८ वैशाख २०८१ शनिबार
समाज

तेल चोर्ने चालकलाई ‘उन्मुक्ति’ दिन दबाब

काठमाडौं-पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब सात सय चालक ट्यांकर मालिक भएका छन्। तिनै चाकलले तेल चुहावट रोक्न नेपाल आयल निगमले संशोधन गरेको ‘पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, २०७३’ प्रति असहमति जनाएका छन्।

ट्यांकर चालकले घुमाउरो पाराले तेल चोरे पनि कारबाही हुनुहुँदैन भन्ने माग अघि सारेका हुन् । शुक्रबार ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए फागुन १५ देखि  ढुवानी रोक्ने धम्की दिएका छन् । ट्यांकर चालकले अव्यावहारिक माघ तेस्र्याएर निगमलाई घुँडा टेकाउने दाउमा छन् । शुक्रबार ढुवानी नहुँदा उपत्यकाका उपभोक्ताले तेलका लागि लाम बस्नुपरेको छ ।

संशोधित विनियमावलीमा पेट्रोलियम पदार्थको परिमाणमा  ट्यांकरले लोड भएको भन्दा परिमाणको ०.२५ प्रतिशतभन्दा बढी फरक भए प्रचलित खुद्रा मूल्यको दुई गुणा मूल्य ढुवानीकर्ताबाट असुल गरी चालकलाई ढुवानी कार्यमा बन्देज लगाउन सकिने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन गर्न नदिने उनीहरूको योजना छ ।

पेट्रोलियम पदार्थ चुहावट नियन्त्रण गर्न निगमले कडाइ गरेपछि ट्यांकर चालकले तेल चोरे पनि कारबाही गर्न हुँदैन भन्ने माग अघि सारेको आयल निगमका एक अधिकारीले बताए । ‘चालकले बीच बाटोमा तेल बिक्री गरेर कमाउँदै आएका छन्,’ ती अधिकारीले भने, ‘चोरी नियन्त्रण गर्न निगमले गरेको विनियमावली संशोधनप्रति असहमति जनाउनु भनेको सधैं तेल चोर्न पाउँ भन्ने नै  हो ।’

निगमले अहिले ल्याएको विनियमावलीमा एक लिटर तेल कम भए दुई  लिटरको मूल्य तिर्नुपर्छ भन्ने व्यवस्था छ । भारतको नाकाबन्दीका बेला पेट्रोलियम पदार्थ बीच बाटोबाटै कालोबजारीमा बिक्री भएपछि आगामी दिनमा यस्तो समस्या आए कारबाही गर्न निगमले यस्तो व्यवस्था गरेको हो । भारत र नेपालमा पेट्रोलियम पदार्थको मूल्य धेरै अन्तर छ । अहिले भारतमा भन्दा नेपालमा डिजेल प्रतिलिटर २४ रुपैयाँ ३३ पैसा र पेट्रोल १७ रुपैयाँ ७४ पैसा सस्तो छ । १२ हजार लिटरमा २ सय लिटर मात्र बेच्यो भने पनि नेपालको मूल्य कटाएर करिब ४८ सय रुपैयाँ एक ट्रिपमै कमाउन सकिन्छ । चालकले सर्ट चुवावट भएको भन्दै परेको मूल्य तिरेर उन्मुक्ति पाउँछ ।

तापक्रमका कारण कम भएमा पनि दोब्बर तिर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । चालकले तापक्रम ट्यांकरको तल्लो भागमा मापन गर्नुपर्ने माघ अघि सारेका छन् । निगमले बीच या उपल्लो भागबाट मापन गर्नुपर्ने प्रस्तावमा मानेका छैनन् । ‘चालकले तल्लो भागमा पानी छ्यापेर चिसो बनाउने गरेका छन्,’ एक पेट्रोलियम व्यवसायीले भने, ‘चालकले फाइदा लिनका लागि निगमको जायज अडानलाई अटेर गरिरहेका छन् ।’

न्यूनतम तलब कार्यान्वयन हुनुपर्ने माग संशोधन गर्ने सहमति भएको जानकारी पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले दिए । सरकारले तोकेको तलब ९ हजार २ सय रुपैयाँ दिन तयार रहेको अर्यालले बताए । ‘चालकका जायज मागप्रति हाम्रो पनि समर्थन छ,’ उनले भने, ‘यो आन्दोलन व्यवसायीको नभएर चालकको हो ।’

