिजनको १७औं स्थानमा रहेको सटनले पराजयका बावजुद युरोपेली फुटबलकै सदाबहार महारथीविरुद्ध जुझारु प्रदर्शन गरेको थियो।

‘हामीले आफ्नो काम पूरा ग¥यौं,’ आर्सनलका प्रशिक्षक वेंगरले भने, ‘तलको टोली भए पनि यो खेल सोचेजस्तो सजिलो थिएन । मैदानमा हामीले गरेका हरेक गल्तीमा उनीहरूले भरपूर फाइदा उठाए। त्यसका लागि उनीहरूलाई सम्मान गर्नुपर्छ । उनीहरूले साँच्चै राम्रो फुटबल खेले । आजको खेलबाट उनीहरूले यहाँसम्म आइपुग्न हकदार भएको प्रमाणित गरे।’

दक्षिणी लन्डनको टोली सटन १९८९ मा कोभेन्ट्री सिटीमाथि पाएको लोकप्रिय जितलाई यसपालि पनि निरन्तरता दिन चाहन्थ्यो । सटनसँग पराजित हुँदा कोभेन्ट्री सिटीले एफए कप जितेको १९ महिना मात्र भएको थियो । सोमबार २८ वर्षअघिको स्मरणलाई दोहोर्‍याउन नसके पनि पहिलो पटक पाँचौं चरण पुगेको सटनको प्रदर्शनमा निराश हुनुपर्ने कुनै ठाउँ थिएन ।

५ हजार दर्शक क्षमता भएको सटनको गान्डर ग्रिन लेन मैदानमा टोलीको पहेंलो जर्सी र टोपी लगाएर उपस्थित दर्शकले पूरा समय टोलीको साथ दिइरहे । जसबाट उत्साहित सटनले बेला बखत आर्सनललाई अप्ठेरोमा पार्ने प्रयास पनि ग¥यो । दोस्रो हाफमा घरेलु समर्थकले एउटा गोलमा रमाउने मौका पनि पाउनै लागेका थिए । तर आर्सनलबाटै करियर सुरु गरेका रोरी डिकनले २५ यार्डबाट प्रहार गरेको बल पोस्टमा लागेर फर्कंदा गान्डर ग्रिन लेन मैदान स्तब्ध भयो ।

‘आर्सनलविरुद्ध मेरो टिमले खेलेको हेर्नु एउटा ठूलो सपना थियो । म आज अत्यन्तै गौरवान्वित छु,’ सटनका प्रशिक्षक पाउल डसवेलले भने, ‘हाम्रा लागि यो कपको फाइनल थियो । मेरा खेलाडीले बहादुरीपूर्ण प्रदर्शनबाट इतिहासमा नाम लेखाएका छन् । पाँचौं चरणसम्मको यात्रा हाम्रा लागि अविस्मरणीय रहनेछ।’

लगातारको कमजोर प्रदर्शनका कारण वेंगरले भविष्यबारेको प्रश्न अझै झेलिरहनुपर्नेछ, तर कम्तीमा कीर्तिमानी सातौं पटक एफए कप जित्ने उनको सपना भने सटनमाथिको जितले कायम रहेको छ।

बायर्नसँग लज्जाजनक हार भोगेको टिममा वेंगरले सोमबार सात परिवर्तन गरेका थिए। बायर्नसँग खेलेको टोलीका गोलकिपर डेविड ओस्पिना, स्कोड्रान मुस्ताफी, ग्रानिट जाका र एलेक्स इवोबीले मात्र सोमबार निरन्तरता पाए।

मार्च १० र १३ मा हुने क्वार्टरफाइनलमा आर्सनलले लिंकनसँग खेल्दा टोटेनह्यामले मिलवालसँग प्रतिस्पर्धा गर्नेछ भने मिडिल्सब्रोले हडर्सफिल्ड वा म्यानचेस्टर सिटीसँग खेल्नेछ । यसै गरी चेल्सी र म्यानचेस्टर युनाइटेडबीच अर्को क्वार्टरफाइनलमा भेट हुनेछ।

प्रकाशित: ११ फाल्गुन २०७३ ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App