६ वैशाख २०८१ बिहीबार
राजनीति

मोर्चाको आन्दोलन निर्वाचन सुरक्षा चुनौती

काठमाडौं– सरकारले स्थानीय तहको निर्वाचनको विरोधमा रहेका शक्तिको आन्दोलनको स्वरूप प्रमुख निर्वाचन सुरक्षा चुनौती मान्दै सोहीअनुसार योजनाको तयारी थालेको छ।

गृह मन्त्रालयमा तीनै सुरक्षा निकायका प्रमुख सम्मिलित बिहान र बेलुका बसेको बैठकमा निर्वाचन विरोधमा रहेको मधेसी मोर्चाले गर्ने आन्दोलनको स्वरूप र त्यसको प्रभावको विश्लेषणसहित निर्वाचन सुरक्षा योजना बनाउने विषयमा छलफल भएको हो । निर्वाचनको सुरक्षामा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको माओवादी र आपराधिक समूहका क्रियाकलापलाई समेत बैठकले सुरक्षा चुनौतीका रूपमा छलफल गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले बताए।

‘निर्वाचन सुरक्षाका विषयमा प्रारम्भिक छलफल सुरु भएको हो, सबैले आफ्नै तरिकाले योजना र कार्य गर्दै आएका थिए, आज समष्टिगत रूपमा छलफल भएको हो,’ ती आधिकारीले नागरिकसँग भने । गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखबीच छलफल भएको हो।

स्थानीय निर्वाचनको चर्चा चलेसँगै तीनै सुरक्षा निकायले सुरक्षा रणनीतिका लागि आवश्यक सूचना संकलन कार्य गरिरहेका छन् ।

प्रहरी प्रधान कार्यालयले पाँचै क्षेत्रमा रहेका क्षेत्रीय प्रहरी कार्यालयलाई पछिल्लो संविधानसभा निर्वाचन सुरक्षा योजना यथाशीघ्र उपलब्ध गराउन परिपत्र गरेको छ । संविधानसभाको दोस्रो निर्वाचनको सुरक्षा योजनालाई आधार बनाएर केन्द्रीकृत सुरक्षा योजनामा प्रहरी जुटेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार सरकारले मिति घोषणाको तयारी गरेसँगै प्रहरीले देशभर रहेका एकाइको अवस्था, आवश्यक बन्दोबस्ती र सुरक्षा सामग्रीको लगत र सवारीसाधान तथा उपकरणको अवस्थाका विषयमा समेत तथ्यांक संकलन गरिरहेको छ ।

‘पछिल्लो निर्वाचनलाई आधार बनाएर केन्द्रले योजना बनाउने तयारी थालेको हो । मतदान केन्द्र र मिति आउनुअघि हाम्रो अवस्थाका विषयमा तथ्यांक संकलनका लागि परिपत्र भएको हो,’ प्रहरी प्रधान कार्यालयका एक नायब महानिरीक्षकले भने । उनका अनुसार सरकारले एक महिना अवधि राखेर मिति घोषणा गरेसम्म प्रहरी निर्वाचन सुरक्षाका लागि तयारी अवस्थामा रहनेछ।

जर्नेल बैठक सम्पन्न

नेपाली सेनाले सेना दिवसको सन्दर्भमा आयोजना गर्ने पृतनापति समन्वयात्मक बैठक मंगलबार सम्पन्न भएको छ । सेनाले यस वर्ष दोस्रोपटक आयोजना गरेको बैठक राष्ट्रिय सुरक्षा र सेनाको आन्तरिक समीक्षामा केन्द्रित थियो।

सेनाका पाँचै क्षत्र र उपत्यकाकाका पृतनापतिसहित जंगीअड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरूको सम्मिलित उक्त बैठकमा सबैले आफ्नो क्षेत्रका विषयमा जानकारी गराएका थिए।

बैठकमा प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पेसागत दक्षता अभिवृद्धि गर्न तालिम तथा बन्दोबस्तीमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन दिएको जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

सरकारले विषम परिस्थितिमा निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट जंगीअड्डामा दोहो¥याएर आयोजना गरिएको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

प्रकाशित: ११ फाल्गुन २०७३ ०१:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App