टाठाबाठा चालक बीच बाटोमै तेल चोरी गरेर मालिक भएका छन् । हेटौंडाका एक चालक अहिले टयांकर चलाएरै दुई गाडीका मालिक भएका छन् । उनी उदाहरण मात्रै हुन् । यसरी चालकले मासिक न्यूनतम ५०÷६० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म कमाउने गरेका छन् । अधिकांश ट्यांकर चालकलाई तलब नदिई राख्ने गरेको पम्प सञ्चालक बताउँछन् । ‘केही चालकले तेल चोरेरै तलबबापतको रकम उठाउने गरेका छन्,’ एक पम्प सञ्चालकले भने, ‘धेरै चालक यसैगरी मालिक बने ।’ चालक ट्यांकर मालिक बनेपछि निगमले ट्रान्सपोर्टर हुनका लागि पाँच टयांकर हुनुपर्ने प्रावधान राखेको छ । तर उनीहरूले एक ट्यांकर सञ्चालक पनि ट्रान्सपोर्टर हुनुपर्ने माग राखेका छन् । अहिले करिब १५ सय ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएका छन् ।

चालकका माग सहमति नजिक पुगे पनि पेट्रोलियम पदार्थ कम भए दुई गुणा बराबरको क्षतिपूर्ती तिर्नुपर्नेलगायतका माग सम्बोधन गर्न नसक्ने निगमले जनाएको छ ।  विनियमावली निगमले संशोधन गर्न नसक्ने भएकाले सञ्चालक समितिमा पठाउने निगम वितरण विभाग प्रमुख सीताराम पोख्रेलले बताए। ‘विनियमावली आयल निगमले संशोधन गर्न सक्दैन,’ उनले भने, ‘चालकका मागलाई सञ्चालक समितिमा पठाउँछौं ।’

संशोधित विनियमावलीमा ढुवानीकर्ताले पेट्रोलियम पदार्थ गुणस्तर नियन्त्रण विनियम–२०६४, विक्रेता विमियमावली–२०६५ मा भएका प्रावधान तथा निगमलको प्रचलित नियम पूर्ण रुपमा पालना गर्नुपर्ने, निगमले निर्धारण गरेको भाडामा पेट्रोलियम पदार्थ ढुवानी गर्नुपर्ने व्यवस्था छ ।  निगमले दिएका आदेश, निर्देशन पालना नगरेमा ढुवानीकर्ताबाट हटाउन सक्नेसम्मको अधिकार विनियमावलीमा राखिएको छ ।

पेट्रोल पम्पमा लाम

ट्यांकर चालकको आन्दोलनबाट राजधानीमा देखिएको पेट्रोल अभाब अझै सहज हुन सकेको छैन । शुक्रबार र शनिबार तेल ढुवानी नभएपछि बजारमा देखिएको अभाब मंगलबार पनि कायमै छ । निगमले मागको दोब्बर बढी पेट्रोल पठाए पनि राजधानीका अधिकांश पम्पमा मंगलबार पनि लामो लाम थियो । ललितपुरको साझा पम्पमा एक घन्टा लाइन बसेर स्कुटीमा पेट्रोल भरेको थापाथली इन्जिनियरिङ क्याम्पसकी विद्यार्थी सुरती क्षेत्रीले बताइन् । ‘तेल भर्नका लागि कलेजको पढाइ छाडेर आएकी हँु,’ उनले भनिन्, ‘कहिलेसम्म यस्तो समस्या झेल्नुपर्ने हो ।’ निगमले नियमित मागको दोब्बर पेट्रोल पठाएको बताए पनि बजारमा अभाव कायमै छ । दैनिक करिब साढे सात लाख लिटर पेट्रोल उपत्यकामा दिइरहेको निगमका वितरण विभाग प्रमुख पोख्रेलले बताए । ‘सामान्य अवस्थामा करिब चार लाख लिटर पेट्रोल खपत हुन्छ,’ उनले भने, ‘दोब्बर दिँदा पनि अझै पम्पमा लाम हुँदा आश्चर्यमा परेका छौं ।’ इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पर्याप्त तेल आइरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको निगमले जनाएको छ। ‘पर्याप्त तेल आइरहेकाले चाहेजति दिन तयार छौं,’ उनले भने, ‘एक/दुई दिनमा सहज हुन्छ।’

प्रकाशित: ११ फाल्गुन २०७३ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App